Comments Add Comment
अर्जुन पराजुलीसँग राजनीतिक वार्ता :

‘ओलीको कदमलाई थाल, रिकापी र चम्चाहरुले ठीक भनेका छन्’

‘श्रीमान श्रीमतीबीच झगडा भयो भने संसद विघटन गरिदिने ?’

जंगबहादुर हुनुहुँदोरहेछ तपाईं,

जुँगा उखेल्नु भो हजुरले जुगको

थुकौं भने पनि तपाईंलाई

अपमान हुने भो मेरो थुकको

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको दिन ०७७ पुस ५ गते कवि अर्जुन पराजुली फेसबुकको भित्तामा गर्जिए ।

पराजुली, ०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै चर्चा कमाए । त्यसो त उनले कविता कोर्न छोडेका भने होइनन् । निरन्तर लेख्छन् ।

हस्तलिखित कवितालाई फेसबुकको भित्तामा पोष्टिन्छन् । अनि मेलोमेसो मिलेको बेलामा सुनाउँछन् । पैसालाई जतन गरेर राखेजसरी उनले कवितालाई खाममा राखेका छन् । अनि खल्तीबाट पैसा निकालेर कसैलाई दिने बेलामा गनेजस्तै गरी कविता भन्न थाल्छन् । छोटा मिठा कविता अनि दमदार शब्द । उनको लेखन र वाचन शैली आफ्नै छ ।

कविताका पनि सिरिज निकाल्दैछन् । प्रधानमन्त्रीको कदमले उनलाई कविता कोर्न उत्प्रेरित गरिरहेको छ । ०६२/६३ सालमा सत्र साल भाग–२ लेखेका उनले यसपाली सत्र साल भाग–३ ल्याएका छन् । संसद विघटनको भोलिपल्ट–

चुनाव त अब ७८ सालमा हुन्छ महोदय

गन्नोस् कति वर्ष बाँकी छ, हिजोमात्रै १७ साल आयो

पराजुली निरन्तर कविता पस्किरहेका छन् । पाठकले भरपुर लाइक र शेयर गरिरहेका छन् । व्यंग्य मिश्रित चोटिला कविता पढ्ने पाठक प्रतिक्रिया विहीन रहन पनि सक्दैन ।

लंगौटी लगायौं हामीले तिम्रो संविधान

अब लुगा लगाउनुपर्छ भन्ने कर छैन

पेशा राम्रो प्रतिगमन हो

अरु पेशाको कुनै भर छैन ।

०००

हाम्रा हातले ठोकिदियौं

तिम्रा सन्तानको निधारमा ढलान किला

अब हाम्रो मतपत्रमा

तिम्रा हातले स्वस्तिक छाप ठोक

उनले आफ्नो कविता मार्फत न्यायालयलाई समेत प्रहार गरेका छन् ।

मिलेमतोसँग इन्साफ माग्दा

इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ

अर्को कविता यस्तो छ–

कात्रोमा खल्ती हालेर मात्रै पुगेन छ भन्ने कुरो

जुँगा कालो भएकै दिनमै चाल पाएको हो

ख्याल ख्यालमा खाएको होइन बाख्राले बाघ

दाँतको सेटिङ पहिल्यै मिलाएर खाएको हो ।

०००

प्रतिगमनको जब आगमन हुन्छ

सुरुमा लिखत गायब हुन्छ

बीचमा मिसिल गायब हुन्छ

अन्तिममा अदालत गायब हुन्छ

विज्ञान र प्रविधिको युग, इन्टरनेटको पहुँच भएका ठाउँमा सामाजिक सञ्जालले मान्छेलाई अल्झाइरहेको छ । फेसबुक, ट्वीटर चलाउने मानिसहरु लामो कुरा पढ्न/हेर्न मन पराउँदैनन् । कवि पराजुलीले जनभावनाको कदर गरेकै देखिन्छ ।

नयाँ वर्षका दिन समेत उनलाई देशको परिस्थितिले पिरोल्यो । उनले निलो धर्सा भएको सेतो कापीको पानामा दुई लाइन शब्द कोरे ।

दूध दुहुनु भनेर पठाउँछु म नयाँ वर्षलाई

सँधै उ बाल्टिनभरि मदिरा लिएर आउँछ ।

संसद विघटनपछि निरन्तर उनका फेसबुकका भित्तामा आक्रोश, पीडाले भरिएका व्यंगात्मक कविताले स्थान पाएका छन् । सबै चोटिला, पढुँ पढुँ लाग्ने खालका ।

उसले तिम्रो घरमा आगो लगायो

तिमीले ताली लगायौ

उसले तिम्रो सहरमा आगो लगायो

तिमीले ताली लगायौ

भोलि उसले

तिमीलाई नै आगो लगाउँछ

त्यतिबेला लगाउनका लागि तिमीसँग

ताली हुँदैन, केवल खरानी हुन्छ

कतिपय उनका कविता निकै चर्चित पनि भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो सन्तान नभएपनि ‘बा’ भन्नेहरु धेरै छन् । उनको पछि लाग्नेहरुलाई पराजुलीले यसरी शब्द बाण प्रहार गरेका छन् ।

प्रतिगमनका छोराछोरीले

प्रतिगमनलाई प्रतिगमन भन्दैनन्

‘बा’ भन्छन् ।

०००

प्रतिगमन भनेको

एम्बुलेन्स होइन महोदय

शव वाहन हो

शव वाहनमा चढेपछि

अस्पताल पुगिँदैन

आर्यघाट पुगिन्छ ।

झुस्स दारी पालेका कवि पराजुली माघ १७ गते वीरगञ्जमा झुल्किए । चिसो शीतलहरसँग पौंठेजोरी खेल्न आइपुगेका उनी मानव अधिकार तथा शान्ति समाज, पर्साको साधरण सभामा सहभागी हुन आएका थिए । साधारण सभाको उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक अध्यक्ष एवं नागरिक अगुवा कृष्ण पहाडीसँगै उनी आएका रहेछन् । कार्यक्रममा उनले कविता पनि सुनाए ।

त्यसपछि उनी आयोजकले बसोबासका लागि बन्दोबस्त गरिदिएको होटल मकालुतिर गए । प्रधानमन्त्रीको कदमलाई प्रतिगामी कदम भनिरहेका उनीसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले कुराकानी गरेका छन् ।

नागरिक आन्दोलनले प्रधानमन्त्रीले गरेको त्रुटि सच्याउन सक्छ त ?

नागरिक नै सर्वेसर्वा हुन देशमा, सच्याउने मात्रै हैन फालि नै दिन्छन् नागरिकले । ०६२/६३ को आन्दोलन पनि नागरिकले गरेका हुन्, राजतन्त्र, राणाशासन र पञ्चायतलाई नागरिकले नै फालेका हुन् । प्रतिगमनको नयाँ रुपलाई नागरिकले फाल्न नसक्ने भन्ने कुरै हुँदैन ।

जसले संसद विघटन गरेका छन, उनी त प्रतिगमन भनेको के हो ? भनेर सोध्दैछन ।

प्रतिगमन भनेको देशको संविधानलाई नमान्ने, आफ्नो देशलाई द्वन्द्वतिर धकेल्ने काम भईरहेको छ । संविधानलाई नमानेर आफ्नै संविधान बनाएर जुन काम गरिएको छ त्यहि हो प्रतिगमन । जनताले बनाएको संविधान च्यात्ने काम भएको छ । आफ्नो घरमा झगडा भयो भनेर हामी जनताको घरमा आगो लगाएको छ त्यहि हो प्रतिगमन ।

तर, दुई तिहाइको प्रधानमन्त्रीले संसद विघटन गर्न किन नपाउने भनिरहेका छन त ?

संसद विघटन गर्न दिएको हो र जनताले भोट ? सरकार बनाउन र सरकार चलाउन भोट दिएको हो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छ ? सरकार संविधानअनुसार चल्नुपर्छ । सरकारले संविधान चलाउने हैन, संविधानअनुसार सरकार चल्नुपर्छ

तर, संविधानअनुसार नै संसद विघटन गरेको हो भनेर अन्र्तराष्ट्रिय मूल्य मान्यताको दलिल समेत पेश गरिएको छ नि ?

अन्र्तराष्ट्रिय मूल्य मान्यताको दलिल पेश गर्नुभएको छ भने उतै जानुपर्‍यो नि, नेपालमा बस्नु भएन । जुन देशको कानुनको बारेमा चर्चा गर्नुपर्छ, त्यहीँ जानुपर्छ । हाम्रो संविधानमा त प्रधानमन्त्रीले संसद विघटन गर्ने पाउने अधिकार छैन । गर्ने कुरामा पनि निश्चित स्टेप पुरा गर्नुपर्छ । सामान्य अक्षर चिन्ने बच्चाले पनि संविधान पढ्यो भने स्पष्टरुपमा थाहा पाउँछ । प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भनेर कतै लेखेको छैन ।

संसद पुनर्स्थापना गर्ने कुरा संविधानमा कहाँ उल्लेख छ ? भनेर प्रधानमन्त्रीले सोध्नुभएको छ नि ?

ए जनतालाई सोध्ने ? प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर कहाँ लेखेको छ ? राणाशासन फाल्नु भनेर कहाँ लेखेको थियो ? पञ्चायत व्यवस्था, राजतन्त्र फाल्नु भनेर कहाँ लेखेको थियो ? कुन संविधानमा थियो ? जनता देशको सर्वेसर्वा, यो देशका लालपूर्जा जनताको हातमा छ । जनताले चाहे त्यो गर्न सक्छ ।

प्रधानमन्त्रीले जनताको नासो जनतामै फिर्ता दिएको भन्नुहुन्छ ? चुनावमा जानु कसरी गलत ?

कुतर्क त जे गर्न पनि पाइन्छ, यो तर्क हैन कुतर्क हो । त्यसो भए के अब त्यो चुनाव हुन्छ, अनि भोलिपल्ट फेरि चुनावमा जान्छु भनेर मनपरी गरिरहने ? एक महिना दुई महिनामा लहड चल्यो रे, श्रीमान–श्रीमतीवीच झगडा भयो, दाजुभाइबीच झगडा भयो, उनीहरुसँग रीस उठ्यो भनेर प्रतिनिधि सभा विघटन गरिदिने । जनताले पाँच वर्षका लागि चुनेर पठाएको हो ।

सरकार बनाउन, सरकारले देशको विकास गरोस, उन्नति होस् प्रगति होस् देशको भनेर दिएको हो । दिनका दिन चुनाव गर्न के जाँड खान मन लागेपछि भट्टीमा गएजस्तो हो संसद विघटन भनेको ? जे मन लाग्यो त्यही गर्ने एक जनाले ? तीन करोड नेपालीको घरमा आगो लगाइदिने ? जनताले बनाएको संविधान च्यातिदिने ? जनताले बनाएको लालपूर्जामा आफू खुशी घर बनाइदिने, आफ्नो नाममा गरिदिने ?

कार्यकारी प्रधानमन्त्रीलाई चारैतिरबाट घेराबन्दी भयो, काम गर्न पाइएन भनेर संसद विघटन गरेको रे त ?

घेराबन्दी कसले गर्‍यो ? जनताले पठाएको हैन । कहाँ गर्‍यो घेराबन्दी ? घेराबन्दी भएको भए छोड्नुपर्‍यो नी त । अरुले चलाउँछन्, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न पाईन्छ ? ज्ञानेन्द्रले पनि जनताका लागि गरेको भन्नुभएकै हो । सबैभन्दा ठूलो कुरा संविधानमा नभएको अधिकार प्रयोग गरेको हो कि हैन ? हामीलाई देखाईदेउ न कहाँनिर छ ? दुई तिहाईको प्रधानमन्त्रीले प्रतिनीधि सभा भंग गर्न पाउँछ भनेर ? संसद मात्रै हैन, अदालत भंग गरिदिए भो । अरु सबै संस्था र देशै भंग गरिदिए भैगो नि विशेष अधिकार हुनेहरुले ।

गणतन्त्र र संघस्यता नै खतरामा परेको हो ?

सयौं वर्ष अघिदेखि जनताले रगत र पसिना बगाएर ल्यएको संविधान नै नमानेपछि के गर्न खोजेको भनेर सोधिरहन आवश्यक छ र ?

कतिपय मानिसले प्रधानमन्त्रीको कदमलाई स्वागत गरेका छन् । उनको पक्षमा पनि सडकमा निस्किएका छन् ।

सर्वसाधरण नबुझेको जनताको कुरा म गर्दिन, कुनैपनि विवेक भएको मान्छे, अलिकति बुझेको मान्छे कसैलेले सही कदम भनेका छैनन् । पत्रकार, वकिल, प्रोफेसर, डाक्टर, ईन्जिनियर, कवि साहित्यकार वा लेखकले भनेका छन् र ? केवल यो कदम ठीक भनेर थाल, रिकापी र चम्चाहरुले भनेका छन् ।

राजनीतिक संकट समाधानको उपाय के हो ?

प्रतिगमनलाई फालिदिने, प्रतिगमनलाई सच्याउने । पहिलेकै अवस्थामा पुर्‍याउने । उसको घरमा झगडा भयो भनेर प्रतिगमनले हाम्रो घरमा आगो लगायो । हामी ताली बजाएर बस्ने हो कि पानी हालेर आगो निभाउने ?

पानी हाल्ने भनेको आन्दोलन गर्ने हो ?

हामी सबै जनता जागरुक हुने आन्दोलन गर्ने, यस्तो गर्न नदिने ।

आन्दोलनले त आगो नै बाल्छ होला नि हैन ?

यो अहिलेको मात्रै कुरा हैन नि, नजिर नै बस्छ । मान्छे मर्‍यो भन्ने होइन, काल पल्कियो भन्ने चिन्ता हो । एकचोटि मात्रै हैन नि । अर्को आउँछ आफूलाई मन नलाग्ने बित्तिकै, स्वास्नीसँग झगडा हुनेबित्तिकै, दाजुभाइसँग झगडा हुने बित्तिकै संसद विघटन गरिदिन्छ । राति सुत्छ, बिहान उठ्ने बित्तिकै सनक चढ्छ, संसद विघटन गरिदिन्छ । आगो बल्यो भने त्यसको जिम्मा प्रतिगमनले लिनुपर्छ । देशमा जुनखालको भाँडभैलो हुन्छ, नचाहिने कुरा हुनेछ, त्यो भयो भने उसैले लिनुपर्छ ।

त्यसो हुन नदिन के गर्ने ?

बिग्रिन नदिनका लागि हामी सचेत हुनुपर्छ, यसलाई बचाउनका लागि हामी प्रतिगमनको विरुद्धमा एक जुट हुनुपर्छ । ज्ञानेन्द्रको शासन फालेसँगै प्रतिगमन ल्याउनेलाई फाल्नुपर्छ ।

तपाईं जसलाई प्रतिगमन भनिरहनुभएको छ, त्यो विषयको टुंगो लगाउन सर्वोच्च अदालतमा लामो वहस भइरहेको छ नी ? जनताले कहिलेसम्म पर्खने ?

कुर्ने कुरै छैन, हामी त आन्दोलनमा हिँडिसकेको छौं । उहाँहरुले सच्याउनुहुन्छ भने राम्रो, हैन भने जनताले सच्याइदिन्छ ।

सच्चिहाले पनि प्रधानमन्त्री हुने अनुहार त पुरानै त आउँछ नि ?

समय भएपछि चुनाव आउँछ, चुनावमा राम्रो मान्छेलाई पठाउनुस् । उनीहरुलाई हराउनुस् । खेल खेल्ने भनेको रिङभित्र हो, रिङ बाहिर हैन । संविधानको अधिकारभित्र रहेर काम गर्दा हामीलाई कुनै आपत्ति छैन । हामीले यो व्यक्तिलाई फालेर त्यो व्यक्तिलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन आन्दोलन गरेको हैन ।

अहिलेको आन्दोलनलाई त्यसकै लागि हो भन्छ मान्छेहरु ?

भन्नेहरुले जे पनि भन्छन् नि । प्रतिगमनलाई अग्रगमन पनि भन्ने छन् । त्यो त केही समयपछि नै प्रमाणित हुन्छ नि त ।

त्यो समय कहिले हो ?

यही चुनाव गर्छु भनेको छ नि । चुनाव हुन्छ भनेर र्‍याल चुहाएर मानिसहरु बसिरहेका छन् । दुई महिनामा थाहा भइहाल्छ । यो चुनाव गर्नका लागि घोषणा गरेको हो र ?

तोकिएकै समयमा चुनााव हुन्छ भनेर प्रधानमन्त्रीले बोलिरहनुभएको छ त ?

हुन्छ हुन्छ, म पनि भन्छु । चुनाव ०७८ सालमा हुन्छ । अहिले भर्खर ०१७ साल आयो । ०१७ साल प्रतिगमनको पहिलो भाग । ०५९ सालको दोस्रो भाग हो । र, यो तेस्रो भाग ।

प्रतिगमन सच्चिएन भने त तपाईंहरुको आन्दोलन अघि बढ्ला, सच्चिहाल्यो भने पनि उही राजनीतिक दल र नेता आउने हुन् । त्यसपछि के हुन्छ ?

हैन । घर थोत्रो भयो भनेर घडेरी नै काम नलाग्ने भन्न मिल्दैन, घर थोत्रो भयो भने त्यसलाई भत्काउने र अर्को बनाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment