Comments Add Comment

काठमाडौं मेयर्स कप क्रिकेट हुने, क्यानलाई महानगरपालिकाले ५० लाख दिने

२० माघ, काठमाडौं । काठमाडौंमा काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आगामी चैतमा आयोजना गर्ने तयारी रहेको मेयर्स कपका लागि क्यान र काठमाडौं महानगरपालिकाबीच मंगलबार सम्झौता भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्यानलाई काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्ने छ । महानगरले पहिलो चरणमा ६० प्रतिशत र दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ ।

यस्तै सम्झौता अनुसार क्यानले चैतको मसान्तभित्र प्रतियोगिता आयोजना गर्नेछ । नेपालले आगामी मार्चमा विश्वकप लिग २ अन्तर्गत ओमानमा ट्राई सिरिज खेल्दैछ । मेयर्स कपलाई त्यसैको तयारीको रुपमा हेरिएको छ ।

यद्यपि यो प्रतियोगिताबारे विस्तृतमा जानकारी दिइएको छैन । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानको टुर्नामेन्ट कमिटी र टेक्निकल कमिटीमा प्रस्ताव पठाएको र त्यहाँबाट स्वीकृत भएर आएपछि प्रतियोगितामा सहभागी टोली संख्या र खेल तालिका तय हुने बताए ।

प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडी समेटेर टिम बनाउने पनि उनले बताए । ओमानमा हुने सिरिजलाई नै मध्यनजर गर्दै मेयर्स कप प्रतियोगिता गर्न लागिएको दासले बताए ।

यही फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पोर्ट्स ८ को अवसरमा नेपालले कतारमा टी-२० सिरिज खेल्ने तय भएपनि कोरोना भाइरसको महामारीका कारण उक्त सिरिज तत्कालका लागि स्थगित भएको छ ।

त्यसैले क्यानले ओमान भ्रमण गर्नुअघि नेपालमै एउटा एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागेको हो । ओमान सिरिज चैत ६ देखि १५ गतेसम्म हुनेछ ।

आफूभन्दा ठूला टिमसंग सिरिज खेल्ने चाहना भएपनि कोरोना महामारीको समयमा क्वारेन्टिन बस्नुपर्ने बाध्यतालगायतका कारणले गर्दा अन्तर्राष्ट्रिय स्तरको सिरिज हुन सम्भव नभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment