Comments Add Comment

भारतले बन्द गर्‍यो नेपालतर्फको नहर, किसानले गहुँ सिँचाइ गर्न पाएनन्

छोटी नहर

१३ माघ, सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् ।

नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग पुर्‍याउने उद्देश्यले कोशी व्यारेजबाट दुई वटा नहर निर्माण गरिएको छ । एउटा कोशी पश्चिमी र अर्काे कोशी पूर्वी । कोशी पूर्वी भने सुनसरी जिल्ला हुँदै भारततिर गएको छ । पश्चिमी नहर सप्तरी हुँदै बग्ने गरेको छ । प्रमुख दुई बाली धान र गहुँको सिजनमा यो नहरमा कोशी व्यारेजबाटै सिँचाइ गरिन्छ ।

तर, भारतले आफ्नो भूमितर्फ बग्ने पूर्वी नहरमा मात्रै पानी छाड्दा कोशी पश्चिमी नहरमा पानी छाडेको छैन । वर्षे भेलमा भारततिरको नहर बन्द गरेर नेपालतर्फको नहरमात्रै खोल्ने भारतले हिउँदयाममा भने ठीक उल्टो काम गरेको छ ।

व्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौं किसानले हजारौं बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । यो नहरसँग जोडिएका १२ वटा छोटी नहरहरु पनि छन् । छोटी नहर मार्फत् केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् ।

पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झण्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।

गहुँ उम्रिसकेको अवस्थामा पनि भारतले कोशी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको नेपाली किसानले बताएका छन् । ‘हामी प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएका छौं,’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का किसान बुदुर राम भन्छन्, ‘तर यस पटक गहुँ उमि्रदासम्म नहरमा पानी छाडिएको छैन ।’

अन्य वर्षहरुमा पुसको दोस्रो साता नै नहरमा पानी छाडिन्थ्यो । यस पटक माघको दोस्रो साता बित्न लाग्दा पनि पानी छाडिएको छैन । नहरमा पानी नछाड्दा झण्डै २५ हजार बिघा जग्गामा लगाइएको गहुँबालीलाई सिँचाइ गर्न समस्या भएको छ ।

यो नहरको पानीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ गर्दै आएका छन् ।

राजगढ गाउँपालिकाका किसान रामपि्रत यादवले यही नहरको आसमा किसानले अन्नबाली लगाउने गरे पनि नहरमा पानी नछाड्दा किसान त्राहिमाममा परेको बताए । ‘पानी छाड्ने आश थियो । तर पानी छाडिएन,’ उनले भने, ‘अहिले किसानहरु रुनुपरेको अवस्था छ ।’

कोशी व्यारेज नेपाली भूमिमा भए पनि पानी छाड्ने कि नछाड्ने ?, ढोका खोल्ने कि नखोल्ने ? भन्ने निर्णय कोशी व्यारेज कन्ट्रोल कक्षले भारतीय पक्षको निर्देशनमा गर्दै आएको छ ।

किसानलाई थपियो आर्थिक भार

पश्चिमी नहर

कोशी व्यारेज निर्माण भएको बेलामा किसानलाई सिँचाइमा सहयोग पुर्याउनकै लागि यो नहर निर्माण गरिएको बताउँछन् स्थानीय उमेश मिश्र । उनका अनुसार यो नहरसहित कोशी व्यारेज आसपासका जग्गाको मालपोत कर भारतले कोशी परियोजना मार्फत् नेपाल सरकारलाई तिर्दै आएको छ । मालपोत तिरेर भारतले कोशी व्यारेजलाई आफ्नो अनुकूल प्रयोग गर्दै आएको छ ।

भारतले कोशी पश्चिमी नहरमा पानी नहाल्दा यहाँका किसानलाई आर्थिक भार छ । गहुँ बालीमा सिँचाइ गर्न किसानलाई पम्पसेटको सहारा लिनुपरेको छ । पम्पसेट भाडामा लिएर त्यसमा डिजेल हाली गहुँलाई सिंचित गर्नुपरेको किसान बताउँछन् । ‘यसो गर्दा एक बिघामा १२ हजार जति खर्च हुन्छ,’ ७ बिघामा गहुँ खेती गरेका किसान बुदुर राम भन्छन्, ‘यस हिसाबले ८४ हजार जति खर्च पर्छ ।’

किसानका अनुसार गहुँमा ३ पटकसम्म पानी हाल्नुपर्ने हुन्छ । तीन पटकसम्म पानी हाल्दा प्रतिबिघा १२ हजारसम्म खर्च हुने उनको भनाइ छ ।

अहिले गहुँमा पानी हाल्नकै लागि कतिपय किसानलाई ऋण नै लिनुपरेको किसान रामले बताए । ‘भएकाले आफ्नै घरबाट हालेका छन् । नभएकाले अरुसँग ऋण लिएका छन्,’ उनले भने । भारतमा नहरमा पानी नछाडिदिएकै कारण ऋण लिएर सिँचाइ गर्न बाध्य भएको किसानहरुको भनाइ छ ।

भारतले सुनेन नेपाली पक्षको अनुरोध

भारतीय पक्षले नहरको मर्मत गर्ने नाममा पानी नहालेको जानकारी नेपाली पक्षलाई गराएको छ । नहरमा पानी नहालिएको सन्दर्भमा जिज्ञासा राखेपछि भारतीय पक्षले यस्तो जवाफ दिएका हुन् ।

प्रत्येक ५/६ वर्षमा नहर सफा गर्ने गरिएको छ । यस पटक गहुँकै सिजनमा भारतीय पक्षले सफा गर्ने नाममा नहरमा पानी हालेको छैन । जबकी नहर मर्मतको काम अझैसम्म शुरु हुन सकेको छैन ।

‘नहरमा पानी नहालिएको सन्दर्भमा मैले भारतीय पक्षसँग कुरा गरेको छु,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने, ‘केही दिनका लागि पानी हाल्न आग्रह गरे पनि भारतीय पक्षले मानेनन् ।’

उनले मौखिक अनुरोधका साथै भारतीय पक्षलाई पत्राचार पनि गरिएको बताए । पत्राचार गर्दासमेत भारतीय पक्षले यसमा ध्यान नदिएको उनको भनाइ छ ।

यो नहरलाई हेर्ने गरी स्थापना भएको कोशी पश्चिमी चन्द्र नहर डिभिजन कार्यालय, राजविराजका प्रमुख राजेन्द्र साह अहिले गैरजिम्मेवार देखिएका छन् । भारतले नहरमा पानी नहाल्दा किसान समस्यामा परेको अवस्थामा पछिल्लो दुई दिनयता उनी कार्यालयमै देखिएका छैनन् । उनको मोबाइल पनि स्वीच्ड अफ छ ।

निरन्तर भइरहन्छ पानी नहाल्ने खेल

भारतीय पक्षले यस पटक नहरमा पानी नछाडिएको घटना पहिलो होइन । किसानको भनाइलाई मान्ने हो भने पटक-पटक यस्तो खेल भइरहन्छ । धानबाली लगाएको समयमा गत असारमा पनि भारतले नहमा पानी अपेक्षाकृत नहालेको किसान रामपि्रतले बताए । ‘केही दिन मात्रै पानी हालेर बन्द गरियो,’ उनले भने, ‘त्यसबेला जसोतसो धानबाली फलाइयो ।’

यहाँका किसानले चैत महिनामा चैते धानबाली समेत लगाउने गर्छन् । चैते धानबाली लगाएको समयमा २०७५ सालमा पनि भारतले यो नहरमा पानी छाडेको थिएन । जसका कारण किसानहरुले ऋण लिएर पम्पसेटमार्फत् पानी प्रयोग गरी बाली उब्जाएका थिए । नहरमा पटक-पटक पानी नछाड्ने काम भइरहेको भन्दै यसको स्थायी समाधान हुनुपर्ने हनुमाननगर कंकालिनी नगरपालिकाका अगुवा युवा ज्योति झा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment