Comments Add Comment

पाँचतारे होटलका कर्मचारीले मासिक ५ हजार पाउने गरी सहमति

१४ माघ, काठमाडौं । होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको छ ।

तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ ।

काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले भने निजले खाइपाई आएको पुरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाईएको अवस्थामा घरै बस्नु पर्ने भएमा भने होटेल संचालकले पछिल्लो सहमति अनुसारको रकम दिने भएका छन् ।

यसअघि ६ महिना अगाडी मजदुर र होटेल संचालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएको थियो । त्यसपछि विभिन्न चरणमा बसेका बैठकमा यस्तो सहमति जुटेको होटेल संघ नेपाल -हान)ले जनाएको छ ।

आगामी एक वर्षका लागि मान्य हुने गरी भएको यो सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष सृजना राणाले हस्ताक्षर गरेकी छिन् । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका  अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् ।

आउटसोर्सिङ नलिने

सहमति अनुसार आगामी एक वर्षभर वा सहमतिको अवधि कायम रहेको अवस्थासम्म तालिमा आएका, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई होटेलले काममा लगाउन पाउने छैनन् । कामदार आवश्यक हुँनासाथ जगेडामा घरमा बसेका कर्मचारीलाई बोलाउनु पर्नेछ ।

तर बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्ने भएको छ । अर्कोतर्फ कुनै श्रमिक तथा कर्मचारीले  एक महिनामा न्यूनतम १५ दिनभन्दा कम, जती दिन कार्य गर्ने हो त्यति दिनको खाइपाई आएको पारिश्रमिक सँगै सहमति अनुसार तोकिएको मासिक रकम समेत थप पाउने छ । तर, नियमित १५ दिनभन्दा माथि काममा लगाइएका कर्मचारीले भने खाइपाई आएको कार्यदिनको पारिश्रमिक पाएमा सहमतिअनुसार दिने भनिएको थप रकम पाउने छैनन् ।

यस्तो छ सहमति

क)   पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. पाँच हजार रकम उपलब्ध गराईनेछ ।

ख)   चारतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. चार हजार  रकम उपलब्ध गराईनेछ ।

ग)   तीनतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. तीन हजार रकम उपलब्ध गराइनेछ ।

घ)   दुईतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. दुई हजार पाँच सय रकम उपलब्ध गराइनेछ ।

ङ)   एकतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. दुई हजार रकम उपलब्ध गराइनेछ ।

च)   पर्यटक स्तरीय होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई आपसी समझदारीमा गरिनेछ ।

सहमति अवधिभर चाडपर्व खर्च र बोनस नपाउने

मजदुर र सञ्चालकहरुबीच भएको सहमति अनुसार यो अवधि मान्य हुने समयसम्म चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीले नपाउने भएका छन् ।

सहमति अवधिभरी काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीले समेत दावी गर्न नपाउने गरी सहमति बनेको छ ।

सहमतिको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील केन्द्रीय स्तरका सम्झौताकर्ता ट्रेड युनियन संघ बीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्ने सहमति समेत भएको छ । सहमतिको अवधिभरी श्रमिक वा कर्मचारीहरुको रोजगारीको सुनिश्चितता भने होटेलले गर्नेछ ।

अर्थात् यसबीचमा कुनै पनि कर्मचारीलाई जागिरबाट निकाल्न पाउने छैनन् । तर स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुदाँ बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाउने भएका छन् ।

सेवाको अवधि रोजगारीको अन्त्य भएको दिनसम्म गणना गरिने भएको छ । कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सहमति अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सुचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सहमति अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शिर्षकको रकमबाट कट्टी गरिनेछ  सहमति समेत भएको हानले जनाएको छ  ।

अब सम्पूर्ण होटल प्रतिष्ठान र त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनु पर्ने सहमति समेत बनेको छ ।

यो सहमतिलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराउने समेत सहमति दुबै पक्षबीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment