Comments Add Comment

अमेरिकी राजदूत बेरीद्वारा राजनीतिक भेटघाट तीव्र

१३ माघ, काठमाडौं । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

बेरीले प्रचण्डसँगको भेटपछि ट्वीट गर्दै भनेका छन्, ‘नयाँ प्रशासनका प्राथमिकताहरुबारे छलफल गर्न भइरहेका श्रृंखलाबद्ध भेट अनुसार मैले प्रचण्डसँग भेट गरेको छु । मैले प्रजातन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनविरुद्ध लड्ने र विश्वभर महिला र बालिकहरुको मानव अधिकारलाई संरक्षण गर्ने अमेरिकी प्रतिवद्धता दोहोर्याएको छु ।’

पछिल्ला भेटहरु नयाँ राष्ट्रपतिको नेपाल र विश्वव्यापी प्राथमिकता जानकारी गराउने उद्देश्यले भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

नयाँ प्रशासनको पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा केही पृथक प्राथमिकताहरु रहेका छन् । जस्तो वाइडले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने निर्णय लिएका छन् जुन निर्णयले नेपाललाई पनि केही असर गर्छ । अमेरिकाले सो सम्झौतामा जोडिने निर्णय गरेसँगै राजदूत वेरीले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । जलवायु परिवर्तनका एजेण्डाहरुमा नेतृत्व लिने उद्देश्यले नेपालले सो संवाद गत वर्ष आयोजना गर्ने तय गरेको थियो तर कोभिडका कारणले सम्भव भएन । सो संवादलाई सहयोग गर्ने चाहना अमेरिकाले व्यक्त गरेको छ ।

त्यसैगरी नेपाली नेताहरुसँगको भेटमा अमेरिकाले कोभिड–१९ विरुद्ध लड्न नेपालसँग नजिकको सहकार्य गर्ने अमेरिकी चाहना समेत राजदूतले व्यक्त गरेका छन् । त्यसैगरी महिला र बालबालिकाको अधिकार पनि अमेरिकाको अर्काे महत्वपूर्ण प्राथमिकता भएको बेरीले नेताहरुलाई जानकारी दिएका छन् ।

पछिल्ला भेटहरुमा एमसीसीको बारेमा कुरा भयो कि भएन भन्ने विषयमा दुवै पक्षले केही जानकारी गराएका छैनन् । त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भए/नभएको दुवै पक्षले बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment