Comments Add Comment

जुलुसमा जस्तो सामाजिक दुरी पशुपतिमा पनि पालना हुन्छ : मन्त्री ढकाल

१६ माघ, काठमाडौं । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका भानुभक्त ढकाल सम्भवतः सबभन्दा बढी विवादित र आलोचित भए ।

कोरोना क्रमशः कम हुँदै जाँदा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेका छन् । स्वास्थ्यमन्त्री हुँदास्वास्थ्य प्रोटोकल कडा हुनुपर्छ भनेर लविङ गर्ने उनी आफैंले बनाएको प्रोटोकल खुकुलो बनाउनुपर्छ भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धाउँछन् । तर, केन्द्रमा उनीमाथि नै प्रश्न आउने गर्छ, ‘आफैंले बनाएको होइन कडा नियम ?’

शुक्रबार मन्त्रालयका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ढकालले आफ्नो व्यवहारिक समस्या सुनाए ।

उनका अनुसार कपर्यटन व्यवसायीले स्वास्थ्य प्रोटोकल कडा भएको भन्दै हरेक दिनजसो दबाब दिन्छन् । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहेको नेपाल पर्यटन बोर्डले समेत कडा स्वास्थ्य प्रोटोकलले नेपालको छवि बिग्रिएको भन्दै सुधार गर्न सिफारिस गरेको छ, जुन ढकाल स्वास्थ्यमन्त्री रहँदा बनेको थियो ।

सभा जुलुसले प्रोटोकलको खिल्ली उडायो

अन्तर्क्रियाका क्रममा सञ्चारकर्मीले सोधे, यो वर्ष महाशिवरात्री पर्व के हुन्छ ? भारतबाट बाबाहरुलाई आउन दिइन्छ कि दिइँदैन ? स्वास्थ्य मापदण्ड पालना हुन्छ कि हुँदैन ? भानुभक्त ठट्यौली शैलीमा भने, ‘अहिले सभाजुलुसमा कायम भएको जत्तिको सामाजिक दूरी पशुपतिमा पनि लागू हुन्छ ।’

उनी यसमा सबै पक्षको दोष देख्छन् । आफू संलग्न नेकपा ओली समूह होस् वा अर्को समूह होस्, सभा जुलस गर्नेहरुले स्वास्थ्य मापदण्ड उल्लंघन गरिरहेको उनले बताए ।

महाशिवरात्रीसम्म पशुपतिमा सहज हुन्छ

मन्त्री ढकालका अनुसार महाशिवरात्री पर्व मनाउन अहिलेभन्दा सहज बनाउने तयारी छ । अहिले बिहानमा मात्र खोलिएको पशुपतिनाथ मन्दिर अब अन्य समयमा पनि खोल्ने तयारी छ ।

भारतबाट आउने बाबाहरुलाई समेत नेपाल आउन दिने आशय उनको छ । अहिले भारतमा धमाधम कोरोनाको खोप लगाउने अभियान जारी रहेको छ । नेपालमा समेत कोरोना खोप लगाइरहेको सन्दर्भमा अब क्रमशः बोर्डर खुकुलो गरी भारतबाट आवागमन सहज बनाउने तयारी रहेको संकेत उनले दिए ।

महत्वाकांक्षी योजना छैन

मन्त्री ढकालले पर्यटन मन्त्रालयमा आफूसँग महत्वाकांक्षी योजना नरहेको समेत स्पष्ट पारे । ‘यो मन्त्रालय मेरा सहयोद्धा कमरेडहरुले नेतृत्व गरेको मन्त्रालय हो,’ उनले भने, ‘चुनावसम्मका लागि मन्त्रालयमा आएको मैले कुनै महत्वाकांक्षा राखेको छैन ।’ मन्त्रालयका राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment