Comments Add Comment

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु   

१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ । सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment