Comments Add Comment

नेकपा (प्रचण्ड-माधव समूह)ले आज बुटवलमा विरोध सभा गर्दै

१५ माघ, रूपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए ।

सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।

गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।

जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको सो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment