Comments Add Comment

ओली-दाहाल : गालीको आहाल

२० माघ, काठमाडौं । आफू विपक्षी रहेको मुद्दामा गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

रिट निवेदकका तर्फबाट बहस गरेका एकजना वरिष्ठ अधिवक्तालाई होच्याउँदै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ (अदालतमा) तमासा देखाउन’ भनेका ओलीले अवहेलना मुद्दा झेलिरहेका छन् ।

आफूलाई मन नपर्ने जो कोहीविरुद्ध प्रधानमन्त्री ओली दिनहुँजस्तो टीकाटिप्पणी गरिरहेका देखिन्छन् । अदालतको अवहेलना मुद्दा चलेकाले मात्रै यो ढतमासा सम्बन्धी) टिप्पणी चर्चामा आएको हो ।

पुस पहिलो साता पार्टी विवाद उत्कर्षमा पुगेयता दुवै समूहका नेताहरू एक अर्काविरुद्ध व्यक्तिगत टिप्पणीमा उत्रेका उदाहरण भने बग्रेल्ती छन् । जस्तो यहाँ केही भनाइहरु हेरौं –

केपी ओली- केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरीहरू छन्, ज्वाइँहरू छन्, हेर्नै पर्‍यो । बनाउनै पर्यो । छोरी भएका मान्छेले त मेयर बनाउनै पर्‍यो । बनाउन भोटले पुगेन भने मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँ छन्, के गर्ने अब घर किन्दिनै पर्यो, घडेरी किन्दिनै पर्‍यो । घर किन्दिनै पर्‍यो । पद ओहोदा दिनैपर्यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जप हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जप हो !

प्रचण्ड आफ्ना हनुमानहरूलाई छोराछोरी भन्दै तिनलाई मात्र पोस्नु सही हो ? म निःसन्तान भइनँ, मेरो दोष हो ?

केपी ओलीअब भेट्नो कुहिएर झरेको दुईवटा फलहरूले रुख मै हुँ भनेर दाबी गर्ने ?

प्रचण्डयो लाज, घिन अलिकति मान्छेमा हुनुपर्छ क्या, अलिअलि नैतिक भन्ने हुनुपर्छ नि । निर्घिनी हुन हुन्न क्या । केपी ओलीजी त निर्घिनी, लाजमर्दो ।

केपी ओली- तपाईंहरू (माधव-प्रचण्ड) सहिद भएर गएको भए सम्झिन हुन्थ्यो ।

त्यसो त नेताहरूको प्रहार शीर्ष नेतामा मात्रै सीमित छैन । प्रधानमन्त्री ओलीले पत्रकारलाई पनि छाडेका छैनन् । आफ्नो कमीकमजोरी औंल्याउने पत्रकारलाई उनले नर्क जाने श्राप नै दिए । ओलीले सञ्चारकर्मीलाई भने-स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।

आफ्नै मन्त्रिपरिषद् सदस्य रहिसकेका योगेश भट्टराईलाई लक्षित गर्दै ओलीको टिप्पणी थियो-एउटा केटो थियो मन्त्री बनाएको पुक्क लात हानेर भाग्यो ।

माथिका वाक्यांशहरूको अर्थ हो, हाम्रा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू नै ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ भन्नेमा विश्वास गर्दैनन् । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘दुवै समूहका नेताहरूको गाली क्लाइमेक्समा पुगेजस्तो देखिन्छ ।’

नेता हुनै अयोग्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई पक्षले अलग-अलग बैठक बोलाएयताको अभिव्यक्ति सुन्दा नेताहरूमा सामान्य सहिष्णुता र मर्यादा समेत नदेखिएको विश्लेषकहरू बताउँछन् ।

समाजशास्त्री अजय यादव राजनीतिक संस्कारको अभावमा नेताहरूले विवेकको सट्टा आवेग ओकल्ने गरेको बताउँछन् । ‘कुनै शीर्ष नेताको पाँच मिनेट भाषण सुन्नुस् उहाँ कुन संस्कारबाट आउनुभएको रहेछ स्पष्ट हुन्छ,’ यादव भन्छन्, ‘पछिल्लो एक महिनाको भाषणको सूक्ष्म मूल्यांकन गर्ने हो भने उहाँहरू राजनेता होइन, एउटा सभ्य नागरिक बन्न पनि योग्य हुनुहुन्न भन्ने देखिन्छ ।’

विश्लेषक श्याम श्रेष्ठ नेताहरूका अभिव्यक्तिले उहाँहरूको नैतिक र सांस्कृतिक स्तर झल्काइरहेको बताउँछन् । उनी भन्छन्, ‘विगतमा पार्टी फुट्दा राजनीतिक तर्क गरेको सुनिन्थ्यो, अहिले तल्लोस्तरमा उत्रेर गालीगलौज नै गरेको सुनिन्छ ।’

न्वारानदेखिको बल लगाएर विपक्षीलाई गाली गर्दा आफ्नो जित भएजस्तो भान पर्न सक्दछ । तर, यो तहको अपशब्दले कसैलाई पनि फाइदा नगरेको विश्लेषकहरू बताउँछन् । श्रेष्ठ भन्छन्, ‘यस्तो गाली सुनिसकेपछि दुबै पक्ष उही ड्याङको मुला रहेछ भन्ने थाहा हुन्छ ।’

विश्लेषक हरि शर्मा नेताहरूको अभिव्यक्तिले देश हाँक्न चाहिने हृदयको विशालता छैन भन्ने पुष्टि गरेको बताउँछन् । ‘प्रधानमन्त्रीज्युको भाषा हेर्नुस् त । प्रजातन्त्रका लागि वर्षौं जेल बसेको, तानाशाहको विरुद्ध लडेको नेताको भाषा त्यस्तो हुन्छ ?’ शर्मा भन्छन्, ‘ओहो, त्यस्तो छुद्रता ? भाषामा सहिष्णुता छैन, प्रेम छैन । यसको अर्थ हो, हृदय ठूलो छैन ।’

पराजित मनोदशा

प्रधानमन्त्री ओलीले पटक-पटक ‘मलाई सरकार सञ्चालनमा पार्टीबाटै असहयोग भयो’ भनिरहेका छन् । तर, कहिले कसले के असहयोग गर्यो भनेर विवरण दिन सकेका छैनन् । प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको निर्देशन मानेन, त्यसकारण ओली निरंकुश भन्ने गरेको सुनिन्छ । तर, पार्टीले दिएको कुन-कुन निर्देशन मानेन भनेर व्याख्या गर्न सकेका छैनन् ।

जब आफू र आफ्नो पक्ष ठीक हो भनेर देखाउन केही बाँकी हुँदैन, तब मात्रै मान्छेले अर्को पक्षको कमजोरी उराल्छ । आफ्नो विपक्षी आफूभन्दा शक्तिशाली हुँदा पनि स्वर चर्को हुँदै जान्छ ।

‘विपक्षी बलियो छ भन्ने डरले गर्दा पनि हो र भित्री रुपमा बलियो नभएर पनि हो,’ समाजशास्त्री यादव भन्छन्, ‘म ठीक छु भन्ने आफैंलाई विश्वास नहुँदा नेताहरूले अन्धकारमा तुच्छ शब्दको तीर हानीरहेका छन् ।’

पार्टी एकतापछि पनि सामाजिक राजनीतिक, आर्थिक, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्दैनथे । कहिले मदन भण्डारीको सपना, कहिले कसको सपनाका लागि पार्टी एक बनाएको भाषण सुनिन्थ्यो ।

‘फरक के थियो भने, विभाजनअघि एक अर्काको चाहिनेभन्दा बढी प्रशंसा गर्थे, अहिले आवश्यकताभन्दा बढी गालीगलौज गरिरहेका छन्’, प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘मुद्दाविनाको विभाजन भएकाले आफ्नो औचित्य स्थापित गर्न अर्को पक्षलाई नानाभाँती गाली गरेको हो ।’

असभ्यताको पराकाष्ठा

भनिन्छ, राजनीति सबै नीतिहरू भन्दा ठूलो नीति हो । त्यही भएर सफल राजनीतिकर्मी राजनेता कहलाउँछन् । तर, नेताहरूको भाषण सुन्दा भने सामान्य मर्यादासमेत पालना भएको देखिँदैन ।

नेताबाट कार्यकर्ता र कार्यकर्ताबाट जनताले सिक्ने हो । शीर्ष नेताकै लहैलहैमा लागेर नेकपाका युवा नेताहरू पनि गालीगलौजमै उत्रेको देखिन्छ । अर्थात् शीर्ष नेताहरूले भावी नेतृत्वलाई पनि गाली पुराण सिकाइरहेका छन् । यदाकदा यसको प्रतिविम्व देखिएको पनि छ ।

समाजशास्त्री यादव भने मूल नेतृत्वमै राजनीतिक संस्कार बोधको अभाव देख्छन् । उनी भन्छन्, ‘यो त असभ्यताको पनि पराकाष्ठा भयो ।’

प्रचण्ड-माधव पक्षले गाउँ-गाउँबाट सर्वसाधारण ल्याएर आमसभा गरिरहेको छ । नेकपा ओली पक्षले पनि २३ माघमा नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।

विश्लेषक श्रेष्ठ त्यस्ता सभाहरू गर्दा एउटा पक्षले गाली नगर्ने हो भने मात्रै पनि अर्को पक्षलाई जवाफी गाली गर्न गाह्रो हुने बताउँछन् । उनी भन्छन्, ‘त्यसरी मान्छे जम्मा गरेर राजनीतिक, वैचारिक मतभिन्नता धारणा नराखेर मुखमा आए जति गाली गर्दा कसैको भलो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment