Comments Add Comment

महिला लिगमा विदेशी खेलाडीको प्रभाव, वालिङसँग पुलिस बराबरीमा रोकियो

१३ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जासँग बराबरीमा रोकिएको छ ।

विदेशी खेलाडीको प्रभावमा वालिङले विभागीय टोलीलाई बराबरीमा रोकेको हो । खेलमा वालिङलले पहिले अग्रता लिएको थियो भने पुलिसले पुनरागमन गर्दै बराबरी गोल फर्काएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा क्यामरुनी खेलाडी मेथो एलुउडी रुथले ५३औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएका थिए ।

उनले क्यामरुनकै टाउटा ओरानेला एभानिकको पासमा मैदानको मध्यभाग नजिकैबाट बल अगाडि बढाउँदै गोल गरेका थिए ।

तर त्यो अग्रता लामो समय भने टिकेन । ६५औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् । वालिङको गोलकिपर र डिफेण्डरबीच तालमेल नमिल्दा पौडेलले गोल गरेकी हुन् ।

खेलको २९औं मिनेटमा पुलिसकी रेखा पोडेलले वालिङको गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकिनन् । यस्तै ३१औं मिनेटमा वालिङकी मेथोले पुलिसको गोलकिपर बिट गर्दै गरेको प्रहार पूजा रानाले क्लियर गरेकी थिइन् ।

जारी लिगमा पुलिसको यो दोस्रो बराबरी हो । ३ खेलबाट ५ अंक जोडेको पुलिस अंक तालिका दोस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक रहेको एपीएफ शीर्ष स्थानमा छ ।

लिगमा दोस्रो बराबरीपछि पुलिसका प्रशिक्षक सन्जिव जोशीले खेलाडीहरुले राम्रो खेल्न नसकेको बताए । उता वालिङका प्रशिक्षक दीलिप थापा मगरले पुलिस विरुद्ध अंक जोड्ने लक्ष्यका साथ खेलेको र बराबरी गर्न सफल भएको बताए । उनले विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।

वालिङले तीन खेल खेल्दा यो दोस्रो बराबरी हो । पहिलो खेलमा विराटनगरसंग १-१ को बराबरी खेलेको वालिङ दोस्रो खेलमा आर्मीसंग ७-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment