Comments Add Comment

भागरथी हत्या प्रकरण : ‘निर्मला पन्तको अनुसन्धानजस्तो नहोस्’

२५ माघ, काठमाडौं । राजनीतिक दल, दलका भ्रातृ संगठन र नागरिक समाजले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको घटनाको गम्भीर ढंगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर निर्मला पन्तको घटना जस्तै पीडकलाई कारबाही हुन नसक्ने अवस्था सिर्जना नहोस् भन्दै पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भागरथीको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारबाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ । भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । गम्भीर ढंगले घटनाको छानविन गर्न माग गर्दछौं ।’

यसैगरी वृहत नागरिक आन्दोलनको तर्फबाट युग पाठकले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा घटनालाई ढाकछोप नगर्न र पीडकलाई छुटकारा नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पाठकले यस घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठनको समेत ध्यानाकर्षण गराएका छन् ।

यसैगरी भागरथीको हत्या भएको घटनाको राष्ट्रिय युवा संघ नेपालले पनि विरोध जनाएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जारी गरेको विज्ञप्तिमा हत्यारालाई कानुनी दायरामा ल्याइ कारबाही गर्ने कुरामा र परिवारजनलाई उचित क्षतिपूर्ति दिने कुरामा कुनै ढिलासुस्ती भएमा कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ । बिगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा पनि गैरजिम्मेवार नबन्न युवा संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment