Comments Add Comment

केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु : वामदेव गौतम

वामदेवको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्री छोड्दा पार्टी फुट्यो, मिल्नुको विकल्प छैन

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा गर्दै गौतमले पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री छाडेकै कारण पार्टी विभाजनसम्म आइपुगेको निष्कर्ष सुनाए ।

पार्टी बैठकको अध्यक्षता र प्रधानमन्त्रीमा आलोपालो गर्नु एमाले र माओवादी एकीकरणको मुख्य आधार भए पनि प्रचण्डले त्यो छाडेर गल्ती गरेको गौतमले दाबी गरे । ‘प्रचण्डको अध्यक्षको अगाडि कार्यकारी थप्यौं, त्यो हाम्रो लडाइँको विजय थियो । अन्तरसंघर्षको जित थियो । त्यसबेला प्रचण्ड खुसी हुनुभयो । यत्ति खुशी हुनुभयो’ गौतमले अगाडि थपे, ‘एक क्षण स्तब्ध हुनुभयो र भन्नुभयो- केपी ओलीजी, यो प्रचण्ड प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन । दुईपटक प्रधानमन्त्री भइसकेको छु । मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन । मैले कार्यकारी भएर काम गर्न पाउने भएँ । पाएपछि अब मैले हाम्रो एकताका बेलामा आलोपालो भन्ने थियो, त्यो पनि मैले छाडें ।’

एकताको आधार नै प्रचण्डले छोडेपछि बढ्दै गएको संकटले पार्टी विभाजनसम्म पुगेको गौतमले बताए । आलोपालो प्रधानमन्त्री छोड्दा एकातिर धेरै खुशी र अर्कोतिर दुःखी हुने परिस्थिति निर्माण भएको गौतमको बुझाइ छ ।

पाँचै वर्ष केपी ओलीलाई प्रधानमन्त्री छाड्ने प्रचण्डको निर्णयले ओलीमा बढी नै उत्साह देखिएको संकेत गर्दै गौतमले भने, ‘अरुबेला त निर्णय मिलाएर लेख्ने हुन्थ्यो । त्यसबेला केपी कमरेडले महासचिवलाई तुरुन्तै यो लेखिहाल्नुहोस्, लेखिहाल्नुहोस्, लेखिहाल्नुहोस् भने । विभाजनको विरुवा त्यसैबेला लेखियो ।’

त्यो पार्टी एकताको आधार भत्किरहँदा रिस उठे पनि आफूले नबोलेर गल्ती गरेको गौतमले बताए । ‘मलाई रिस उठेको थियो । प्रचण्डले यस्तो गर्नुहुन्छ भन्ने मलाई लागेकै थिएन’, गौतमले भने, ‘तर, ओलीले पनि पार्टी एकता जोगाउँदै संरक्षकको भावना नदेखाएको गौतमको आरोप छ । ‘ओली संरक्षक हुनुभएको भए, आलोपालोअनुसार म बस्छु, एकतालाई जोगाउँछु भन्नुहुन्थ्यो, उहाँले भन्नुभएन ।’

योग्य, बरिष्ठ र सक्षम नभनेर अनुपातका आधारमा पार्टी एकीकरण गर्ने मोडालिटीमा पनि त्रुटि रहेको गौतमको निष्कर्ष छ । यसरी, एकपछि अर्को गल्ती थपिँदै जाँदा एकअर्का विरुद्ध आरोपपत्र लेख्ने अवस्था आएपछि पार्टी विभाजित भएको गौतमको विश्लेषण छ ।

फेरि एकता !

आफ्नो एकता अभियानको औचित्यबारे प्रष्ट्याउँदै गौतमले १३ वर्ष लामो प्रयासपछि एकतावद्ध भएको नेकपा तीन वर्षमै विभाजित हुँदा कोही खुशी नभएको बताए । तर, फेरि मिल्नुको विकल्प नभएकाले एकता अभियान शुरु गरेको उनले प्रष्टोक्ति दिए ।

केपी ओली र प्रचण्ड दुवैलाई एकठाउँमा उभिन बाध्यकारी अवस्था सिर्जना गर्ने उनले उद्घोष गरे । ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्ड पनि हुनुहुन्थेन । प्रचण्डजी म हुँदा एकतामा बसेको हो, म नहुँदा होइन । उहाँहरु दुइटैलाई एकठाउँमा ल्याएको हो’ गौतमले भने, ‘अहिले दुईतिर फर्कनुभएको छ । म केपीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपीतिर फर्काइदिन्छु । त्यस्तो गर्न चाहन्न भन्नै सक्नुहुन्न । उहाँहरु बाध्य हुनुहुन्छ ।’

यदि, एकताको पक्षमा कोही बस्न तयार भएनन् भने सेनाबिनाको सेनापति बन्ने गौतमले चेतावनी दिए । मुख्य गरी दुबै समूहका दोस्रो र तेस्रो पंक्तिका नेताहरु अहिले पनि एकताकै पक्षमा रहेको गौतमको बुझाइ छ । ओली बाहेक उनको समूहका सवै एकता चाहिरहेको पनि उनले बताए । तर, सर्वोच्च अदालतको निर्णय कुर्ने पंक्ति दुवैतिर धेरै रहेको गौतमको जानकारी दिए ।

पार्टी विभाजन हुँदा प्राप्त हुने परिणामबारे लामै व्याख्या गरेको गौतमले विभाजित नेकपा नमिल्ने हो भने दुई चार सिटमै सीमित हुने गणित प्रस्तुत गरे । आफूले पनि चार वर्ष देशभर ठूलो जनमत ल्याउँछौं भन्दै हिडेको अनुभव सुनाउँदै गौतमले आगामी चुनावमा एउटै पार्टी बन्नुको विकल्प नरहेको बताए ।

एकताले निर्माण र विभाजनले ध्वंश हुने भन्दै गौतमले आफ्नो अभियानले सार्थकता पाएरै छोड्ने दाबी गरे । गणतन्त्र र कम्युनिष्ट पार्टी आफ्नो सपना भएकाले फेरि पनि एकतावद्ध पार्टी बनाएर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने घोषणा पनि गरे ।

गौतमको चाहना : संसद् पुनर्स्थापना

जनताको बहुदलीय जनवादलाई मार्गदर्शक मान्ने पार्टी नेताले संविधानको सर्वोच्चता स्वीकार गर्नुपर्ने गौतमले बताए । त्यसो हुँदा संसद् विघटन विरुद्ध सर्वोच्चमा परेको मुद्दा संवैधानिक भएकाले फैसला मान्नुपर्ने बताए ।

‘तपाईँको व्यक्तिगत धारणा के छ भनेर भन्नुभयो भने पार्टी एकता गर्न सकिन्छ भन्ने भएको हुनाले पुनस्र्थापना भइदिए हुन्थ्यो । तपाईहरु पनि त्यही पक्षमा हुनुहुन्छ होला भन्ने मलाई लागेको छ, समर्थन गर्नुहुन्छ ?’ गौतमले सोधे ।

हलमा केहीबेर ताली बजेपछि गौतमले संसद् पुनस्र्थापना भए अर्को चुनावसम्मको दुईवर्षमा पार्टी एकता गराएरै छोड्ने उद्घोष गरे ।

तर, अहिले अदालतले संसद् पुनर्स्थापना गरेन भने सडकबाट पुनस्र्थापना गछौर्ं भन्ने जस्ता प्रकट अभिव्यक्ति नदिने उनले बताए । ‘निर्णय के हुन्छ भनेर प्रचण्डले भनेजस्तै, केपीले भनेजस्तै मैले भन्न मिल्दैन’ गौतमले भने, ‘किनभने, जनताको बहुदलीय जनवादमा संविधानको सर्वोच्चता राखेको छ ।’

संसद् विघटनको मुद्दा संवैधानिक इजलासमा भएकाले त्यो विषय संवैधानिक भएको ठहर गौतमको छ । संसद् पुनर्स्थापना नभए पनि पार्टी मिलाउने मुद्दा नछोड्ने गरी अभियान चलाइने उनले बताए ।

तर, छुट्टै पार्टी बनेर चुनावमा भाग नलिने पनि अभियानको उद्देश्य हुने गौतमले स्पष्ट पारेका छन् । विभाजित नेकपाकै मनपर्ने उम्मेद्वारलाई भोट हाल्ने, तर काँग्रेस र राप्रपालाई भोट नहाल्ने पनि उनले सुनाए ।

‘मार्क्सवाद र जनताको बहुदलीय जनवाद (तुलनात्मक अध्ययन), २१औं शताब्दीको कम्युनिष्ट पार्टी र नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय जनवाद नामक पुस्तक सार्वजनिक गर्दै गौतमले बुधबार एकता अभियान सञ्चालनको अवधारणा सार्वजनिक गरेका छन् ।

आफ्नै संयोजकत्वमा घोषणा गरिएको यो अभियानको वडा तहसम्मै संरचना निर्माण गरिने गौतमले बताएका छन् । यसको मुख्य काम पार्टी एकताको वातावरण बनाउनमै केन्दि्रत हुने नेताहरुले बताएका छन् ।

गौतमले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एकता अभियान घोषणा गर्दै पछि कुनै एक समूहमा जान्छन् कि भन्ने आशंका समेत चिर्ने प्रयास गरे । केपी ओली मान्छे फसाउन जान्ने भएकाले त्यतातिर जान्छन् कि भन्ने आशंका भएको सन्दर्भ सुनाउँदै गौतमले अन्तिम समयसम्म एकताकै लागि बलियो गरी उभिने उद्घोष गरे ।

तर, कथं एकता संभव नभएमा अभियानको केन्द्रीय कमिटीबाटै निर्णय हुने पनि उनले जानकारी दिए ।

वामदेव नेतृत्वको अभियान सकेसम्म पार्टी एकता गर्ने, नभए चुनावमा गठबन्धन गराउनेमा केन्द्रित हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment