Comments Add Comment

‘बीबीआआईएन मोटर भेहिकल्स सम्झौता’ कार्यान्वयन गर्न व्यवसायीको माग

१७ माघ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) बीच भएको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्जमा शनिबार इकोनोमिक रिपोटर्स एसोसियसन नेपालले आयोजना गरेको समीक्षा भेला एवम् सम्मान कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् ।

सम्झौता कार्यान्वयन भए नेपाली उद्योगी, व्यवसायी र आयातकर्ताहरुले तेस्रो मुलुकको व्यापारका लागि बंगलादेशका बन्दरगाहहरु पनि प्रयोगमा ल्याउन सक्ने उनीहरुको भनाइ छ । दक्षिण एसियाका यी चार मुलुकबीच १५ जुन २०१५ मा मोटर भेहिकल्स सम्झौता (एमभीए) भएको थियो ।

नोभेम्बर २०१४ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएको थियो । सम्मेलनमा भारतले सार्क मोटर सवारी सम्झौता प्रस्ताव गरेको थियो । त्यसमा पाकिस्तानले आपत्ति जनाएपछि सम्झौता हुन सकेन । त्यसपछि भारतले बीबीआईएनसँग मोटर सवारी सम्झौताको प्रस्ताव राख्यो ।

भुटानको राजधानीमा भएको बीबीआईएन यातायात मन्त्रीहरूको बैठकमा सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार सदस्य राष्ट्रहरूमा सार्वजनिक वा व्यक्तिगत सवारी साधन, कार्गो एक अर्काको ईलाकामा सवारी साधनहरू चलाउन अनुमति दिनेछ ।

प्रत्येक सवारी साधनलाई अर्को देशको भूभागमा प्रवेश गर्न इलेक्ट्रोनिक अनुमति आवश्यक पर्दछ ।  कार्गो गाडीहरू इलेक्ट्रोनिक रूपमा ट्रयाक गरिन्छ, अनुमति अनलाइन जारी गरिन्छ र सबै ल्यान्ड पोर्टहरूमा इलेक्ट्रोनिक रूपमा पठाइन्छ । सवारी साधनहरू एक इलेक्ट्रोनिक छाप लगाईन्छ जुन कन्टेनर ढोका खोल्ने बित्तिकै नियामकहरूलाई सचेत गर्दछ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका पूर्वअध्यक्ष अशोककुमार टेमानीले सम्झौता कार्यान्वयनमा आउँदा बंगलादेशको पोर्टहरु नेपाली आयातकर्ताहरुले प्रयोग गर्न सक्ने बताउँछन् ।

‘बीबीआईएनको सवाल राम्रो छ, मोटर भेहिकल्स एग्रिमेन्ट राम्रो छ । हामीले बंगलादेशको बोर्डर र पोर्टहरु प्रयोग गर्न सक्थ्यौं,’ उनले भने ‘कुनैबेला चामल आयात गर्ने बंगलादेश अहिले तीन बाली चामल उत्पादन गरिरहेको छ । दक्षिण एशीयाली मुलुकमा मोडल देशको रुपमा अघि बढिरहेको छ ।’

बंगलादेश, नेपाल र भारतले सम्झौता कार्यान्वयन गर्न चाहिरहेको भएपनि भुटानले नमानेको जानकारी आफूले पाएको उनी बताउँछन् ।

नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् उद्योगी अशोक बैद्यले बीबीआईएन मुलुकका गाडी र सडकको मापदण्ड एकैनासको नहुँदा मोटर भेहिकल्स सम्झौता कार्यान्वयनमा समस्या देखिएको बताए । उनले सडकको गुणस्तर एउटै हुनुपर्नेमा जोड दिए । यातायात व्यवसायीहरुले भने सम्झौता नेपालको हितमा नभएको टिप्पणी गर्दै आएका छन् । सम्झौता कार्यान्वयनमा आउँदा भारतीय व्यवसायी हावी हुने र नेपालका यातायात व्यवसायीहरु धराशायी हुने उनीहरुको तर्क छ ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सुवोध गुप्ताले राजनीतिक संक्रमणको अन्त्य नभएसम्म मुलुकको विकासले गति लिन नसक्ने बताए । उनले नेपाली व्यवसायी सक्षम नभएको क्षेत्रमा मात्रै विदेशी लगानी भित्र्याउनु उचित हुने बताए ।

‘सरकारले कृषिमा समेत विदेशी लगानी भित्र्याउने भनिरहेको छ, मत्स्यपालन, तेलहन, दलहन बालीको उत्पादनका लागि हैन, हामी सक्षम नभएको क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ,’ उनले भने ‘ठूला हाईड्रोपावर, खानी उत्खननमा लगानी उपयुक्त हुन्छ ।’

अन्य मुलुकले आफ्नो देशका व्यवसायीलाई बचाउनका लागि २ सय प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी लगाउने गरेको बताउँदै उनले नेपाल सरकारले कच्चा पदार्थ र तयारी मालमा १५ प्रतिशत ड्युटी फरक गरिदिन आग्रह गर्दा समेत नसुनेको बताए ।

एसोसियसनले नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, खोज पत्रकारिता केन्द्रका अध्यक्ष पत्रकार चन्द ्रकिशोर, जिल्लाको नेतृत्वमा रहेकै समयमा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा निर्वाचित हुन सफल वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र बरिष्ठ उपाध्यक्ष सुवोध गुप्तालाई सम्मान गरेको थियो ।

नागरिक दैनिकका पत्रकार रितेश त्रिपाठीको संयोजकत्वमा तीन वर्ष अघि गठित एसोसियसनले आर्थिक अभियान दैनिकका पत्रकार ओम प्रकाश खनाललाई नयाँ संयोजकका जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment