Comments Add Comment

कोरोनाको असर : निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

फाइल तस्वीर

१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् ।

यो समस्याले आएका सबै विद्यार्थीलाई विद्यालयको भौतिक पूर्वाधार र शिक्षक अभावका कारण भर्ना लिन नसकेको उनले बताए । विद्यालयमा अहिले विद्यार्थी संख्या करिब ३८०० पुगेको छ ।

अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र आफ्नै स्कुल बस भएकाले पनि बुटवलको कान्ति मावि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो । यो विद्यालय लुम्बिनी प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ ।

उता डोटी सदरमुकाम सिलगढीको पद्म सामुदायिक माध्यमिक विद्यालयमा पनि कोरोनाकालमा निजी विद्यालयहरुबाट भर्नाका लागि धेरै विद्यार्थी आए । प्रधानाध्यापक गीता जोशी एउटा कक्षामा सय विद्यार्थी राख्दा पनि नयाँ आउन नरोकिएपछि भर्ना लिने कुरामै पुनर्विचार गर्न परेको बताउँछिन् ।

‘एउटा कक्षामा ५४ जनाभन्दा धेरै विद्यार्थी नराख्ने भन्ने छ, तर भर्ना हुन आएकालाई त्यसै फर्काउन पनि अप्ठ्यारो भयो’, उनले भनिन्, ‘तर, नयाँ विद्यार्थी आउने क्रम नरोकिएपछि भर्ना नै रोक्नुपर्ने अवस्था आएको छ ।’

डोटी जिल्लाकै सबभन्दा पुरानो यो विद्यालयमा विद्यार्थी संख्या १२ सय १२ पुग्दा भौतिक पूर्वाधारको कमी खड्किएको छ ।

राजधानी काठमाडौंकै सामुदायिक विद्यालयहरुमा पनि निजी स्कुलबाट विद्यार्थी आउने क्रम बढेको व्यवस्थापनहरुले जनाएका छन् ।

डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयका प्रअ डिल्लीप्रसाद शर्मा कतिपय सामुदायिक विद्यालयहरुमा पढाइ राम्रो र खर्च कम हुने भएकाले कोरोनाकालमा आर्थिक अवस्था खस्किएका परिवारका विद्यार्थीहरु निजीबाट आएको बताउँछन् ।

उनका अनुसार अहिले विजयस्मारकका हरेक कक्षामा ४ देखि ९ जनासम्म निजी स्कुलबाट आएका नयाँ विद्यार्थीहरु थपिएका छन् ।

फेरि निजीमा फर्कने आशा

विद्यार्थी घटेर समाचार बनिरहने सामुदायिक विद्यालयहरूलाई यतिबेला थपिएका विद्यार्थी व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । कोरोना महामारीका कारण विद्यार्थीहरु निजी विद्यालयबाट सामुदायिक विद्यालयतिर जाने क्रम बढेको निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र शिक्षा मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकले पनि देखाएको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्याल निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा जाने क्रम उपत्यकामाभन्दा मोफसलमा बढी भएको बताउँछन् । उनका अनुसार, सामुदायिकमा कति विद्यार्थी बढे ? भन्ने यकिन तथ्यांक निकाल्न चाहिँ जेठसम्म कुर्नुपर्ने उनले बताए ।

‘हिजोआज निजी स्कुल सञ्चालकहरु विद्यार्थी घटेको गुनासो लिएर आउने गर्नुभएको छ’, महानिर्देशक अर्याल भन्छन्, ‘तर, कोरोनाका कारण सामुदायिकमा बढेको विद्यार्थी अर्काे शैक्षिक वर्षमा फेरि निजीमा नफर्कलान् भन्न त सकिन्न ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरी कोरोना महामारीका बेला विद्यार्थीहरू निजी स्कुल छाडेर सामुदायिक विद्यालय जानुलाई स्वाभाविक मान्छन् । ‘कोरोनाका कारण धेरै अभिभावकको रोजगारी गुमेको छ, व्यवसाय चौपट छ’, उनी भन्छन्, ‘त्यसैले यो शैक्षिक वर्षको ३ महिनाको लागि पूरा एक वर्षको शुल्क तिर्नुभन्दा केही समय सामुदायिकमा पठाउनु स्वाभाविक हो ।’

अर्काे शैक्षिक वर्षदेखि निजी विद्यालयमा विद्यार्थी बढ्ने उनको अनुमान छ । प्याब्सनको तथ्यांकअनुसार कोरोनापछि देशभरका निजी विद्यालयमा करिब २५ प्रतिशत विद्यार्थी घटेका छन् ।

अडिएलान् त सामुदायिकमा ?

सामुदायिक विद्यालयहरूमा अहिले थपिएका विद्यार्थी यो शैक्षिक वर्षभरिका लागि मात्र हुन् त ? यसमा सरकारी र निजी विद्यालयका पक्षको समेत आ–आफ्ना तर्क छ ।

‘पहिलो त कोरोना भाइरसका कारण निजी स्कुलमा पनि पछिल्लो ९ महिनासम्म राम्रो पढाइ हुन सकेन तर निजी विद्यालयले अनलाइन कक्षा वा अन्य बहानामा अध्ययन शुल्क उठाउने भएपछि त्यो तिर्नुभन्दा सरकारी विद्यालयमा एक वर्ष पढाउनु बेस भन्ने सम्झिएर सरकारी विद्यालयमा भर्ना गरिएको देखिन्छ’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्याल भन्छन्, ‘अर्को वर्ष कोरोना साम्य भएर अभिभावकलाई आर्थिक सहजता भयो भने ती विद्यार्थी फेरि निजीमा फर्कन सक्छन् ।’

त्यसो भन्दैमा सामुदायिक विद्यालयमा आएका विद्यार्थीहरू सबै केही महिनाको लागि मात्रै आएका भने होइनन् । अर्याल सामुदायिक विद्यालयको गुणस्तर पछिल्लो समय राम्रो हुँदै गएकाले विद्यार्थीको रोजाइमा परेको दावी गर्छन् ।

विजय स्मारक माविमा भर्ना हुन आउनेमध्ये आधाभन्दा धेरै विद्यार्थीले निजी विद्यालय छाड्नुको मुख्यकारण कोरोना रहेको बताएका छन् । विद्यालयका प्रअ शर्मा कोभिडका कारण अघिल्लो शैक्षिक वर्षको परीक्षा र नतिजा समेत निकाल्न नभ्याएका निजी विद्यालयमा विद्यार्थीले अघिल्लो शैक्षिक वर्षको पनि तिर्न बाँकी रहेको दुईवर्षको शुल्क एकमुष्ठ तिर्न नसक्ने अवस्था भएपछि सरकारी स्कुलमा भर्ना हुन आएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment