Comments Add Comment

उत्तरी गोरखामा कोरोना खोप हेलिकप्टरबाट लगिने

२१ माघ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टर मार्फत कोरोना भाइरस बिरुद्धको खोप लगिने भएको छ ।

सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई लगाउनका लागि एक सय डोज खोप बिहीबार हेलिकप्टरमार्फत ढुवानी गरिने स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । जिल्ला कोभिड खोप समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गोरखा अस्पतालमा खोप केन्द्र स्थापना गरेर स्वास्थ्य कार्यालयले माघ १४ देखि १८ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । तर केन्द्र पायक नपरेका कारण सूचीमा परेका उत्तरी गोरखाका अधिकांशले खोप लगाउन पाएनन् । उनीहरुलाइ लक्षित गरी चुमनुव्री गाउँपालिकामा तीन वटा खोप केन्द्र स्थापना गरी माघ २३ गते खोप अभियान सञ्चालन गरिने खत्रीले जानकारी दिए ।

‘सामागाउँ, ल्हो, प्रोक र बिहीलाई समेट्ने गरी लिहीमा, छेकम्पार र चुम्चेतलाई समेट्ने गरी चुम्लिङमा र सिर्दिवासको फिलिममा गरी तीन वटा खोप केन्द्र स्थापना गरेर छुटेकाहरुलाइ खोप लगाउछौ,’ उनले भने । स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाइकर्मी र स्वास्थ्यका कर्मचारीलाइ खोप लगाइने उनले जानकारी दिए ।

‘भोलि साँझसम्म चुमनुव्री गाउँपालिकाको तीन वटै केन्द्रमा खोप र आवश्यक चिकित्सक पुगिसक्छन्,’ उनले भने । लिहीमा ३०, चुम्लिङमा २० र फिलिममा १८ जनालाइ खोप लगाउन बाँकी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हेलिकप्टर चार्टरका लागि लाग्ने खर्च उत्तरी क्षेत्रको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको माउण्टेन चाइल्ड नामक संस्थाले व्यहोर्ने बताइएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि सोही दिन खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ । ५० जनालाई लक्षित गरी उक्त केन्द्रमा खोप र आवश्यक चिकित्सक बिहीबारसम्म पठाइसक्ने खत्रीले बताए ।

सोही दिन गोरखा अस्पतालमा पनि खोप केन्द्र स्थापना गरेर अभियानमा छुटेका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले जानकारी दिए । माघ २४ गते बाँकी रहेको खोप र सामग्री गण्डकी प्रदेशमा पठाइने उनले बताए । ‘२३ गतेसम्म जतिले खोप लगाए लगाए, त्यसपछि बाँकी सबै सामान र खोप प्रदेशमा फिर्ता गर्छाै,’ खत्रीले भने ।

कारागारका ११६ कैदीबन्दीलाई खोप

गोरखा कारागारका कैदीबन्दीलाई कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ । वुधबार कारागारमा पुगेर स्वास्थ्यकर्मीको टोलिले ६९ जना थुनुवा र ४७ जना वन्दी गरी कुल १ सय १६ जनालाई खोप लगाइदिएका हुन् । कारागारका ६ जना कर्मचारी र ५ जना सुरक्षाकर्मीलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक खत्रीले बताए ।

पहिलो चरणमा कोभिड–१९ नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका करिव १७ सय जनालाई लक्षित गरी दुइ हजार १० डोज खोप जिल्ला आएको थियो । त्यसमध्य एक हजार ५० जनाले मात्र खोप लगाएका थिए । खोपको डोज बाँकी रहेपछि जिल्ला कोभिड खोप समन्वय समितिको बैठकले कारागारका कैदीवन्दीलाइ खोप लगाउने निर्णय गरेको हो ।

अझै ८ सय खोपको डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचीमा परेका तर अभियानमा छुटेकाहरुलाई खोप लगाउनका लागि २३ गते पुनः खोप अभियान संचालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment