Comments Add Comment

सुकीको नियति : प्रजातान्त्रिक छवि गुम्यो, सेनाले धोका दियो

२० माघ, काठमाडौं । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले मुलुकमा प्रजातन्त्र पुनर्स्थापित गर्नेमा लामो समयसम्म सैनिक शासन झेलेका म्यानमारका जनता आशावादी थिए ।

देशभित्र मात्र होइन, अन्तर्राष्ट्रियरुपमा नै उनले प्रजातन्त्रवादी नेतृको पहिचान बनाएकी थिइन् ।

लामो समयसम्म देशमा प्रजातन्त्र ल्याउन संघर्ष गरेकी उनीप्रति अन्तर्राष्ट्रिय सहयोग, समर्थन र सद्भाव पनि उत्तिकै थियो ।

सन् २०१५ मा भएको ऐतिहासिक आम निर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक बहुमतसहितको जित हात पारेसँगै सुकीले आफ्नो लोकप्रियता पुष्टि गरेकी थिइन् । तर, त्यसपछि क्रमशः सुकीको प्रजातन्त्रवादी छवि भने अन्तर्राष्ट्रिय समुदायमा धुमिल हुँदै गयो ।

गत वर्ष भएको निर्वाचनमा पनि सुकीको पार्टीले सन् २०१५ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय समुदायले यो पाँच वर्षको अवधिमा सुकीले आफ्नो मुद्दामा सेनासँग सम्झौता गरेको भनी निरन्तर आलोचना गर्‍यो ।

यहाँसम्म कि उनलाई प्रदान गरिएको अन्तरराष्ट्रिय नोबेल पुरस्कार पनि खोसिनुपर्ने बहस चल्यो ।

म्यानमार स्वतन्त्र भएपछि झण्डै पाँच दशक शासन गरिसकेको सेनाले सोमबार पुनः ‘कू’ गर्दै शक्ति आफ्नो हातमा लियो । यो सैन्य ‘कू’ सुकीको राजनीतिक जीवनमा एउटा ठूलो झड्का बनेर आएको छ ।

पहिलो उनले देशमा लोकतन्त्रको रक्षा गर्न सकिनन्, दोस्रो उनलाई सेनाले नियन्त्रणमा लिएको छ र कति वर्ष उनलाई नजरबन्दमा राख्ने हो यकिन छैन ।

म्यानमारमा भएको सैन्य ‘कू’को अन्तरराष्ट्रिय जगतले चर्काे आलोचना गरेको छ । तर विगत पाँच वर्षमा उनले अन्तराष्ट्रिय जुन सद्भाव गुमाइन्, त्यसलाई पुनः प्राप्त गर्नु निकै चुनौतीपूर्ण छ ।

यससँगै म्यानमारमा सुकीको पार्टीले पाएको सत्ता सञ्चालनको अधिकार पाँच वर्षमा नै खोसिएको छ ।

सोमबार सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । मुलुकबाहिर र भित्र बेग्लाबेग्लै छवि बनाएकी सुकीले आफ्नो कार्यकालमा अपेक्षा अनुसार काम गर्न सकिनन् ।

विशेषगरी सुकीले सेनासँग शक्ति र सत्ता साझेदारी गर्ने क्रममा सन्तुलन कायम राख्न नसकेको विश्लेषण छ ।

सन् २०१७ मा भएको रोहिंग्या मुस्लिममाथि सेनाले गरेको दमनमा सुकीले सेनालाई साथ थिइन् । रोहिंग्या मुस्लिममाथिको ज्यादतीमा सेनालाई साथ दिएसँगै उनले अन्तर्राष्ट्रिय समुदायको विश्वास गुमाएकी थिइन् । लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायले उनलाई प्रजातन्त्रवादी नेतृको रुपमा चिन्दै आएको थियो ।

म्यानमारको रखाइनमा बस्दै आएका उनीहरुमाथि दमन भएपछि लाखौं रोहिंग्याहरु बंगलादेशतर्फ भागेका थिए ।

उक्त घटनामा अहिले पनि अन्तर्राष्ट्रिय अदालतमा नरसंहार गरेको मुद्दा छ । मानवताविरोधी उक्त घटनामा अहिले पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको छ ।

सन् २०१९ मा उनी संयुक्त राष्ट्रसंघको इन्टरनेसनल कोर्ट अफ जस्टिस सामु उपस्थित नै भएर रोहिंग्यामाथि भएको सैन्य दमनको बचाउ गरेकी थिइन् । यति वेला उनले कुनै अपराध नै भएको भएपनि सैन्य अदालतको माध्यमले दोषीलाई कारबाही गर्ने बताएकी थिइन् । उनलाई रोहिंग्यामाथि भएको बलात्कार, हत्या र नरसंहार रोक्न कुनै प्रयास नगरेको आरोप छ । ती शरणार्थी अझै पनि स्वदेश फर्कन पाएका छैनन् । जसले उनको अन्तर्राष्ट्रिय छवि पुरै धमेलियो ।

उनले उक्त हिंसालाई आन्तरिक लडाइँ भएको भन्दै सामान्यीकरण गरिदिइन् । म्यानमारको सेनाले रोहिंग्या मुस्लिमहरुमाथि गरेको नरसंहारमा सेनालाई साथ दिएको विषयमा उनलाई यसअघि प्रदान गरिएको नोबेल पुरस्कार पनि खोसियो र उनीसँग स्पष्टीकरण पनि सोधियो । सुकीले मुलुकमा हिंसा भड्किएको अवस्थामा करिब एक वर्ष केही पनि बोलिनन् । जुन निकै जोखिमपूर्ण मौनता थियो ।

रोहिंग्यामाथिको दमनमा उनले आफूलाई मानव अधिकारवादी नेताभन्दा पनि एक राजनीतिकर्मीको रुपमा उभ्याउन चाहेको जानकारहरु बताउँछन् ।

तर, उनले सेनासँगको सहकार्यले मूर्त रुप लिन सकेन र उनी दुवैमा असफल भइन् ।

गत नोभेम्बरमा म्यानमारमा आम निर्वाचन भयो । यो निर्वाचनमा सुकीको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो । म्यानमारमा पाँच दशकसम्म शासन गरेको सेनालाई पाखा लगाउन सुकीको पार्टी एक मात्र विकल्प थियो ।

सुकीको सेनासँग निकट सम्बन्ध थियो । उनको एनएलडी पार्टीले पनि वरिष्ठ सैन्य अधिकारीहरुसँग पनि सहकार्य गर्दै आएको थियो । म्यानमारको आधुनिक सेनाका संस्थापककी छोरी भएको कारण पनि सेनासँग आफ्नो विशेष अनुग्रह रहेको सुकीले सार्वजनिकरुपमा नै बताउँदै आएकी थिइन् ।

मुलुकबाहिर रोहिंग्या मुस्लिममाथि भएको ज्यादतीको विरुद्धमा नबोलेको कारण सुकीको आलोचना भइरहेको अवस्थामा देशभित्र भने बौद्ध धर्मालम्बीहरुको बीचमा भने उनी लोकप्रिय थिइन् ।

बौद्ध धर्मालम्बीहरुमा सुकी लोकप्रिय बन्दै जानु सेनाको लागि जोखिमपूर्ण थियो । त्यसैले पनि अहिले सुकीलाई रोक्न सेनाले ‘कू’ गर्ने उपाय रोजेको हो ।

उनले सेनासँग सहकार्य गरेर प्रजातन्त्रलाई लिकमा ल्याउन प्रयास पनि नगरेकी होइनन् तर अन्तिममा उनलाई सेनाले नै धोका दिएको छ । सेनालाई अप्ठ्यारो समयमा साथ दिएकी सुकीलाई अन्तिम समयमा भने सेनाले साथ दिएन ।

म्यानमारको सेनाले प्रजातन्त्रप्रति जति नै ओठे भक्ति जनाएपनि राजनीतिक दललाई नियन्त्रणमा राखेर आफू अनुसार सत्ता संचालन गर्ने कुटिल चाललाई उनले समयमा नै बुझ्न सकिनन् ।

यो पनि पढ्नुहोस म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार यो पनि पढ्नुहोस म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा यो पनि पढ्नुहोस म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment