Comments Add Comment

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’

१५ माघ, वीरगञ्ज । नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ । बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान घोषणा गरियो ।

पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताए । ‘नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना छ’ उनले भने ।

पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए । ‘अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ उनले भने ।

पत्रकार सम्मेलनमा उद्योगी चौधरीले राखेको विचारको सम्पादित अंश :

कोरोना भाइरसको महामारीका कारण धेरै व्यवहारिक कठिनाइ सिर्जना भए, त्यसको हामीले सामना गरिसकेका छौं । यो अभियानको उद्देश्य खासगरी बेरोजगारी समस्या, आपूर्ति र उत्पादन तथा माग र उत्पादनबीचको खाडल पूर्ति गर्ने हो ।

नेपालका ६० लाख युवाको जमात रोजगारी र उद्यमको बजारमा छन् । आपूर्ति र उत्पादन बीचको खाडलमा उभिएका छन् ।

वालिग मत दिने क्षमता उनीहरुसँग छ । उनीहरुको हातमा इन्टरनेट छ, देश दुनियाँ देखेका छन् । उनीहरुका आफ्नै आकांक्षा र सपनाहरु छन् । व्यवस्थित प्रणालीको माध्यमबाट उनीहरुका लागि राज्यले अवसर खोल्नुपर्छ । अन्यथा भोलिका बाटाहरु अझै कठिन हुन सक्छ । मुलुक सामाजिक द्वन्द्वमा जान सक्छ ।

हामीले यसलाई बुझेर अभियान सुरु गरेका हौं । ग्रास रुट (भुइँ तह) बाट वा कुनै न कुनै रुपका संघर्षबाट अगाडि आएका, पहिचान बनाएका, आफ्नो खुट्टामा उभिएका साथीहरुले अभियानमा साथ दिँदैछन् ।

धेरै नेपालीले आफ्नो देश सम्पन्न भएको सपना देख्छन् । जो गरीखानेमा विश्वास गर्छन्, ठगी खानमा वा मागी खानमा होइन । यो जमातलाई अझै व्यापक बनाउनुपर्छ ।

युवाले म यो काम गर्न चाहन्छु भन्दैमा काम सम्पन्न हुन सक्दैन । कामलाई योजनाको रुप दिन सक्नुपर्छ, बैंकले पत्याउने हिसाबले प्रस्तुत गर्न सक्नुपर्छ । सही ढंगले कार्यान्वयन गर्न सक्नुपर्दछ । सफलताका साथ सञ्चालन हुने ठाउँमा पुर्‍याउनुपर्छ ।

सरकारले विभिन्न किसिमका योजना घोषणा गरेको छ । पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं । तर कतिले रोजगारी पाए त ? कति उद्यम खडा भए त ? नवप्रवर्तन उद्यमी कति खडा भए त ? भन्ने गम्भीर प्रश्न उभिएको छ ।

अब उद्यम लगानी र पूर्वाधार दिगो विकासको प्लेटफर्म बन्नुपर्छ भन्ने दृष्टिकोण राखेर हामीले काम थालनी गरेका छौं । त्यसका लागि एउटा यस्तो सिस्टम बनाउनुपर्छ, जुन सिस्टमले केही गर्छु भन्ने आत्मविश्वास बोकेका युवाको सोचलाई कार्यान्वयनमा लैजान सारथीको भूमिका खेल्छ ।

हाम्रो सोच भनेको नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका सबैलाई समेटेर लैजाने हो । अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं ।

कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्छ । जबसम्म गरीखाने सोच भएकाहरुलाई समाजले महत्व दिँदैन, तबसम्म समस्या समाधान हुँदैन । विदेशमा काम गरेको भरले राज्य केही दिन, केही वर्ष चल्न सक्छ, सधैंभरि सम्पन्न राष्ट्र बन्न सक्दैन । कोरोना महामारीले पनि हामीलाई यो कुरा सिकाएको छ ।

गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउदैछौं । प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भयो । वीरगञ्जमा स्टार्टअप (नयाँ व्यवसाय) सँग जोडिएका संस्थाहरु रहेछन् । म्यानेजर मात्रै नभएर उद्योगीहरुलाई समेत अगाडि बढाउने मानसिकता राखेर युवा पुस्ता अघि बढेका रहेछन् । २० भन्दा बढी यस्ता पात्र भेटिए । यसलाई २ हजार बनाउनुपछ ।

प्रत्येक जिल्लामा बनाउनुपर्छ भन्ने नै हाम्रो सोच हो । उद्यम र व्यवसायको रुपमा सबैभन्दा अगाडि वीरगञ्ज छ, त्यहीँबाट हामीले अभियान सुरु गरेका छौं । यो अभियान एक किसिमको क्रान्ति पनि हो । हाम्रो सोचाइ भनेको राजनीतिका बीचमा पनि गरीखानेहरुको वर्चश्व हुनुपर्छ ।

नेपालमा समस्या के छ भने कुनै नयाँ सोच आउनेवित्तिकै सबैभन्दा पहिला यो सफल हुँदैन भन्ने सोच्छौं । तर यसपटक जसरी पनि गरिछाड्छौं भन्ने संकल्पका साथ अघि बढ्नुर्छ ।

हामी के चाहन्छौं भने अबको युवा गरीखाने बन्नुपर्दछ, रोजगारी लिएर वा रोजगारी दिन सक्ने ठाउँमा आफू पुगेर । देश १२ वर्ष द्वन्द्वमा रहँदा समेत हामी रोकिएनौं । काम गर्न सक्ने वातावरण निर्माण गर्नका लागि राज्य प्रणाली विकास गर्नुपर्छ । राज्य प्रणाली, एउटा पार्टीबाट बन्ने हो, पार्टी समाजको मानसिकताबाट नै बन्ने हो ।

विभिन्न पार्टीको आह्वानमा संघर्ष गर्न मानिसहरु सडकमा उत्रन्छन् । अब गरीखाने वातावरण बनाउनका लागि पनि सडकमा उत्रिन सक्नुपर्छ मानिसहरु । कनेक्टिभ वल्र्डमा राष्ट्रले बोर्डर (बन्देज) लगाउने हैन, प्रत्येक मानिसलाई अभिप्रेरित गर्नुपर्छ । नेपाललाई चिनाऊ भन्नुपर्छ ।

हरेक नागरिकले पूँजी निर्माण गर्नुपर्छ । पूँजी निर्माण हुँदा त्यो राज्यको सम्पत्ति बन्छ । चीन राजनीतिक संघर्षबाट गुज्रिएका बेला त्यहाँका धेरै मानिस चीन भन्दा बाहिर गएर काम गरे । जब चीनमा काम गर्ने वातावरण बन्यो, उनीहरु स्वदेश फर्किए ।

विदेश जाँदा त्यहाँ रहेका लाखौं नेपालीसँग कुरा गर्दा मन रुन्छ । उनीहरु हामीले स्वदेशमा फर्केर सजिलोसँग काम गर्ने वातावरण बन्छ भनेर सोध्छन् । उनीहरुलाई तपाईहरु संघर्ष गर्नुस्, बाहिर बसेका छौं भनेर हिनता भाव नराख्नुस्, अनुभव र पैसा बटुल्नुस् । नेपालमा त्यो स्थिति आउँछ । त्यसका लागि हर किसिमले योगदान दिनुस् भनेर सम्झाउने गरेको छु ।

नेपालीलाई नेपालीले नै रोजगारी दिने हो । त्यसका लागि सानै भएपनि उद्यम खोल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment