१२ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समहू बी अन्तर्गत मुलपानी मैदानमा सोमबार भएको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । समूह बी मा ४ खेलबाट पुलिसले ६ अंक जोड्यो । अपराजित बागमती ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । उता प्रदेश २ भने समूहको चार वटै खेल हार्दै बाहिरिएको छ । यस प्रतियोगितामा कुनै पनि खेल नजित्ने प्रदेश २ एक्लो टोली बन्यो ।
मैदान भिजेका कारण ४७ ओभरमा छोट्याइएको खेलमा प्रदेश २ ले पुलिसलाई १७० रनको लक्ष्य दिएको थियो ।
जवाफमा पुलिसले ३८ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
पुलिसका लागि अनिल शाहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । उनले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ४३ रनको योगदान गरे ।
कप्तान मन्जित श्रेष्ठ १२ रनमा अविजित रहे । यस्तै अमित श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान १७ रन बनाए । सुनिल धमला १३ रन बनाएर आउट भए । आरिफ शेखले खाता खोल्न सकेनन् ।
प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले ३-३ विकेट लिए ।
त्यसअघि प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाएका थिए । उनले ८४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै हिमान्शु दत्तले १६, आदि अन्सारीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले ८ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । यस्तै सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए ।
पुलिसले अब समूह ए को विजेतासंग सेमिफाइनलमा खेल्नेछ । समूह ए अन्तर्गत टीयू मैदानमा एपीएफ र आर्मीबीचको खेल भइरहेको छ । यो खेलको विजेता समूह विजेता बन्नेछ ।
प्रतिक्रिया 4