Comments Add Comment

माडीको पुल बनाउन चितवन राष्ट्रिय निकुञ्जले दियो सहमति

१५ माघ, चितवन । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि चितवन राष्ट्रिय निकुञ्जले माडीमा पक्की पुल बनाउन अनुमति दिएको छ ।

हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताए । साथै ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ । बरालले भने, ‘नदीजन्य पदार्थको राजस्व नतिरेमा पुल निर्माणको भुक्तानीमा नै कट्टा गरिनेछ ।’

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पुर्‍याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न निर्देशन दिएको थियो । निकुञ्जको निर्देशनपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीका सानाठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीन वटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ भने बाँकी आठ पुलको प्रतिवेदन बुझाइएको थिएन । तीमध्ये एउटा पुलको वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ भने अन्यको थाल्ने सहमति भएको हो ।

माडीमा पुल निर्माण गर्दै गरेका ठेकेदार कम्पनीले त्यहीको नदीजन्य पदार्थ प्रयोग गर्दै आएका छन् । निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले मध्यवर्ती क्षेत्रमा काम गर्नुपर्दा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

माडी नगरपालिकाले नगरवासीलाई विभिन्न काममा निकुञ्जले अवरोध गर्ने गरेको भन्दै विरोध जनाउँदै आएको छ । निकुञ्ज स्थापना बेलाको ऐन संशोधन हुन नसक्दा कतिपय काममा अनावश्यक अवरोध हुने गरेको भन्दै नगरपालिकाले विरोध जनाउँदै आएको छ । जसका कारण निकुञ्ज र माडीवासीका बीचमा समयसमयमा द्वन्द्व हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment