Comments Add Comment

खोपले कोरोनाविरुद्ध लड्न थप साहस दियो : मुख्यमन्त्री राउत

१४ माघ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताएका छन् । उनले सबै सरोकारवालाको सहयोगले प्रदेशमा कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको बताए ।

वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले गरेको हिम्मतको सह्राहना गरे ।

‘कोरोनाले त्रसित र भयवित थियौं, त्यो समयमा फ्रन्टलाइनर (अग्रपंक्तिमा खटिनेहरु) ले साहस देखाएर काम गर्नुभयो’ उनले भने, ‘अहिले भारत सरकारको १० लाख भ्याक्सिन प्राप्त गरेका छौं, यसले थप साहस दिएको छ ।’

विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगञ्जबासी बाँच्ने वा मर्ने अवस्थाबाट गुज्रेको समयमा फ्रन्टलाइनरले सहास देखाएर कोरोना नियन्त्रणमा सफल भएको स्मरण गरे ।

नारायणी अस्पतालले नै प्रदेश नं २ मा पहिलो पटक कोरोना संक्रमित पत्ता लगाउनुको साथै उपचार गरेका थिए । अस्पतालमा कार्यरत स्टाफ नर्स अहेमा थापालाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको छ ।

नर्स थापा वीरगञ्जमा पहिलोपटक ०६७ चैत २९ गते फेला परेका तीन जना भारतीय नागरिकको उपचारमा संलग्न नर्स हुन् ।

प्रदेशका ९ वटा अस्पतालमा एकै साथ खोप अभियान

कोभिड–१९ विरुद्धको खोप अभियानको प्रदेश नं २ का ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ ।

पर्सामा नारायणी अस्पताल वीरगञ्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल,सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहाको सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो । ५ दिनभित्र सबै फ्रन्टलाइनरलाई खोप लगाइसक्ने योजना छ ।

संघीय सरकारले प्रदेश २ मा ३४ हजार ८ सय ४ थान खोप पठाएको छ । पर्सामा ४ हजार ९ सय ७१, बारामा २ हजार ३ सय ९५, रौतहटमा ३ हजार ६ सय ९, सर्लाहीमा ४ हजार ७ सय ७२, महोत्तरीमा २ हजार १ सय ९१, धनुषामा ९ हजार १ सय ८२, सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ७५ थान खोप पठाईएको खोप अभियानका प्रदेश २ संयोजक डा. मदन उपाध्यायले जानकारी दिए ।

‘सबै जिल्लामा खोप पुगिसकेको छ, थप १० प्रतिशत पनि पठाएका छौं । प्रदेशका ९ वटा अस्पतालमा आजैदेखि खोप लगाउन शुरु भइसकेको छ’ उनले भने, ‘पहिलो चरणमा ५ दिनभित्र सबै फ्रन्टलाइनरलाई लगाइसक्ने योजना छ । सफाइकर्मी, एम्बुलेन्स र शव बहान चालक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पहिलो चरणमा खोप लगाइन्छ ।’

उनले एउटा व्यक्तिले चार हप्ताको फरकमा २ पटक खोप लगाउनुपर्ने र सामान्य साइड इफेक्ट देखिएपनि आत्तिन नपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment