Comments Add Comment

चौदण्डीगढीको पोष्टमा एपीएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

२० माघ,काठमाडौं । विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० ले पराजित गरेको छ । सावित्रा भण्डारी एक्लैले १२ गोल गरेपछि एपीएफले फराकिलो जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।

यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुले एक एक गोल गरिन् ।

एपीएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । यस लिगमा यो अहिलेसम्मको सर्वाधिक गोल र फराकिलो जित अन्तर भएको खेल हो ।

डबल राउण्ड रोविन लिगमा सिंगल लिगका ६ वटै खेल खेलिसकेको लिग लिडर एपीएफले लगातार ६ खेल जित जित्दै १८ अंक जोडेको छ ।

उता चौदण्डीगढीको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै पुछारमा छ ।

लिग अन्तर्गत सोमबारै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मोरङको विराटनगर महानगरपालिकालाई ७-० ले पराजित गरेको छ ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई, रश्मी घिसिङ र विमला बिकले एक-एक गोल गरिन् ।

विराटनगरविरुद्ध आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।

जितपछि ५ खेलबाट १० अंक जोड्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट ७ अंक रहेको विराटनगर चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment