Comments Add Comment

‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’

ओलीजीले मेरा विरुद्ध बोले, त्यो अदालतको अवहेलना हो : भण्डारी

११ माघ, काठमाडौं । गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि खनिए ।

९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् । राजा महेन्द्रले गरेको प्रधानन्यायाधीश बन्ने प्रस्तावलाई समेत अस्वीकार गरेका भण्डारीलाई न्याय क्षेत्रमा सबैले सम्मान गर्छन् । २८ बैशाख १९८४ मा रौतहटमा जन्मिएका उनी हरेक दिन बिहान पाँच बजेर उठेर न्यायिक काममा जुट्छन् ।

नेपाल बार काउन्सिलको लाइसेन्स नम्बर ८ यिनै वरिष्ठ अधिवक्ताका नाममा छ । ३० बैशाख २०१४ मा अधिवक्ताको लाइसेन्स प्राप्त गरेका उनी न्याय र निष्ठाका पर्याय मानिन्छन् ।

तिनै भण्डारीलाई ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।

वरिष्ठ अधिवक्ताहरू, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षलगायतले ओलीले भण्डारीका विषयमा बोलेको कुरामा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक र न्यायालयप्रति अगाध आस्था भएको बताउने प्रधानमन्त्रीको टिप्पणीबारे जेष्ठ वकिल भण्डारीको चाहिँ प्रतिक्रया के होला ? यही प्रश्नकोे सेरोफेरोमा रहेर वरिष्ठ अधिवक्ता भण्डारीसँग अनलाइनखबरले गरेको संक्षिप्त अन्तर्वार्ता :

प्रधानमन्त्री ओलीले शुक्रबार बबरमहलस्थित बैङ्क्वेटमा आयोजित कार्यक्रममा यहाँलाई नै लक्षित गरेर ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भनेका छन् । सर्वोच्च अदालतमा तमासै देखाउन जानुभएको हो त ?

(हाँस्दै) अरु पेशामा जतिसुकै बुद्धि भए पनि विद्धान भनिँदैन । वकिल विद्वान कहलाउँछन् । वकिलहरू बुद्धिहीन भए पनि कानून र पद्दतिअनुसार विद्वान कहलाउँछन् । वकिलको विरुद्ध बोल्नुभयो भने अवहेलनाको मुद्दा लाग्छ ।

गणेशराज शर्माजीलाई एकचोटि जिल्ला न्यायाधीशले गाली गरे । हामीले अवहेलनाको मुद्दा चलायौं । सर्वोच्च अदालतले ‘वकिल पनि अदालतकै अंग हो’ भन्ने फैसला गर्‍यो । मुद्दा सिर्जना पनि वकिलले नै गर्ने हो । वकिललाई गाली गर्न, होच्याउन पाइँदैन भन्ने आदेश भयो ।

ओलीजीले मेरो विरुद्ध बोले, त्यो अदालतको अवहेलना हो । मेरो अवहेलना होइन । उनले वकिललाई होच्याएर अदालतको हेलना यसअघि पनि गरेका थिए ।

प्रधानमन्त्रीले त यहाँलाई अरु कसैले लिएर गएको पनि भनेका छन् नि ? सर्वोच्चमा तपाईलाई अरुले लिएर गएको हो ?

म सबैभन्दा जेठो अधिवक्ता हुँ । त्यहाँ बहस गर्न जानु मेरो कर्तव्य हो । मलाई कसैले लिएर गएको होइन ।

यसै सन्दर्भमा एउटा कुरा भन्न चाहन्छु । न्याय क्षेत्रमा न्यायाधीश वा वकिललाई सबैभन्दा जेठो छ भने छुट्टै किसिमको सम्मान हुन्छ । यस्तो चलन संसारभरि छ । जस्तो– भारतमा जेठो न्यायाधीश वा वकिलको खुट्टा ढोक्छन् । बेलायतमा सबैभन्दा पहिला जेठो न्यायाधीश वा वकिलसँग हात मिलाउँछन् ।

ओलीजीले मेरो विरुद्ध बोले, त्यो अदालतको अवहेलना हो । मेरो अवहेलना होइन । उनले वकिललाई होच्याएर अदालतको हेलना यसअघि पनि गरेका थिए । चोरेको सामान चोरलाई नै जिम्मा दिने हो भने ऊ जीन्दगीभर चोर हुन्छ । त्यसकारण ओलीको गाली म फिर्ता लिन्नँ । मैले फिर्ता नलिएपछि जीन्दगीभरि उनीसँगै रहन्छ ।

म नेपालको जेठो वकिल हुँ । मलाई होच्याउनु भनेको अदालतलाई होच्याउनु हो । सिंगो न्याय क्षेत्रलाई अपमानित गर्नु हो । म वकिल हुँ भन्ने कुरा एकछिनलाई बिर्सनुस् । आम नागरिकका रुपमा पनि त म ज्येष्ठ नागरिक हुँ नि । ज्येष्ठ नागरिकलाई सम्मान त गरेन गरेन, यसरी गाली गर्ने ?

यो सन्दर्भमा प्रधानमन्त्री ओलीलाई के भन्न चाहनुहुन्छ ?

महात्मा गान्धीले के भन्नुभएको छ भने तिमीलाई कसैले गाली गर्‍यो भने सुन्दै नसुन्नु, जसको गाली हो, उसैलाई फिर्ता गर्नु । कसैले तपाईँको सामान चोर्‍यो रे । त्यो सामान फिर्ता लिनुभयो भने चोरले प्रायश्चित गर्ने अवसर पाउँछ । चोरेको सामान चोरलाई नै जिम्मा दिने हो भने ऊ जीन्दगीभर चोर हुन्छ । त्यसकारण ओलीको गाली म फिर्ता लिन्नँ । मैले फिर्ता नलिएपछि जीन्दगीभरि उनीसँगै रहन्छ ।

त्यसोभए प्रधानमन्त्रीलाई जवाफ दिनुहुन्न ?

किन दिने ? मलाई गरेको गाली सम्हालेर राख्ने जिम्मेवारीमात्रै दिन्छु ।

यति धेरै वकिलहरू छन् । यहाँ संसद विघटनको विपक्षमा बहस गर्न किन अघि सर्नुभयो ?

तपाईँलाई कसैले पाँच वर्षका लागि नियुक्ति गरेको छ भने पाँच वर्ष पदमा रहनु तपाईँको अधिकार हुन्छ । सांसदहरूलाई त झन जनताले पाँच वर्षका लागि म्यान्डेट नै दिएको हुन्छ । जनताले वारिसका रुपमा पठाएका सांसदहरूलाई पाँच वर्ष काम गर्न दिनै पर्दछ । तिमी को हौ ? मेरो वारिसको अधिकार खोस्ने ?

त्यसकारण म सुरुदेखि नै प्रतिनिधिसभा विघटनविरोधी मान्छे हुँ । अर्को कुरा, अदालतमा मुद्दा परिसकेपछि बहस गर्नु जानु मेरो पेशागत धर्म पनि हो ।

यहाँ संसद विघटनको विपक्षमा बहस गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक भन्ने आधार के छ ?

पहिला–पहिला सार्वभौमसत्ता राजामा निहित हुन्थ्यो । २०४७ सालपछि त्यो सार्वभौमसत्ता नेपाली जनतामा निहित छ । अहिलेको संविधान अनुसार पनि सार्वभौमसत्ता जनतामै छ । त्यो सार्वभौमसत्ता जनताले आफ्नो वारेस (प्रतिनिधि) मार्फत प्रयोग गर्छ । त्यो सार्वभौमसत्ता कसैले पनि खोस्न सक्दैन । जनताको सार्वभौमसत्ता जनतामै रहन्छ, त्यो अरुले खोस्न मिल्दैन ।

प्रधानमन्त्रीले सार्वभौमसत्तासम्पन्न जनताले प्रतिनिधिसभामार्फत दिएको विश्वासको आधारमा काम गर्ने हो । जनताको सेवक भएर काम गर्नुपर्छ । तर, अहिलेका प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छैनन् ।

प्रधानमन्त्रीको कार्यावधि पाँच वर्ष भनिरहेका छन् । उहाँको पाँच वर्ष हुने अनि जनताको प्रतिनिधिसभा बीचैमा विघटन गर्न पाइन्छ ? प्रतिनिधिसभा त मेरो घर हो । तपाईँको घर हो । सम्पूर्ण नेपालीको घर हो । त्यसकारण कुनै पनि हालतमा भंग गर्न पाइँदैन ।

वि.सं. २००८ सालमा पहिलोपटक राजपत्र प्रकाशित भयो । त्यतिबेला नम्बर एकमा शाही घोषणा प्रकाशित गरिन्थ्यो । गणतन्त्रपछि राष्ट्रपतिको घोषणा एक नम्बरमा प्रकाशित हुँदै आएका छन् । तर, ५ पुसमा प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भएको छैन । कुनै पनि ऐन, कानून, सूचना, आदेश आदि प्रकाशित भएको मितिबाटै लागु हुन्छ । अस्ति माघ ९ गते प्रकाशित गरेको छ । त्योभन्दा अगाडि त सबै गैरकानूनी भयो नि त । त्यसकारण राष्ट्रपतिले गरेको घोषणा नै असंवैधानिक छ ।

यहाँले पञ्चायतकालमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ज्यान मुद्दा लड्नुभएको हो ?

मेरो जन्मस्थान रौतहट हो । झापा काण्डपछि मोहनचन्द्र अधिकारी र खड्गप्रसाद ओलीजी भागेर रौतहटमा आउनुभयो । कम्युनिष्ट क्षेत्रमा आएर लुक्नुभयो । हाम्रा कम्युनिष्ट साथीहरूले घरमै लुकाएर राखे । जहाँ–जहाँ लालक्षेत्र थियो, त्यहाँ सरकारले गुप्तचर राखेको थियो ।

त्योबेला रौतहटमा चन्द्रिका खरेल प्रमुख जिल्ला अधिकारी थिए । गुप्तचरहरूले ओलीजी लुकेर बसेको थाहा पाएपछि पक्राउ गरेर लगे । स्थानीय साथीहरूलाई वारेन्ट जारी भयो । उनीहरू सिमरा गएर बसेछन् ।

यो पनि पढ्नुहोस् : आफैंलाई ‘ज्यान मुद्दा’बाट बचाउने कानुनविदमाथि ओलीको दुर्वचन

धनकुटाका न्यायाधीश रिद्धिबहादुर मानन्धरको नेतृत्वमा सरकारले विशेष अदालत गठन गर्‍यो । ती न्यायाधीश मेरा नजिकका मान्छे थिए । वास्तवमा त्यतिबेला पैदल हिँडेर त्यहाँ (धनकुटा) सम्म बहस गर्न नभई न्यायाधीशको ‘एडभान्स्ड फेबर’ लिन गएको थिएँ ।

उनीहरू (केपी र मोहनचन्द्र) लाई ज्यान मार्ने र राजद्रोहको मुद्दा लागेको थियो । खड्गप्रसाद र मोहनचन्द्र दुबैलाई ज्यान मारेको मुद्दामा जन्मकैदको फैसला सुनाइयो । वारेन्ट जारी भएका मेरा मान्छेलगायत बाँकी सबै रिहा भए ।

ओली र अधिकारीको पक्षमा अपील गर्ने प्रयास गरें । दुबैसँग मेरो परिचय थिएन । वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र मोहनचन्द्र अधिकारी बनारसमा सँगसँगै पढेका रहेछन् । गणेशराज शर्मालाई लिएर म भरतमोहन अधिकारीकहाँ पुगें । यो कुरा लिएर भरतमोहन अधिकारी उनीहरूकहाँ पुगेछन् । तर, ओलीजीले बुर्जुवा अदालतमा हामी अपील गर्दैनौं भनेछन् ।

मुख्य अभियुक्तहरूका पक्षमा बहस गरेको हुँ । एक पैसा शुल्क लिएको होइन । म हिँड्दै धनकुटा पुगेर फेवर लिएर आएँ, कुरा यत्ति हो ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment