Comments Add Comment

जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ?

किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु पनि प्रतिगामी कदम नै हो । सम्पदाको अतिक्रमण गर्नु पनि प्रतिगमन हो । यसको विरुद्ध निरन्तर बोल्न जरुरी छ ।

ब्यानरमा भनिएजस्तो सोमबारको आन्दोलन यसकारण पनि बृहत थियो कि ७० वर्ष कटेका खगेन्द्र संग्रौलादेखि अभिनेता दयाहाङ राई, डा. गोविन्द केसीदेखि कवि श्रवण मुकारुङ, मानवअधिकार आयोगकी पूर्वप्रवक्ता मोहना अन्सारीदेखि लेखक रघुजी पन्त, रीता साह पनि यसमा सरिक थिए ।

नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेदेखि युग पाठक, संगीत श्रोता, सञ्जीव उप्रेती, जेबी विश्वकर्मासम्मको पंक्ति त्यही लस्करमा थियो । उनीहरुलाई साथ दिने ठूलो युवा पंक्ति थियो ।

नागरिक आन्दोलनको त्यो कालो ब्यानर हात्तीसारतर्फ लम्कियो । र, नागपोखरी, गैरीधारा हुँदै बालुवाटारतर्फ लाग्यो । त्यो एक किलोमिटर लामो मानव लस्करले संसद विघटन र केपी ओलीविरुद्धको आक्रामक नारा लगाएको थियो । नाराकै तालमा नेवारी बाजा घन्किरहेका थिए ।

नागरिक आन्दोलन प्रधानमन्त्री निवासको गेटमा पुगेर चिच्याउन चाहन्थ्यो कि हेर तिम्रो कदमविरुद्धको आवाज सुनाउन तिम्रै दैलोमा आइपुगेका छौँ । अब तिमीले आफूलाई सच्याऊ ।

तर, भाटभटेनीदेखि केही अगाडि बढेपछि ठूलो पंक्तिमा उपस्थित प्रहरीले काँडेतार तेर्स्याए । हतियार र लठ्ठी समाएर प्रहरीले बालुवाटारको प्रधानमन्त्री निवाससम्म पुग्न दिएनन् ।

त्यहाँ एउटा पिपल बोट छ । चौतारीसँगै । युग पाठक त्यही चौतारीमा उभिए र सबैलाई बस्न आग्रह गरे । सबै बसे । तर, उभिए पोलिटिकल लिट्रेसी फर वुमेनका अभियन्ता । उनीहरुको शीरमा कालो कफन थियो र मुखमा कालै मास्क । उनीहरुले निरंकुश होस् तँ फ्ल्यास मब गरे । करिब एक दर्जन युवतीले एकै स्वरमा भन्न थाले :

हेर्नुस् हजुर, पोथी बासेको ।
पटक-पटक झुक्कियौ, अनसनकारीलाई रुवायौ ।
पटक-पटक झुक्यायौ, उखु किसानलाई रुवायौ ।
न्याय मार्न पाइँदैन, झुटा सपना चाहिँदैन ।
यो देशको प्रधानमन्त्री, भन्नुहुन्छ म देशद्रोही ।
यो अहंकारी शासन, हो दमनकारी ।
निरंकुश होस् तँ …

आन्दोलनबीचबाट चर्किएको फ्ल्यास मब सकिनेवित्तिकै अर्को कुनामा शिल्पी थिएटरले संसद विघटनविरुद्धको नाटक मञ्चन सुरु गर्‍यो । जुन नाटक युवराज घिमिरेले लेखेका हुन् र कलाकार पवित्रा खड्काको नेतृत्व । म्युजिकको धुनमा कलाकारहरु सडकमै लय मिलाउन थाले :

करोडौंँको रगत पसिनामा, तिम्रो सत्ताको जग बसेको छ ।
हामीलाई चाहिन्छ विधिको शासन ।
यो सडकको आवाज सुन,
यो सडकको आवाज सुन
सदन, सडकको आवाज सुन…

नाटकको धुन विलीन भएलगत्तै पिपल चौतारीमा मोहना अन्सारी उभिइन् । उनले भनिन्, ‘आज हामी प्रधानमन्त्रीको गेटसम्म पुग्ने भनेका थियौँ । जनताले बनाएको प्रधानमन्त्रीको निवास हेर्न हिँडेका थियौँ । तर, प्रहरी दाजुभाइहरुले रोक्नुभयो । तपाईंहरु हामीलाई सुरक्षा दिन बसेको कि बालुवाटार जोगाउन ?’

भीडबाट परपर तालीको आवाज निस्कियो । अन्सारीले थपिन्, ‘हामी यहाँ केही लिन आएका हैनौँ, संविधानको रक्षा गर्नका लागि आएका हौँ ।’

माइक युग पाठकले समाए र भने, ‘प्रहरीले जति छेके पनि जनताले चाह्यौँ भने जनताको बालुवाटार जनतालाई फिर्ता गर्छौँ ।’ ताली झन् चर्कियो ।

सञ्चालक पाठकले चौतारीमा गोविन्द केसीलाई डाके । पछिल्लो अनसनपछि डा. केसीले पहिलोपटक भाषण दिँदै थिए । ‘नेता, दलाल र माफियाको नजर कमलपोखरीजस्ता सम्पदामा परेको छ,’ डा. केसी बोल्न थाले, ‘अहिले नेताहरु पैसामात्र चिन्छन्, इमान चिन्दैनन् ।’

उनी विस्तारै सरकारको अहिलेको कदमबारे बोल्न थाले । ‘अहिले केपी ओली श्री सात महाराजधिराज हुन् । यसअघिको शासकले सडकको भाषा सुने, तर, ओलीले सुन्दिनँ भनेका छन्’, डा. केसीले स्वर अलि ठूलो पारे, ‘केपी ओली तानाशाह मात्र होइनन्, बेइमान तानाशाह हुन् ।’

उनी फेरि अदालततर्फ फर्किए । ‘संसद पुनर्स्थापना गर्ला भनेर अदालत अहिले जनताको निगरानीमा छ । यदि संविधान बचाउनमा अदालतको भूमिका भएन भने जनता सडकमा आउनेछन् । हामी कसैको पक्षमा छैनौँ, जनताको पक्षमा छौँ ।’

केहीबेर नारा घन्कियो, ‘केपी ओली मुर्दावाद्, निरंकुश शासन चाहिँदैन…’

नारालाई जनवादी गायक प्रदीप देवान देवानको गितारले मत्थर पार्यो । स्ट्याण्डमा माइक अडाएर देवानले गाउन थाले । स्व. गोपालप्रसाद रिमालको गीतमा उपस्थित सबैले स्वर मिलाए :

एक जुगमा एक दिन एकचोटी आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटा, सोझा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको
एक जुगमा एक दिन एकचोटि आउँछ …

त्यसपछि मञ्चमा उभिए खगेन्द्र संग्रौला र ठट्टा गरे, ‘म आज बोल्न आएको होइन, नारायण वाग्लेको भाषण सुन्न आएको । नारायणजीको हातको अभिनय हेर्न आएको हो । धन्यवाद दिन आएको, आन्दोलनलाई ऐक्यवद्धता जनाउन आएको हो ।’

छेउमै भएका नारायण फिस्स हासेँ । माहौल हासोले गुञ्जियो । त्यहीबेला माइकमा खराबी आयो । संग्रौलाले ठट्टा गरे, ‘मेरैबेला किन यस्तो हुन्छ ? यसमा पक्कै बालुवाटारको षड्यन्त्र छ ।’

आन्दोलनकारी झन् ठूलो स्वरमा हाँसे ।

त्यसपछि संग्रौलाले ओलीमाथि कटाक्ष गर्न थाले, ‘खड्गप्रसाद ओलीले अहिलेदेखि आर्यघाटसम्मको कार्यक्रम बनाएको छ । खड्गप्रसाद त्यसै छाड्नेवाला छैनन् । भनेकै छन्, बरु मर्छु, कुर्सी दिन्न भनेका छन् । यिनले कसैलाई सुखले मर्न दिँदैनन् ।’

उनले न्याय र सत्यको आन्दोलन निकै कठिन हुने बताए ।

‘नेपाली जनताले श्री तीन महाराजको दासता अस्वीकार गर्‍यो । श्री पाँच महाराजहरुको दासता अस्वीकार गर्यो’, बृद्ध संग्रौलाको धोद्रो स्वर जबरजस्त चर्कियो, ‘नाथे खड्गप्रसाद कत्रो महाराज हो र ? नेपाली जनताले नाथे तनाशाह खड्गप्रसादको दासता अस्वीकार नै गर्नेछ ।’

उनले शहिदको बलिदानको रक्षा गर्न चाहानेहरु, स्वाभिमान चाहानेहरु, न्याय चाहानेहरु खड्गप्रसाद ओलीको दासताका अगाडि नझुक्ने बताए ।

त्यसपछि बोल्ने पालो आयो बृहत नागरिक आन्दोलनका तर्फबाट नारायण वाग्लेको ।

स्पोर्टस् जुत्ता, कटनको पाइन्टमाथि सर्ट र हरियो हाफ ज्याकेट लगाएका थिए । सर्ट कुहिनाभन्दा माथिसम्म दोबारेका थिए । सेतै कपाल फुलेका वाग्लेले युवा जोस निकाल्दै भने, ‘हामीले काठमाडौं सभ्यताको कालो माटो आज निधारमा पोतिसकेका छौँ । नागरिक चेतनासहितको नागरिक आन्दोलन आज उठेको छ, यो हरेक प्रतिगमनको विरुद्ध, आन्दोलित हुनेछ ।’

तालीभन्दा ठूलो हुटिङ आयो ।

कमिजका बाउला झन् माथि सार्दै नारायण आक्रामक रुपमा बोल्दै गए- पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइनौँ ? दोस्रो जनआन्दोलनमा पनि त्यही नारा किन लाउनुपर्यो ? फेरि मधेसी, दलित, जनजाति किन उफ्रिनुपर्‍यो ? हरेकपल्ट जनआन्दोलनमाथि प्रतिगमन भोलिपल्टबाट भएको छ । त्यसकारण आज हामी यहाँ उभिएका छौँ ।

बालुवाटारमा भएको साथीले लोकतन्त्रको चेक एण्ड ब्यालेन्सको सिस्टम भत्काउनका लागि सम्पूर्ण महत्वपूर्ण एजेन्सीहरु आफ्नो मातहतमा लानुभयो । जुन, प्रधानमन्त्री कहिल्यै पनि सिंहदरबार जाँदैन । श्री ३ जंगबहादुरजस्तो निजी निवासमा बस्छ । स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई दर्शनभेट दिन बाध्य बनाउँछ । प्रमुख प्रतिपक्षको नेतालाई भागशान्ति गर्न बोलाउँछ । त्यसकारण प्रतिगमन सम्भव भएको छ, साथीहरु ।

उनीहरु प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भएको भन्दा रहेछन्, के षडयन्त्र भने अविश्वास प्रस्ताव आउँदै थियो रे Û के अविश्वास प्रस्ताव आउँछ भन्ने डरले संसद नै भंग गरिदिने ? त्यतिमात्र होइन, उहाँलाई खाली खुट्टा नै बालकोट हिँडाउनेवाला थिए रे ! अरे बाबा, खाली खुट्टा हातमा चप्पल लिएर दौडेको नेपाली जनताले ल्याएको प्रजातन्त्र होइन यो ? उनले खाली खुट्टा हिँड्न नहुने ? हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट र्फकन नहुने ?

फेरि बेस्मारी ताली पडि्कयो । तालीको आवाज मत्थर नहुँदै वाग्लेले आफ्नो भनाइलाई निरन्तरता दिए, ‘उनको अहंकारको श्रीपेच फुकालेरै छोड्नका लागि यो नागरिक आन्दोलन अब जुर्मुराएको छ ।’

मानिसहरु सभा सकिने प्रतिक्षामा थिए । किनकि अन्तिम वक्ताका रुपमा उभिएका थिए वाग्ले । तर, आफ्नो भनाइ टुंग्याउँदै गर्दा वाग्लेले भने, ‘हामी आज धर्ना दिनका लागि बालुवाटारको ढोकामै पुग्ने हो । टुल लिएर जाऔँ साथीहरु ।’

शान्त वातावरणमा एकाएक कोलाहल मच्चियो ।

ठूलो संख्यामा केही पर रहेका प्रहरीहरु काँडेतारले सडकलाई घेरेर बसेका थिए । युग पाठक, नारायण वाग्ने, सञ्जिव उप्रेती, मोहना अन्सारी, संगीत स्रोता लगायतको टिम सिधै काँडेतार धकेल्न पुग्यो । आन्दोलनको ठूलो जमातले त्यो काँडेतारलाई धकेलेर छेउ लगाइछोड्यो । आन्दोलनकारीहरु दुई सय मिटरमात्र अगाडि के बढेका थिए, प्रहरीहरुले बेप्रवाह लाठी बर्साउन थाले । आन्दोलनकारीहरु सडकमै ढले । एक दर्जन घाइते भए, दुई युवा बेहोस भएर सडकमै ढले । तर, आन्दोलनकारीहरु खुट्टा खोच्याउँदै भए पनि बालुवाटारतर्फ नै लम्किए ।

प्रहरीले पानीको फोहोरा बर्साउन थाल्यो । पानीको फोहोरासँगै सडकमा पछारिए आन्दोलनकारी । प्रहरीको एक टोलीले हतियार आन्दोलनकारीतर्फ फर्काइरहेको थियो । फेरि पनि आन्दोलन बालुवाटारतर्फ नै लम्कन खोजिरहेको थियो ।

अन्ततः प्रहरीले लखेटी छाड्यो । एक दर्जनभन्दा बढी घाइते भए । भाटभटेनी नजिकै पुगेपछि पानीले लुछुप्पै भएका घाइते वाग्लेले हात नचाउँदै भने, ‘हामी शान्तिपूर्ण धर्ना दिन जाँदै थियौँ । तर, हामीमाथि विनासूचना बर्बर दमन गरियो । अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment