
१६ माघ, काठमाडौं । अनलाइनखबरकर्मी सागर बुढाथोकीसहित चार पत्रकार बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानित भएका छन् ।
फाउण्डेसनले कोरोना महामारीका क्रममा उत्कृष्ट सेवा प्रदान गरेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्य सहयोगीलाई यो सम्मान प्रदान गरेको हो । पत्रकारिता तर्फबाट अनलाइनखवरकर्मी बुढाथोकीसँगै कान्तिपुरकी सम्बाददाता फातिमा बानु, फोटो पत्रकारतर्फ देशसञ्चारकी वर्षा शाह र मल्टिमिडियातर्फ न्युज एजेन्सी नेपाल सम्मानित भएका हुन् । उनीहरुलाई पनि ५० हजार एक रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डा. सुवासप्रसाद आचार्यलाई १ लाख १ रुपैयाँसहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डा. डेनप्रसाद आचार्यलाई जनही ६० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।
नर्सिङतर्फ वीर अस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत नर्स श्रुति साहलाई सम्मान गरिएको छ । यस पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ ।
स्वास्थ्य सहयोगी कर्मचारीतर्फ भेरी अस्पतालकी सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।
संस्थागत तर्फ पाटन अस्पताल, ललितपुर, सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबै व्यक्तित्वलाई सम्मान गरेका थिए । फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन आग्रह गरे ।
कोभिडमा उच्च योगदान पुर्याएका व्यक्ति छनौटका लागि फाउन्डेसनले पत्रकारितातर्फ र स्वास्थ्य क्षेत्र तर्फका दुईवटा छुट्टा छुट्टै निर्णायक समिति गठन गरेको थियो ।
पत्रकारितातर्फ वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, सुधीर शर्मा, टीकाराम यात्री र स्वास्थ्य क्षेत्रतर्फ डा. भगवान कोइराला, डा. लोचन कार्की, प्राध्यापक गोमादेवी निरौला र लक्ष्मी तामाङ निर्णायक समितिमा रहेका थिए ।
प्रतिक्रिया 4