१३ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए काे आयाेजनामा हुने एनएनआईपीए स्पाेर्ट्स अवार्डकाे १५औं संस्करण आगामी फागुन ८ गते आयाेजना हुने भएकाे छ ।
आयाेजकले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ८ गते मध्यपुर थिमि नगरपालिकामा आयाेजना गर्ने जनाएकाे हाे ।
यस वर्ष देखि राइजिङ प्लेयर अफ दि ईअर अवार्ड विधा थप गरिएकाे छ । त्यसको पुरस्कार राशी महिला र पुरुषकाे समान ५० हजार रुपैयाँ रहनेछ ।
एनएनआईपीएले हरेक वर्ष आयोजना गर्ने अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलासहित विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिँदै आएको छ ।
एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीले ५० हजार पाउनेछन् । त्यसबाहेक विभिन्न खेलका एक/एक खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिन्छ ।
१३औं सागमा समावेश २६ खेलबाट भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना भएकाे एक महिला र पुरुष खेलाडीलाई राईजिङ प्लेअर अफ दि ईअर अवार्ड प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
विभिन्न खेलका उत्कृष्ट हरेक खेलाडीले १० हजार पाउने गरेका छन् । अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिँदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआईपीएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
संघकाे सिफारिसमा उत्कृष्ट घाेषित खेलाडी बाहेक अन्य विधाकाे विजेताका लागि एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टकाे संयाेजकत्वमा छनाेट समितिले चयन गर्ने आयाेजकले जनाएकाे छ ।
त्यस्तै १ खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पनि पुरस्कृत गर्दै आइरहेको छ ।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले काेभिड महामारीका कारण अवार्ड गर्ने कि नगर्ने भन्ने दाेधार भरहेका बेला स्वास्थ्य प्राेटाेकल अपनायर अवार्ड गर्ने बताए । साथै पल्सर स्पाेर्ट्स अवार्डकाे भव्य आयाेजनाबाट प्रेरित भएर अवार्ड गर्न लागिएकाे बताए ।
मानार्थ अध्यक्ष दीपक विष्टले अवार्डलाई देशका विभिन्न सहरमा लैजान पहल गर्ने बताए ।
प्रतिक्रिया 4