Comments Add Comment

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाको निलम्बन फुकुवा

५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकूवा गरेको छ ।

सामाजिक सञ्जालमा एन्फा र यसका पदाधिकारीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै एन्फाले गत जेठमा थापालाई साधारणसभासम्म निलम्बन गरेको थियो ।

एन्फाको साधारण सभा माघ ६ गते हुँदैछ र त्यसको एक दिनअघि सोमबार बसेको एन्फाको १२ औं कार्यसमिति बैठकले थापाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

बैठकले कोषाध्यक्ष रवीन्द्र जोशीले आर्थिक वर्ष २०७७/७८ को लागि पेश गरेको ८५ करोड ६६ लाख ४२ हजार ४२० रुपैयाँको बजेट साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै खोटाङ, मनाङ र नवलपारसी पूर्वलाई एन्फाको सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी प्रदेश फुटबल संघ तदर्थ समिति गठन समबन्धमा कर्णाली प्रदेशका प्रमोद हमाल, गण्डकी प्रदेशका लोकेन्द्र गुरुङ र लुम्बिनी प्रदेशका भुपेन्द्र थापाको अध्यक्षतामा गठन भएको तीन प्रदेशको समितिलाई मान्यता दिने निर्णय समेत गरेको छ ।

प्रदेश संघ तदर्थ समितिहरुले विधान अनुरुप ६ महिनाभित्र साधारण सभा र निर्वाचन गरिसक्नुपर्ने प्रावधान भएता पनि कोभिड महामारीका कारण साधारण सभा र निर्वाचन गर्न असम्भव भएकाले आगामी ९ महिनासम्म तदर्थ समितिहरुको म्याद थप्ने निर्णय गरेको छ ।

यस्तै जुम्लाका  भरत बुढथापा र दोलखाका बाबुकाजी बस्नेतलाई सहायक महासचिवमा नियुक्त गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले प्रस्तुत गरेका खेलाडीहरुको आचार संहिता पनि  एन्फा बैठकले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment