Comments Add Comment

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

३० माघ, वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ ।

घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् ।

प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो नेतृवको टोली खटाएको थियो । पक्राउ परेका कुशवाहले घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मृतक कान्तीदेवीको परिवार र धनेश्वरीबीच जग्गा जमिन लगायत विषयमा किचलो थियो । सोही रिसईबी साँध्नका लागि अपराधिक मनोवृत्तिका लालबाबुको साथ लिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही बताउँछन् ।

‘लालबाबु अपराधिक मनोवृत्तिका मानिस रहेछन्, उनलाई धनेश्वरीले उक्साएर घटना घटाएको देखिन्छ’ उनले भने ‘लालबाबुले नै मारेको हो त्यसमा कुनै शंका छैन । उसलाई प्रलोभनमा पारिएको हो वा के गरिएको हो अनुसन्धान पछि खुल्छ ।’

पटक पटक अपराध र जेल सजाय

लालबाबु कुशवाह ०६५ सालदेखि ०६१ सालसम्म तीन वटा डाँका मुद्धा, हातहतियार तथा खरखजना र सार्वजनिक अपराधको १/१ मुद्धामा पक्राउ परी सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारा वञ्जरिया–५ बस्ने ओम प्रकाश महतो धानुकले ०५६ कात्तिक ७ गते उजुरी गरेका थिए ।

उनले घरमा धनमाल लुटपाट गरेको भन्दै डाँका मुद्धा दर्ता गराएका थिए । त्यस्तै बाराको तत्कालिन बरियारपुर गाविस–९ बस्ने राम नारायणप्रसाद यादवले ०६१ साउन २६ गते र बाराकै तत्कालिन बघवन गाविस–१ बस्ने उपेन्द्र जयसवालले पनि डाँका मुद्धा दर्ता गरेका थिए । यादवले २ लाख ३६ हजार ४ सय रुपैयाँ बराबरको र जयसवालले २२ हजार ८ सय ८६ रुपैयाँको धनमाल लुटेको आरोप लगाएका थिए ।

०५७ चैत ११ गते केही सार्वजनिक अपराध विरुद्ध र २०५८ पुस ११ गते हातहतियार तथा खरखजना मुद्धामा उजुरी परेको थियो । प्रहरीले गस्तीको क्रममा कलैया उपमहानगरपालिका– ६ बाट कुशवाहलाई कटुवा बन्दुक १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरेको थियो । यी सबै घटनामा उनले अदालतबाट सजाय पाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment