
धौलेको लेकमा चरक्क चर्कियो घाम !
काभ्रेका बाहुन र सिन्धुका भोटेले मीत लाएपछि धौलेश्वर महादेव पुगाइको महत्त्वमाथि साथीहरू गफ जोत्न थाले । मलाई लेकाली सम्बन्ध र साइनोमा गुजुल्टिरहन मनले दिएन । वरपरका थुम्कामा परेली फाल्दै छातीमा कुइरो, बादल, वनजङ्गल र सेताम्मे छहराका गीत पनि पढ्न आतुर छु ।
मध्य दिउँसो छ ।
धौले लेकपछि अब उत्तर भएर पूर्व हान्नियौं हामी । चिप्लो गोरेटोमा बँदेलले खनेका माटोका चप्परीमा सुलुत्तिएका गोडा थामिन्छन् । नत्र त बुटा समात्दा निकै पटक काँडाको दर्फराइमा परिसकेका छौं । घना जङ्गल छ । सबैभन्दा अघि छन् लामा । अनि अन्त्यमा छन् खरेल । तिनका बीचमा छौं, हामी अरू ल्वाँगेहरू ।
‘कस्तो पट्टेर जङ्गल !’
राजिव खत्री फुसफुसाएको सुनियो ।
‘यस्तो जङ्गल नहुँदो हो त बाघभालुले सन्तान कसरी हुर्काउने नि !’
उत्तम भट्टराईले दिएको उत्तरले हाँसो छरियो ।
भर्खरै थामिएको बर्खे झरीले बाटो डरलाग्दो बनाएथ्यो । रातमाटेमा हरियो र चिप्लो लेउ । त्यसमाथि भनेसम्मको ओह्राली । निकै आच्छु–आच्छु पार्ने लहरापहराले घेरेको छ धौलेको जङ्गल ।
तेर्छोमा भेटियो टिम्मुर घारी ।
काँडैकाँडाले कोतरेर हातका औला रगतपच्छे भइरहँदा नि साथीहरूले टिम्मुर टिप्न छोडेनन् ।
सुरज खनाल, श्रीवत्स बस्न्यात र विदुर गिरीका हातमा झुप्पा–झुप्पा देखेँ मैले हरियै टिम्मुरका । भीरभीरमा उभिएर ती टिम्मुर टिपिरहेथे ।
यसो कुइनेटो जस्तो भित्तोमा पानीको फिँज र पाइला निहाल्दै लामाले भने— ‘चितुवाले भर्खरै तुक्र्याएर गए जस्तो छ !’
मन चिसो भयो भित्रैसम्म ।
मैले चारैतिर आँखा घुमाएँ । चिसिएको नशामा सबै साथीका पाखुरा, ज्यान र शक्तिलाई समेटेर बलियो बनाएँ झन्झन् ।
‘म केही गर्दिनँ । तिमेरू आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्छ यतिखेर चितुवाले । किनभने हाम्रै बथान ठूलो छ !’
बस्न्यातको बोली सुन्न हामी सबै पछाडितिर फर्किएर उभियौँ । अग्ला ज्यानका तिनी लम्रङ–लम्रङ ओर्हालीतिर झरिरहेथे ।
अलिक तेर्छो झरेपछि पूर्वतिरका रमाइला बस्ती हेरेर मुग्ध भयौं हामी । नीलो अकास र सेतो बादलको मोहक दृश्यमा मेरा आँखा भइरहेथे उदात्त । हरिया खेतबारी, परपर दगुरेको कुइरोको र घामको मीठो चहकमा हाम्रा पाइला डोर्रिइरहेथे एकनासले ।
‘हातमा भएको ओखती नि बोकेर हिँड्ने हो र ? फक्याइँ पो हाल्नु पर्छ त !’
गिरीले जोस्याएपछि रमाउन थाल्यौँ हामी टिम्मुरे स्वादमा । जङ्गली बोके टिम्मुर निकै कडा थियो । एउटा गेडो मुखमा हाल्दा नि किलकिलेदेखि र्याल सर्सराएर मुखभरि थुकले भरिन्थ्यो । बिचरा श्रीबत्सले एकै पटक चार–पाँच गेडा फँक्याएछन् र मरङमरङ चबाएछन् । उनी त सासै अड्किउँला जस्तो भएर ठिङ्गिए । बोल्नै नसकेर हाहाहुहु गर्न थाले । बिस्तारै ‘टिम्मुरे हमला’ कम भएपछि अनि इशारामा बोल्न थाले— ‘मलाई झन्नै लगो यसले !’
उनी झुप्पाको टिम्मुरलाई खाउँला जस्तो रिसले हेर्दे झोलातिर कोच्न थाले । ओखती पनि मात्रा नमिलाई खाए कन्तबिजोग हुन्छ नि !
उबडखाबड ओह्राली छ । पुड्का पोथ्रा र भरिला रूखपात ।
यसो मोडमा साथीहरू ठूलो बेलुन लिएर बसेका रै’छन् । अघिदेखि खत्री र भट्टराई खासखुस गरिरहेकै थिए । यतिखेर भेद खुल्यो । ती वाचाल र चटके भाइहरूले यो लेकाली जङ्गलमा मलाई बीचमा राखे । सबैलाई वरिपरि उभ्याए । अनि फुलाएर राखेको बेलुन मलाई दिँदै भने— ‘आज कन्डोम दिवसका साथ जनसङ्ख्या दिवस पनि हो । तपाईंले उद्घाटन गरिदिनु पर्यो !’
मैले फुकेको ढाल पड्काएँ । साथीहरूले ताली बजाए । अलग–अलग खालका आवाजमा वनै गुन्जियो । एकछिन हाँसो, खित्का र उल्लासले जङ्गल घन्कियो ।
तालामाराङ पुग्न थुप्रै छ ।
बिहानको झिसमिसेदेखि हिँडेका हिँडेकै छौँ हामी । पैतालादेखि टुप्पीका जरा–जरा गलेका छन्, भोकाएका छन् र तिर्खाएका छन् । थाकेका खुट्टालाई मैले जतिसुकै सम्झाए पनि ती मान्नेवाला छैनन् अब ।
अझ जुकाले पिँडुला र खुट्टाका काप चुसेर रगतपच्छे पारेका छन् । यसो रोकिएर हेर्यो— जुत्ताबाट पिलिल्ल मूल फुट्छ रगते भल । अनि चिलाएर हैरान !
मेरो खैरो मोजा नि रगतले गर्दा राताम्मे भएछ । श्रीवत्सको सेतो मोजा त टाटेपाङ्ग्रे भएछ जुके चुसाइले । तैपनि हाँस्न छोड्दैन्थे ती भाइ ।
तन्नेरी छन् सबै ।
चालीस कटेर गल्दै गरेको म मात्रै थिएँ हुँला । हड्डी मक्किने उमेरको मै मात्र थिएँ क्यारे । अरू त आगो निलेर कोइलै निकाल्ने बलियो तरूना थिए । आफू त आगो निल्ने भन्दा नि ताप्ने चैं परियो ।
लम्काइ, हिँडाइ वा दगुराइमा खास ध्यान दिइरहेको छैन । अरू कुद्छन् र बिसाउँछन् । म चैँ लम्किहाल्छु तर थेचिन्नँ ।
जङ्गलभरि तित्रा कराएको सुनिन्थ्यो । कोकले कुर्लिएको सुनिन्थ्यो । मयुर कराएको सुनिन्थ्यो ।
साथीहरू जङ्गली चराको स्वाद किलकिलेभरि लिएर बखान गरिरहेका थिए । तिनले भैँसीको सुकुटी खाएका थिए क्यारे ! त्यसैलाई मिसमास पारेर शरीरमा ऊर्जा निकालेको हुनु पर्छ ।
अलिक अघि ठूलो थकनीमा असी वर्षे उमेरकी एउटी तामाङ्नीले हाम्रै साथीहरूको एक डबका खाएपछि नाँच्न थाली । फेरि थपियो जाँड । नाँच पनि भइरह्यो पटक–पटक ।
‘तिमी कति वर्षका नि ?’
‘म त मात्र अठार वर्षको !’
मैले नि भन्दिएँ ।
ए, ऊ त ‘मसँग जान्छु’ भनेर अड्डी कस्न थाली । उसले भाका मिलाएर गीतै पो गाई—
‘सके लगिहाल मलाई
नसके म लान्छु तँलाई
हे . … … … … … !’
तामाङ भाषाको मीठो भाकामा तामाङ्नी राम्रैसँग नाँची । जाँड थप्ने, सुकुटी पोल्ने र खुर्सानी पड्काउने काम राम्रैसँग भएथ्यो । तर हामी तीनचार बाहुनचरी चैँ चाउचाउ फँक्याएर पेटको हावाहुन्डरी शान्त पार्न थाल्यौँ । म त बूढीको ‘चोखो पिरती’ को भारी थाम्नै ब्यस्त भएँ । भनेजस्तो भोजनतिर जुट्न सकिनँ ।
भुँडीलाई भनेँ पनि— ‘तँ चैँ दोस्रो नम्बरमा पर्छस् ! पहिलो अधिकार त मनकै हुन्छ नि…!’
साथीहरू तामाङ्नीको ‘हितैको माया’ लाई बेला–बेला सुनाउँथे । त्यो पिरतीको बाच्छिटाले मलाई लर्किन सघाएकै थियो बरू ।
बतासे पुग्नु अघि नै जिमी लामा छुट्टिए ।
उनलाई तालामाराङ लान सकिएन । खरेलले निकै जोडबल गरे नि उनले क्यै गरी मानेनन् ।
‘पल्लो गाउँमा घेवा गर्न पुग्नु छ । यी चार गाउँका लामा म नै हुँ !’
हामीसँग छुट्टिए उनी ।
अब ओह्रालो भेटियो एकोहोरो ।
बिहानभरिको झरीले पहिरिएका बाटा र कान्ला देखिन्थे जताततै । खोल्सामा भेल दगुरेर दबिएका घाँसपात बल्ल–बल्ल मुन्टो उठाएर कम्मर सोझ्याउँदै गरेका लाग्थे ।
बिसौना पुगियो ।
उत्तरतिर कालो बादल देखिन्थ्यो । पूर्वतिरका हरिया पहाडमाथि चाँदीजस्तो चमचमाएर बसेको बादलमा घामको नुहाइधुवाइमा अवाक् बन्थे आँखा । छाती दङ्दासिएर बस्थ्यो । ओठमा अनेक शब्दका भुल्का छुटुँ–छुटुँ हुन्थे । म पटक–पटक भनिरहेको हुन्थेँ— ‘वाह !’
पारिपट्टिका उर्लिने, गिद्रे, चित्रे गाउँले हामीलाई बोलाइरहेका थिए । हामी वारिपट्टिका खेत, पाखा र भित्ताबाट सङ्लो खोलाको उँभो–उँभो सजिएको सुन्दरतालाई पिइरहेका थियौँ स्वाट्ट–स्वाट्ट ।
ठूलो चौरमा पुगेर साथीहरू ठिङ्ग्रिए ।
‘अब फेरि एक राउण्ड जुका फालौँ !’
जुत्ताको तुना खोल्दै गरेका श्रीवत्स थिए । उनीसँग जाँघे लाएर लम्केका राजिवले पिँडुला र औँलाका कापबाट जुकालाई निकाल्दै पच्छारिइरहेका थिए ढुङ्गामा ।
उत्तमले ढुङ्गामा जुका थिचे ।
‘राम–राम !’
हामीले मोक्ष प्राप्तिको कामना गर्यौं ।
हाँसो भयो ।
टाउकोमा बादलको एक धर्को शितल कुदेर गयो । सेतो बादलको हामीसँग लम्किने तयारी पो हो कि— पूर्वतिर छरिँदै थियो ।
अलिक ओह्रालो आयो ।
अब मलाई राम्रै तिर्खा लाग्यो । मोटा तिघ्रा र पासुँला भएका खरेल र मेरो ताल मिल्न पुग्यो । उनी शरीरले नदिएर सुस्तरी हिँड्थे, मैले आफ्नो शैली नै त्यही बनाएको थिएँ ।
चाँडो पुगेर लड्नुभन्दा ढिलो हिँड्ने तर नबिसाउने ‘लुरूलुरू’ पारा छोड्दै छोडिनँ मैले ।
चुत्रो, ऐँसेलु टिप्न खोज्दा हात घाइते भएथे । अझ हात टेक्दा भएका ‘ठेस’ ले औँला भएथे अरर्रा । तिर्खाले प्याकप्याकी बनायो साह्रै ।
सुइरा भट्टराई, गिरी र खत्री कुदिहाल्थे गुडुडु । बमफसेल खरेल, खनाल र मेरो जोडी कसो–कसो एक भइहाल्थ्यो ।
ओह्रालो मज्जेको रै’छ ।
रातभरि र बिहानभरिको झरीले पलातपुलुत पखालेर ‘कोही आउँला र पछारूँला’ भनेर बसेका लाग्थे सबै ओह्राली ।
एक ठाउँमा मै पनि पुल्टुङबाजी खान पुगेँ । वल्लो डिलबाट सुलुलु चिप्लेर एकैपल्ट तीन कान्लामुनिको बन्सो समाउन पुगेँ ।
‘के भो, के भो ?’
‘घुँडो दर्फरायो !’
‘ए, खुस्केन । होइन त, राम्रो भो !’
आफ्नो पीडालाई तीनजनाले तीन खाले बोलीमा टुङ्गाए । तर चोट त मसँग एक्लै नबाँडिइकन बसिरह्यो अदबसाथ । म झन् बिस्तारै हिँड्न थालेँ ।
डाँडाटोल पुगेछौँ ।
यीँबाट हाम्रो हिँडाइ भएछ बेसुरो ।
अलिक जान्नेसुन्ने गिरीले पच्चीस वर्ष अघि आफू हिँडेको बाटो सम्झिँदै भनेथे— ‘मेरा आँखाले बिर्से नि खुट्टाले आफैँ डोहोर्याइहाल्छन् !’
गिरी चिप्लिएछन् यहीँनिर ।
पूर्वतिरको गोरेटोलाई उनका आँखाले बिर्सेछन् । हामी पर्यौं पछुवा । एकोहोरो ओह्राली झर्दै कलिलो रोपो सर्दै गरेका गरामा पुग्यौँ । मेरो घुँडो एक पटक फेरि ठोक्कियो । यतिखेर प्रश्न पनि थिएन, उत्तर त झन् शून्य !
पक्का भो, बाटो बिराइयो ।
पानीले छपक्क भरिएका गरा । राम्ररी हिलो नसुकेका चिप्ला आली । धर्मराई–धर्मराई हिँडिरहेका छौँ ।
एकैनासले उत्तरतिरको ओर्हालीमा लहरै झरिरहेछौँ । तलतिर तालामाराङ खोला आइरहेछ गडगडाएर ।
पश्चिमपट्टि डरलाग्दो खोँच छ । खोँच पारिको खोलो सुसाइरहेछ । पारिपट्टि मान्छे देखिन्छन् । साउनको भेलबर्खा । कामको चटारो देखिन्छ बेपत्तै ।
निकै बेर कुलैकुलो हिँडियो । एकै खुट्टो मात्र अडिने कुलोको डिलैडिल हिँडिरहेको छु । अघि निकै परबाट देखिएको भित्ते कुलोमा हिँडिरहेको लाग्दैछ । एक खुट्टोमा भर परेर हिँड्नु डरलाग्दो त हो नि !
तलपट्टि डरलाग्दो पहरो छ । कति ठाउँमा पानी रसाएका घाँसे प्वालमा खुट्टा जाकिन्छन् । लहराले जेलिएको कुलोमा पानीको चर्को वेग छ । निकै पटक मेरा खुट्टा चिप्लेर कुलोमै चब्लाङचुब्लुङ भए ।
कुलोमा हिँडिरहँदा नि पछाडि बस्नेहरू भन्थे— ‘ए, त्यता हैन, यता–यता !’
अघि–अघि हिँड्नेहरू भन्थे— ‘ठीक, ठीक यतै हो !’
म अल्लमल्ल पर्थें । कता लाग्ने ?
एकातिर कुलोमा हिँड्नै महाभारत ! त्यसमाथि यता र उता भनेपछि सातै जाने । यो रनभुल्लमा म दिक्कै भएँथे । फेरि घुँडो दुखेर अर्को भुक्तमान थपिएथ्यो ।
तिर्खा नि ?
भो कुरै नगरूँ । कुलोमै मुख जोतेर सबै पिऊँ झैँ भइसकेथ्यो । तर धमिलो पानीमा मुख जोत्नु पो कसरी ?
पारिको ग्याल्थुम– महाँकाल डाँडाले गिज्याइरहेथ्यो । तलको मेलम्ची खोलाले पनि मुख बङ्ग्याएर उल्लीबिल्ली पारिरहेथ्यो । तर हामीले तिनको खिसीट्युरीलाई परेला वरपर राखिरहन सकेनौँ ।
कुलो नाघेपछि हामी हिलाम्मे खेतमा भेला भयौँ ।
‘अब यसरी भएन !’
मैले गुनासो गरेँ ।
अगाडि पट्टिको चोसे कुनामा गोरू चराइरहेका तामाङ तन्नेरीसँग गिरीले सोधे— ‘भाइ, तालामाराङ जाने सोझो बाटो काँबाट होला ?’
उनले अगाडि पट्टिको टहरोतिर औँल्याएर भने— ‘खेत छिचोलेर भेटिने गोरेटोलाई समात्नु होला !’
नभन्दै भत्किसकेको टहरो घुमेर ओर्हालीमा भेटिएको गोरेटोमा पुग्यौँ । अघि हामीले यो गोरेटो भुलेर अन्तै हाम्फालेका रहेछौँ । त्यतिखेर हाम्रो दुःख देखेर यो बाटो एक्लै ओर्हालिएछ । हामी चैँ लड्दैपड्दै अन्तै गएछौँ । जीवन यस्तै भुल्दै–भेटिदै, हराउँदै–देखिदै गरिने एउटा महायात्रा त रहेछ नि !
हत्तेरिका ! बित्थामा घन्टौँ बितेछ । अप्ठ्यारो बाटो हिँडिएछ ।
हाते फोनमा गिरीका दाँवल पटक–पटक भन्थे— ‘वारि–वारि आउनु है !’
यो वारि–वारि भनेको नि दिउँसो बाह्र बजेदेखि नै हो जस्तो लाग्छ । तर त्यो वारि–वारि चैँ काँबाट हाम्रा खुट्टामा ठोक्किन्छ— पत्तो भइरहेको नै छैन ।
मलाई तिर्खाले बेपत्तै सतायो ।
खरेलले भने पनि— ‘आँसु भएदेखि आँसु नै खानु हुन्थ्यो !’
‘मूत खाए पनि हुन्छ !’
उनै बोले फेरि ।
तल खोलाको छङ्छङी थियो । संसारको तिर्खा मेटाउने त्यो खोला डरलाग्दो आवाजमा बगिरहेथ्यो । तर हामी दुई निरासिएर आँसु र पसिनामा पुगेर तिर्खाको प्याकप्याकीमा पुग्यौँ ।
अब सुरू भो डरलाग्दो ओह्राली ।
चिप्ला ढुङ्गामा उम्रिएका हरिया पोथ्रा । रूखका जराले सिङ्गै चट्टान च्यापेर अग्लिएका सुरिला बोटहरू । लेउघारी, पोथ्राको लहलह । हरिया डालीमा झरिझुट्ट झ्याम्म–झ्याम्म रूखहरू । हरेक ढुङ्गामा उम्रेका सानाठूला पोथ्रापोथ्री । लाग्छ, अघिल्लो जुनीमा रिनै खाएका रै’छन्— यी चट्टानले नि ! सप्लाएका उन्यु, निगुरोघारी ।
ओह्राली त मापाको रै’छ ।
यसो एक फन्को लायो— फेरि अर्को जब्बरे मोड झन् अप्ठ्यारो र ढुङ्गेनी रूपमा आँखाभरि पर्छ । म त पाइला सार्छु भन्छु मात्र गुडुल्किएर एकै पटक तीनचार बल्ड्याङ तल पुगिहाल्छ— सोहोरिएर ।
शरीरलाई थेग्ने बुता छैन मेरो । रोक्ने बल नि छैन मेरो । सुस्तरी घिसार्ने ऊर्जा नि रित्तियो मेरो ।
‘म त तिर्खैले मरे !’
माथिबाट आएको आवाज सुन्छु ।
कृष्ण आफ्नो बमफसेल र मोटो ज्यानबाट सानो र मर्लान्त स्वर निकालिरहेका छन् ।
उपाय सुनाउँछु ।
‘वनका पात, डाँठ चुस्नु न !’
‘हुन त हुन्थ्यो । तर चिनिएको छैन । भरे तिर्खा मेट्न चुसेको डाँठले परानै लियो भने नि !’
कुरा सुन्दै म तल झरिरहेछु ।
खुट्टाको जोर्नीले काम गर्ला जस्तो छैन । अरू साथीहरू कहाँ पुगे, थाहा छैन । दुई जना लबिधरेहरू चैँ खल्र्याङखुट्टी हुँदै तल खुर्मुरिइरहेका छौँ । मेरो दर्फराएको घुँडाले निकै निहुँ खोजिरा’को छ । उसलाई फुलाउन निकै हम्मे भा’छ मलाई त !
ठूलो चौतारोको बिसौना ।
म ज्यान छोडेर लम्पसारिएँ । तल खोलाको गडङ्गडङ् आवाज । पूर्व र पश्चिमपट्टिका पहाडी खोलाको छलछल स्वर । वनका रूखपात सुसाएको ध्वनि । चराहरूको मिसमासे बाली । यी सबैलाई सुनिरहेको मेरो छातीको एकै खाले धुकधुकी ।
हेर्दाहेर्दै नजिक देखियो तलको बगर ।
बगरमा बस्तु चराउनेहरू, स्याउलापात गर्ने आइमाईहरू र जाल हान्दै माझीहरूलाई हाम्रा आँखाले चिन्न थाले । मैले यी सबैलाई छातीभरि सिँगारेर भनेँ— ‘कति धेरै पाटोमा बाँडिएको छ जीवन !’
एक ठाउँ समथर चौतारोमा गिरी र बस्न्यात बसेका भेटिए । ती नाम मात्रको पानीलाई थोपामा बाँड्दै, खाँदै थिए । हामी पुग्दा तिनले त्यै पानी नि दिए । बाँडचुँड गरी खाएँ मैले ।
लगत्तै हुर्दुराइहाले ती त ।
अब ओठ भिजेका थिए । मुखमा केही शितलता थपिएको थियो । हर्हराइरहेको आँतलाई केही थामथुम पारिएको थियो ।
भयानक छ ओर्हाली ।
अझ हिजो र आज बिहानभरिको दर्के झरीले गर्नु गरेको थियो । सानातिना ढुङ्गालाई बगाएको थियो, बालुवा–माटोलाई हुत्याएको थियो । कतिपय पोथ्रापोथ्री उखेलिएका थिए ।
भल राम्रेसँग खसेछ । कति ढुङ्गा त गज्जबले पल्टिएर धोइ पखालिएछन् । हुन पनि यसरी झरी नरोकिने, भल नखस्ने हो भने र यदाकदा पानी नओइरिने हो भने प्रकृतिका सबै तहमा कसरी जल सभ्यताको मेलमिलाप हुने त ?
म घोत्लिरहेको थिएँ बेसुरमा ।
तल बगरबाट साथीहरूले कराउन थाले— ‘साँझ परिसक्यो । चाँडचाँडो तल झर्नु है !’
खोला कराएर, हावा सर्सराएर अनि खोल्सा चिच्याएर तलबाट आएको कुरो राम्ररी सुनिएको थिएन । हामी दुबैले कान थापी–थापी अथ्र्यायौँ । अनि केही पाइला बढायौँ । पाइला त बढ्ने भन्दा नि घटेकै पो छन् बेस्सरी ।
एक ठाउँमा त ओर्हाली ठाडै पो !
म आर्लिनै सकिनँ । अनि हाँगा भाँचेर टेक्दै–टेक्दै झरेँ । निकै मुस्किल भो । आएपछि भाग्नु कसरी । फेरि खुट्टालाई त उकालीबाट भगाउने कुरा भएन । ओर्हालीसँग जुझ्न नि सिकाउनै पर्यो ।
अलिक समथरमा पुगिएछ ।
वनमारा र लाजबन्तीका पोथ्रा चम्किएर हुनसम्म अग्लिएका थिए । लाजवन्तीको पोथ्रो त अकासै छुँला झैं भएको देख्दा— लाग्थ्यो, खान पाउँदा झारपात नि मज्जैले सप्लाउँदो रहेछ । अझ ती त गुलाफी रङमा मस्तले फुलेका पनि थिए । लोभलाग्दा, रसिला र तिरमिरे लाजवन्तीका फूल !
फेरि थकाइ मारियो ।
थसुल्ले भुँडी र थलथले तिघ्राका धनी खरेलजी । मै नि उनकै रूपरङ्गको । अब राम्रैसँग भयो दाँवल । अनि उही चाल, उही स्वर । उही शैली, उही ढर्रा ।
फेरि टुप्लकियो चोतारो ।
‘नबसी जाने हो भने सराप पाइन्छ !’
‘कोबाट ? चौतारोबाट कि आफ्नै ज्यानबाट ?’
‘चौतारोबाट !’
‘ज्यानबाट होला !’
मैले थकाउनै सकिनँ मित्रलाई ।
‘यी सारा सिर्जना र रचना मानिसकै सुख, समृद्धि र प्रगतिका निम्ति निर्माण गरिएका हुन् । नत्र त जङ्गली युगको ओडारमै थन्केर बसे भई गो नि !’
खरेलसँग मेरो क्यै फुइँ चलेन ।
हामी तल धानखेतका गरामा आइसकेका छौँ । लहलह हरियो रोपोले स्वागत गरेको छ हामीलाई । चिसो पानी र खेतमा हरियालीको लहर । बर्खा यसैको हिसाबले मूल्यवान् होला, है !
घन्टौँदेखि ताकेको ठाउँ बिस्तारै नजिकियो । आली–आली एकोहोरो हिँडियो । यतिखेर नि जुकाले टोकेको लाग्दैछ । तर घुँडा दुखेको थकाइले त्यसलाई जितिसकेछ । अनि ओह्राली र धानबारीका आलीलाई साथी बनाएर बतासे बगर पुगियो ।
बाटामा बिहानदेखि हाम्रो खोजीनितीमा बसेका मत बहादुर गिरी भेटिए । उनले स्नेहपूर्वक हात जोडे ।
बगरमा छन् पाँचसात घर । हामीलाई सरासर लगियो एउटा घरमा । धन बहादुर तामाङ विदुरका दाँवल रहेछन् स्कुले बेलाका । उनले सातु, चियाले सत्कार गरे । निबुवा काटेर खुवाए, नुन चटाए, मकै भुटेर खुवाए ।
हामीले निकै आराम पायौँ ।
परै थियो पुग्नु ।
अँध्यारो आइरहेथ्यो लखेटिएर । उसले अब हामीलाई लखेट्न थाल्यो ।
अनि थकाइलाई पछि थान्को लाउने भन्दै तामाङसँग बिदावारी भएर साथीहरू खुड्किलो तल झरे । तालामाराङ पुग्न निकै बाँकी थियो । अझ साँझ वरवर आइरहेको थियो । अकासमा हलुका गड्याङगुडुङ थियो ।
एकोहोरो तेर्पे र तेर्छो हिँडेपछि ढुङ्गाना बेसी पुगियो । तरेली खेतको सुन्दरता थियो बिछट्टै ।
बतासे खोलामा भेलबाढीले तुजुग देखाएको लाग्थ्यो ।
बाटाभरि आइमाईहरू बच्चा डोहोर्याउँदै बस्तुभाउ धपाइरहेका भेटिन्थे । घाँसका भारी थाप्लामा बोकेर लर्किरहेका देखिन्थे । बडेबडे बोरामा धान कुटाएर फर्किरहेका झुल्किन्थे ।
‘नेपालमा जहाँ पनि नारी नै पिल्सिरहेका !’
हुलुक्क भो छातीमा ।
उकालीमा चम्केर लम्किने मेरा गोडा ओह्रालीमा थरर्र हुन्छन् । अहिले त्यै भइरा’छ । धेरै त तेर्पे नै भए नि बेलाबखत भेटिने पातलो ओह्रालीमा घुँडा दोब्रिन हम्मे–हम्मे पर्थे । आँसु नै आउँला झैँ गरी पिल्लिएर दुख्थे घुँडा । म नबोली–नबोली पाइला सारिरा’थेँ ।
घरहरू बाक्लिए । साँझका बत्तीहरू बले । तालामाराङ खोलाको तीरैतीर हामी पूर्वतिर लागिरह्यौं… लागिरह्यौं । अकासमा बादलको फुइँ भुइँतिर देखिएला–देखिएला झैं भइरहन्थ्यो ।
झमक्क साँझ परेपछि पुगियो तालामाराङ ।
मत बहादुरले रातको बसोबास मिलाएछन् अर्यालको आँगनीमा । गाँस र ओछ्यानको परिबन्द मिलेपछि अब भने ढुक्कै भइयो ।
मैले तालामाराङलाई माथिबाटै खराखरी हेरेँ ।
मेलम्ची र तालामाराङ खोलाको दोभानमा बसेको सिन्धुपाल्चोकको यो सानो पहाडी बस्ती । वरिपरि थुम्कैथुम्का ।
घरहरू छरिएर बसेका । गरागरामा घरका धुरी । हरिया धानका गाँज थिए तरेली खेतमा ।
दुवाचौर, ग्याल्थुम, महाँकाल, पाल्चोक डाँडाको रेखदेखमा बसेको रहेछ तालामाराङ । वरिपरि हरिया थुम्कैथुम्का थिए ।
पहाडमा वन र घरको अनि आँगनको सुन्दरता अत्यन्तै मिलेको हुन्छ । अझ रातमा बल्ने बत्तीको पिलपिलले पहाडको चमकमा अरू जोवन भरिदिन्छ । यिनै उन्मत्तले पुलकित थियो तालामाराङ ।
अझ मोहक थियो— दुई खोलाको अटुट छङछङ, कलकल र खलबल । सेता छालले बस्ती छेउका किनारसम्म सुशोभित थिए । हरियोमा मिसिएको पहाडी सुन्दरता ।
तालामाराङलाई मैले पढ्नु छ भोलि दिनभरि !
प्रतिक्रिया 4