Comments Add Comment

महिला राष्ट्रिय लिगमा पुलिसको पहिलो जित

९ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० ले पराजित गरेको हो ।

यसअघि उद्घाटन खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । उता पहिलो खेल खेलेको चौदण्डीले भने हारबाट लिग सुरु गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसका लागि रेखा पौडेल र सृजना खड्काले २-२ गोल गरे भने अमृता जैसी र निर्मला बिकले समान एक गोल गरे ।

रेखाले २८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै ४१औं मिनेटमा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् । सृजनाले ४५औं मिनेटमा पुलिसको लागि तेस्रो गोल गरिन् । निर्मला बिकले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पुलिसलाई ४-० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा पनि पुलिसले दुई गोल थप्यो । ८९औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् । यस्तै इन्जुरी टाइममा सृजनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस ६-० ले विजयी भएको हो ।

जितपछि पुलिसका प्रशिक्षक सन्जिव जोशीले टिमको प्रयास र संयोजन राम्रो भएको बताए । ‘खेल जित्नु सधैँ राम्रो हुन्छ । हामीले हाम्रो नयाँ वैकल्पिक खेलाडीलाई राम्रोसँग प्रयोग गर्‍यौँ र उनीहरुले राम्रो खेले ।’ जोशीले भने ।

उता चौदण्डीगढीका प्रशिक्षक दिपक थापाले हारका बावजुत पनि सकरात्मक रहेको बताए । ‘हाम्रो टिममा अनुभवको कमी रह्यो । हामी जस्तो बाहिरको टिमले पनि राष्ट्रिय लिग खेलिरहेका छौँ । त्यसमा हामी खुशी छौँ । आशा छ मेरो टिमले आगामी खेलमा राम्रो गर्नेछ ।’ थापाले भने ।

जितपछि पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एक खेलबाट ३ अंकसहित एपीएफ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment