Comments Add Comment

सुकुम्बासी समस्या समाधान गर्न माधव नेपालले दिएनन् : ओली

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताएका छन् ।

भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सरकारको प्रयासमा बाधा पुर्‍याएको बताएका हुन् ।

माधवकुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिदै ओलीले नेपालले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे ।

अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा भूमिसम्बन्धी समस्या समाधान गर्न खोज्दा माधव नेपालले आफ्नो समर्थक वकिल लगाएर मुद्दा हाल्न लगाएको ओलीले आरोप लगाए ।

‘सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्धा हालेर त्यो आयोगले काम गर्न पाएन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उनीहरुलाई ‘छलफलवाला मान्छे’ को संज्ञा दिए ।

‘छलफलवाला मान्छे मैले नेपालमा भेटाएको ३ जना । एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जे मा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुम्बासी आयोग बनाऔ । छलफल गर्नुपर्छ । बनायो । किन बनाइयो ? छलफल हुनुपर्छ । पुर्णता दिउँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौं । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरुले पार्टी छोडे पाटीतिर लागे ।’

ओलीले पार्टीमा शुद्धिकरण आवश्यक रहेको र शुद्धिकरण गर्नुपर्ने नेताहरु आफैं किनारा लागेको पनि टिप्पणी गरे । पार्टी छोडेर गएकाहरुले आफ्नो अभिष्ट पूरा गर्न नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको पनि उनले बताए ।

‘उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे ? जनताले के बिगारेको थियो र ? जनतालाई किन दुख दिनुपर्‍यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफूहरु पाटीमा लाग्छन् । अनि बन्द गरेर जनतालाई दुख दिने ?’ उनले भने ।

ओलीले माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाकोमा घुँडा टेक्न गएको पनि टिप्प्पणी गरे । ‘अस्ति माधवकुमार नेपाल शेरबहादुर देउवाजीकामा गएका थिए ।

रामका अगाडि हनुमान घुँडा टेकेर बसे जसरी बसेका थिए । अब २ बर्षको प्रधानमन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौं । २ बर्षको प्रधानमन्त्री खानुहोस् । लेखेर दिन्छौं क्या लेखेर दिन्छौ । सही गरेर दिन्छौं (भन्ने) । अनि क्रान्तिका गफ गरेछन् बाहिर निस्केर’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment