Comments Add Comment

रियल मड्रिड घरेलु मैदानमै लेभान्टेसँग पराजित, एट्लेटिकोलाई फाइदा

१८ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । खेलको नवौं मिनेटमै दश खेलाडीमा समेटिएको रियल  घरेलु मैदानमै २-१ ले पराजित भएको हो ।

एक खेलाडि कम हुनका बाबजुद पनि रियलले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । लेभान्टेले भने पुनरागमन गर्दै जित हात पार्‍यो ।

नवौं मिनेटमा रियलका एडर मिलिटाओ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर १३औं मिनेटमा मार्को असेस्नियोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा जोस लुइस मोरालेसले लेभान्टेका लागि बराबरी गोल फर्काए ।

६४औं मिनेटमा लेभान्टेले अग्रता बनाउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । रोजरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्तवाले बचाए ।

तर उनै रोजरले ७८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा लेभान्टेले ३ अंक जोड्यो । जितपछि २० खेलबाट २६ अंक जोड्दै लेभान्टे नवौं स्थानमा उक्लेको छ ।

उता रियल पराजित हुँदा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी कम पार्ने अवसर गुमायो । यसले लिग लिडर एट्लेटिकोलाई फाइदा पुगेको छ । एट्लेटिकोले अहिले ७ अंकको अग्रता बनाइरहको छ र अझै रियलभन्दा २ खेल कम खेलेको छ । १८ खेलबाट एट्लेटिकोको ४७ अंक छ भने २० खेल खेलिसकेको रियलको ४० अंक छ ।

१९ खेल खेलेको बार्सिलोना ३७ अंकसहित चौथो स्थानमा छ र आज राति एथ्लेटिक बिल्वाओलाई पराजित गरे रियलसँग अंक बराबरी गर्ने अवसर छ ।

उता आइबरलाई २-० ले पराजित गर्दै सेभिया तेस्रो स्थानमा उक्लेको छ । २० खेलबाट सेभियाको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment