Comments Add Comment

लुम्बिनीमा ओली समूहले गर्‍यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन

लुम्बिनी प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी पाएका लिला गिरी

१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो ।

सो समूहले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई चयन गरेको छ । पार्टी एकतापछि यहाँ प्रचण्ड–माधव पक्षकी ओनसरी घर्ती प्रदेश अध्यक्ष थिइन् ।

ओली पक्षको प्रदेश कमिटी बैठकले प्रदेशका १२ मध्ये रोल्पा र रुकुम पूर्वबाहेकका १० जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । जस अनुसार रुपन्देहीमा यसअघिकै शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाएका छन् । सहसंयोजकमा तेजेन्द्र केसी र सचिवमा अनुप बराललाई चयन गरिएको छ ।

बराल पूर्वमाओवादीमा रामबहादुर थापा (बादल) समूहका हुन् । उनी हालै मात्र प्रचण्ड पक्षका प्रदेश सांसद दधिराम न्यौपानेसँगै ओली पक्षमा लागेका हुन् । रुपन्देहीमा प्रचण्ड–माधव पक्षका निर्मल जीसी सचिव थिए ।

नवलपरासी पश्चिममा दिपेन्द्र अधिकारीलाई जिल्ला संयोजक तोकिएको छ । जिल्ला अध्यक्ष भविश्वर तिवारी प्रचण्ड–माधव समूहका हुन् । सचिवमा यसअघिकै तुल्सी पासी चयन भएका छन् ।

ओली समूहका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टीलाई सही ढंगले अघि बढाउँदै चुनावमा केन्द्रित हुन कमिटीहरु पुनर्गठन गर्नुपरेको बताए

कपिलवस्तुमा यसअघिकै झबिलाल पोखरेललाई संयोजक बनाइएको छ । उनी शुरुदेखि नै ओली पक्षका हुन् । सह–संयोजकमा डम्मर शर्मा र सचिवमा धर्म भुसाल चयन भएका छन् । यहाँ प्रचण्ड–माधव पक्षका रामचन्द्र शाह ठकुरी सचिव थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको संयोजकमा हुकुम बहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकी चयन भएका छन् । दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का, इञ्चार्ज जीवन गौतम, सचिव सुवास पुनसहित पदाधिकारीहरु प्रचण्ड–माधव पक्षमा छन् ।

बाँकेमा सूर्य ढकाललाई संयोजक, किस्मत कक्षपतीलाई सह–संयोजक र प्रमोद धिताललाई सचिव बनाइएको छ । यहाँ प्रदेश सांसद समेत रहेका जिल्ला अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइराला प्रचण्ड–माधव पक्षमा लागेका छन् ।

बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकालले सचिवको जिम्मेवारी पाएका छन् । बर्दियामा प्रचण्ड–माधव पक्षका भवनकुमार थारु अध्यक्ष छन् ।

प्युठानमा यसअघिका तुल्सीराम शर्मा नै संयोजक सहितका पदाधिकारी छन् । शर्मा शुरुमा वामदेव पक्षमा उभिएका थिए ।

गुल्मीमा यसअघिकै मधुकृष्ण पन्तलाई संयोजक बनाइएको छ । सह–संयोजकमा बालसिंह काउचा र सचिवमा धर्मबहादुर विक चुनिएका छन । गुल्मीको सचिवमा प्रचण्ड–माधव पक्षका बीरबहादुर कार्की थिए ।

अर्घाखाँचीमा प्रदेश सांसद रहेका ओली पक्षका यसअघिकै चेतनारायण आचार्य नै संयोजक बनेका छन् । सचिवमा प्रचण्ड माधव पक्षका ठाकुर विकलाई हटाएर तेजबहादुर रायमाझी चयन भएका छन् ।

पाल्पामा यसअघिकै नारायणप्रसाद आचार्यलाई संयोजक र ओमबहादुर घर्तीलाई सचिवको जिम्मेवारी दिइएको छ । पाल्पाको सचिवमा प्रचण्ड–माधव पक्षका राजेन्द्र विक थिए ।

रोल्पा र पूर्वी रुकुममा प्रचण्ड–माधव पक्षको बर्चश्व भएकाले यी जिल्लामा पुनर्गठन गरिएको छैन । रोल्पा र रुकुम पूर्वमा प्रचण्ड–माधव पक्षका क्रमशः सुरेन्द्र घर्ती र मेघबहादुर श्रेष्ठ अध्यक्ष छन् ।

ओली समूहका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट घेराबन्दी गरेर काम गर्न नदिएपछि संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय भएको र अब पार्टीलाई सही ढंगले अघि बढाउँदै चुनावमा केन्द्रित हुन कमिटीहरु पुनर्गठन गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment