
७ माघ, काठमाडौं । हिमाली जिल्ला र काठमाडौं उपत्यका बाहिरका निकुन्ज तथा संरक्षित क्षेत्रभित्र खुल्ने होटेलले तोकिएको मापदण्ड पुरा गरेमा अब कम कोठा भएपनि पाँचतारे स्तरमा वर्गिकरण हुन सक्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक तारेदेखि पाँचतारे डिलक्स सम्मका होटेलको मापदण्ड परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाका अनुसार होटेल, रिर्सोट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेक फाष्टहरुको वर्गीकरण र मापदण्डमा हेरफेर गर्दै यस्तो मापदण्ड ल्याइएको हो । यो मापदण्ड नयाँ बन्ने होटेलको हकमा लागू हुनेछ । साविकमा स्तर लिइसकेकाको हकमा भने साविककै स्तर निरन्तर हुने मन्त्रालयले जनाएको छ ।
नयाँ मापदण्ड अनुसार काठमाडौं उपत्यकाबाहिर संरक्षित क्षेत्र, राष्ट्रिय निकाुन्ज, वन्यजन्तु आरक्ष र हिमाली जिल्लामा तारे होटेल खोल्ने हो भने साविकमा ‘उपत्यका बाहिरका लागि निर्धारण भएको मापदण्ड’को आधा मात्र कोठा भए पुग्ने भएको छ ।
अर्थात् अब यी क्षेत्रमा होटेल खोल्दा ७ कोठा मात्र भएपनि अन्य मापदण्ड पुरा गरेको होटेलले तारे मान्यता पाउनेछ । अहिले उपत्यका बाहिर एक तारे स्तरको होटेल हुन कम्तिमा १५ कोठा हुनुपर्छ ।
नयाँ मापदण्ड अनुसार ७ कोठा मात्र भएपनि हिमाली जिल्ला र संरक्षित क्षेत्रमा खुलेको भए अब एक तारे मान्यता प्राप्त हुनेछ । दुई तारेका लागि १५, तीन तारेका लागि २२, चार तारे मान्यता पाउन ३०, पाँचतारे मान्यता पाउन ४० र पाँचतारे डिलक्स होटेलका लागि ५० कोठा भएमा पुग्ने गरी मापदण्डमा परिमार्जन भएको छ ।
व्यवसायीले भौगोलिक रुपमा कठीन स्थानमा थोरै कोठाका होटेल खुल्दा सरकारी मापदण्ड अनुसार स्तर नपाउँदा समस्या परेको बताउँदै आएका थिए । यसलाई सम्बोधन गर्दै मापदण्ड परिमार्जन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोठा संख्या कम भएपनि पाहुनाको सेवा सुविधाका लागि तोकिएका अन्य मापदण्ड भने अनिवार्य पालना गरिएको हुनुपर्छ । होटेलको मापदण्डमा पाहुनाले होटेलमा प्रवेश गरेदेखि चेकआउट नगरेसम्मका सबै प्रक्रिया, होटेलको भौतिक संरचनाका हरेक सुक्ष्म विषय समेटिएका छन् ।
अब यस्तो हुने भयो तारे होटेलको न्यूनतम कोठासम्बन्धी मापदण्ड
होटेल स्तर | काठमाडौं उपत्यका भित्र | उपत्यका बाहिर | हिमाली जिल्ला र संरक्षित क्षेत्र |
एक तारे | २० | १५ | ७ |
दुई तारे | ४० | ३० | १५ |
तीन तारे | ६० | ४५ | २२ |
चार तारे | ८० | ६० | ३० |
पाँचतारे | १०० | ८० | ४० |
पाँचतारे डिलक्स | १५० | १०० | ५० |
चार तारेमाथि हलाल फुड अनिवार्य
नयाँ मापदण्ड अनुसार अब चार तारेभन्दा माथिको होटेलहरुमा हलाल फुडको व्यवस्था हुनुपर्ने भएको छ । चार तारे र सो भन्दा माथिको होटेलमा रहने रेष्टुरेन्टको मेनुमा ‘वि सर्भ हलाल फुड अन डिमाण्ड’ लेखेको हुनुपर्छ ।
सोअनुसार पाहुनाले अनुरोधमा गरेमा होटेलले हलाल फुड उपलब्ध गराउनु पर्ने प्रावधान यसमा समेटिएको छ । अहिले सिमित होटेलले मात्र यस्तो सुविधा दिने गरेका थिए । सरकारले अन्य होटेलमा समेत यो अनिवार्य गरेको छ ।
रैथाने खाना कम्प्लिमेन्ट्रि दिनुपर्ने
होटेलमा नेपाली मेनु गत वर्षकै मापदण्डले अनिवार्य गरेको हो । अर्थात् होटेलहरुमा पाहुनाले रैथाने नेपाली खाना माग गरेमा अनिवार्य उपलब्ध गराउनु पर्छ । यस मापदण्डमा थप गर्दै सरकारले भनेको छ, अब ‘चार तारे वा सोभन्दा माथिल्लो स्तरको होटेलको हकमा दिउासोको र बेलुकाको खानासागै कुनै एक रैथाने परिकार कम्प्लिमेन्ट्रि उपलब्ध गराउनु पर्नेछ ।’
यसले नेपाली खाना चखाउन र यसको विश्वव्यापी प्रवर्द्धनमा सहयोग पुग्नेछ । त्यसो त नेपाली रैथाने खाना प्रवर्द्धनमा होटेल व्यवसायीले नै पहल लिएका छन् । गत वर्ष होटेल संघ नेपाल (हान)कै सक्रियतामा सरकारले मापदण्डमा रैथाने खाना अनिवार्य गरेको हो । यसबाहेक मापदण्डका अन्य प्रावधान भने यथावत नै रहेका छन् ।
प्रतिक्रिया 4