Comments Add Comment

भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, चर्चामा किसान र्‍याली

१३ माघ, काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् ।

दिवसको अवसरमा प्रधानमन्त्री मोदीले ट्वीट गरेर सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् ।

२६ जनवरी १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो । भारतको गणतन्त्र दिवसमा अघिल्ला वर्षहरुमा विदेशी विशिष्ट पाहुनालाई प्रमुख अतिथिको रुपमा सहभागी हुने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण कोही पनि विदेशी पाहुनालाई प्रमुख अतिथिको रुपमा बोलाइएको छैन । ५५ वर्षपछि पहिलोपटक प्रमुख अतिथिविना भारतले गणतन्त्र दिवस मनाउन लागेको हो ।

यसैगरी समारोहमा गरिने परेडको दुरी पनि यस वर्ष छोट्याइएको छ । विगतमा लाल किल्लासम्म जाने गरेको परेड यस वर्ष विजय चोकदेखि राष्ट्रिय रंगशालासम्म मात्र जाने छ । परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने छ ।

चर्चामा ट्याक्टर र्‍याली

गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीसहित भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थामा थप कडाइ गरिनुको एक प्रमुख कारण भारतमा जारी किसान आन्दोलन पनि हो । गणतन्त्र दिवससँगसँगै भारतमा आज किसानहरुले गर्ने ट्याक्टर र्‍यालीको पनि चर्चा भइरहेको छ ।

सरकारले ल्याएको विवादित कृषि कानुनको विरोधमा आन्दोलनरत किसानहरुले गणतन्त्र दिवसको अवसर पारेर आज ट्याक्टर र्‍याली निकाल्दै छन् ।

कृषि कानुन किसान विरोधी भएकाले खारेज गर्नु पर्ने माग गर्दै महिनौंदेखि आन्दोलनरत भारतका किसानहरुको ट्याक्टर र्‍याली गणतन्त्र दिवसको समारोहपछि निस्किने भारतीय मिडियाहरुले जनाएका छन् । र्‍यालीका लागि देशभरका किसानहरु ३० हजार बढी ट्याक्टरसहित नयाँदिल्ली पुगेका छन् ।

आन्दोलनरत किसानका प्रतिनिधि र भारत सरकारका प्रतिनिधिबीच कयौं चरणमा वार्ता भए पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment