Comments Add Comment

नागरिक आन्दोलन : स्रष्टा जुलुस र महिला मार्चको जम्काभेट

३० माघ, काठमाडौं । शुक्रबार नागरिक अभियन्ताहरूले एकैदिन दुईवटा फरक-फरक आन्दोलन राखेका थिए । बिहान ११ बजे स्रष्टाहरूको साझा आन्दोलन तय गरिएको थियो । दिउँसो २ बजे बसन्तपुरदेखि सिंहदरबारसम्म महिला-मार्च राखिएको थियो । अन्ततः दुवै आन्दोलनको संगम बिन्दु ‘बसन्तपुर डबली’ बन्न पुग्यो ।

दिउँसो महिला टोली र साहित्यकारहरूको टोली बसन्तपुरमा मिसियो । डबलीबाट सिंहदरबारतर्फ लम्केको महिला मार्च पछिल्लो दुई साता यताको सबैभन्दा ठूलो नागरिक आन्दोलन बनेको सहभागीहरुले बताए ।

कलाकर्मी, अभियन्ता, साहित्यकारहरूको जुलुस प्रतिगमनको विरोध गर्दै सिंहदरबार मूलगेटतर्फ सोझियो ।

बाक्लो सुरक्षा घेराले महिला मार्चलाई भद्रकाली मन्दिरपछाडि रोकेपछि त्यहीँ कोणसभा भयो । कोणसभामा महिलाहरु नै वक्ता थिए । साहित्यकारको ‘स्रष्टा आन्दोलन २०७७’ मा साहित्यकारहरूले मन्तव्य राखे ।

दिउँसो दुई बजे स्रष्टाहरू र महिला मार्चको टोली मिसिएको जुलुस भद्रकालीमा पुगेर सभामा परिणत भयो । त्यहाँ एउटा नाटक, तीनवटा कविता र चारजना अभियन्ताका मन्तव्य प्रस्तुत गरियो ।

‘नारी स्वर दब्दैन’

भद्रकालीमा शिल्पी थिएटरले बलात्कारविरुद्ध देखाएको नाटकमा प्रधानमन्त्री र राष्ट्रपतिको ठाडो चरित्र-चित्रण गरियो । बलात्कारपीडित परिवारलाई भेट्न पुगेकी राष्ट्रपतिले कुनै सहानुभूति नदेखाई दम्भमात्र देखाएको नाटकमा चित्रण गरिएको थियो ।

‘जनताको समस्यामा होइन, आफ्नै ठाँटमा केन्दि्रत प्रधानमन्त्री र उनको ईशारामा चल्ने राष्ट्रपतिको खुलेर विरोध गर्छौं’, सभामा महिला अभियन्ताहरू साझा भनाइ थियो ।
महिला मार्चको टोलीले साहित्यकार पारिजातको ‘मानुषी’ कविता सामूहिक वाचन गर्दै पुरुषसत्ताको विरोध गरे । यसपछि बोल्न आएकी कवि प्रणिका कोयूले नारी स्वरलाई दबाउन ठूलो शक्ति लगाइएको तर कुनै पनि हालतमा नारी स्वर नदब्ने बताइन् ।

मार्चमा बोलेका अभियन्ताहरुले प्रधानमन्त्रीका अभिव्यक्तिमाथि निकै आक्रामक प्रतिक्रिया दिए । सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनीमिलाले नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने धारणा राखिन् ।

अभियन्ता हिमा विष्टले पनि निर्मला पन्त, सम्झना बिक, भागिरथी भट्टको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको बताइन् । बलात्कारीलाई उन्मुक्ति दिने शासकीय नियतिले थप घटना सृजना भइरहेको उनको तर्क थियो ।

डा. अर्चना थापाले महिलाको स्वरलाई प्रधानमन्त्रीले कहिल्यै मानिसको स्वर नठान्ने बताउँदै प्रधानमन्त्रीको मानसिकतामाथि कटाक्ष गरिन् । डा. थापाले थपिन्, ‘महिला उभिएर बोल्न थाल्यो भने सरकारले त्यसलाई ट्याउँ-ट्याउँ भन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौं ?’

‘नागरिक अधिकारको रक्षा गर्नु साहित्यकारको दायित्व हो’

‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा’ मूल नारा रहेको स्रष्टा आन्दोलन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभामा एक नाटक, दुई गीत, तीन कविता र चारजना वक्ताले मन्तव्य राखे ।

सभामा वरिष्ठ कवि एवं २०६२ को जनआन्दोलनमा स्रष्टाहरूका तर्फबाट नेतृत्व गरेका कवि बैरागी काइँलाको सन्देश सुनाइयो । ८० वर्ष कटेका कवि काइँलाले स्रष्टा आन्दोलनलाई अडियो सन्देश पठाएका थिए । सन्देशमा उनले सबैखाले प्रतिमगनविरुद्ध निरन्तर लड्नुपर्ने बताएका थिए ।

काइँलाले सन्देशमा भने, ‘एक व्यक्तिको हातमा राष्ट्र गएको अवस्थामा नागरिक अधिकार, मानवअधिकारको रक्षा गर्नु साहित्यकारको दायित्व हो ।’

यस्तै प्रगतिशील चिन्तक निनु चापागाईंले पनि प्रधानमन्त्री केपी ओलीको प्रवृत्ति र कार्यले प्रतिगमन उत्कर्षमा पुगेको संकेत गरे । चापागाईंका अनुसार एक पात्रका कारण देश अग्रगमनको बाटो हिँड्न नसकेको हो ।

यस्तै कवि श्रवण मुकारुङले पनि अरुलाई खिसिट्युरी गर्नेमात्र होइन, नीच देखाउने बानी प्रधानमन्त्रीबाटै अरुले सिकेको बताए । मुकारुङका अनुसार कविता पनि आफैं लेख्ने, गीत पनि आफैं गाउने र सिंगो देश आफ्नोमात्र दाबी गर्ने शैली नै ओलीप्रवृत्ति रहेको टिप्पणी गरे ।

स्रष्टा आन्दोलनमा भेटिएका कवि भूपाल राई पनि केपी ओलीसँग जुनसुकै हालतमा लड्नुपर्ने अवस्था आएको बताइरहेका थिए । राईले भने, ‘धर्मनिरपेक्षता, समावेशिता र पहिचानको दुश्मन केपी ओली हुन् । यसैले उनीविरुद्ध लड्न आवश्यक छ ।’

साहित्यकार तथा अभियन्ताहरूले ‘नालायक सरकार मूर्दावाद’ ‘केपी तिम्रो पाराले, दुःख पाए साराले’ भन्दै दुबै आन्दोलनमा तीव्र नाराबाजी गरे । उनीहरूले अनौपचारिक गफको सिलसिलामा पनि सबै प्रतिगमनको जड केपी ओली भएकाले उनको सत्तालाई परास्त गर्नुपर्ने धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment