Comments Add Comment

‘नेप्से २६ सय नाघेपछि करेक्शन हुन्छ’

२ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अर्थतन्त्रमा निकै ठूलो असर परेको छ । उद्योगधन्दाहरु अझै पनि पूणर््ा क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको ऐना मानिने सेयर बजारको अवस्था भने निकै राम्रो छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि राम्रै देखिएको कारण अहिलेको बजारलाई सकारात्मक असर परेको सेयर बजारका विश्लेषक विष्णुप्रसाद बस्याल बताउँछन् । अर्को तर्फ बैंकहरुलाई लगानीयोग्य रकम (तरलता) अधिक हुँदा पनि लगानीकर्ताहरुको आकर्षण सेयर बजारमा देखिएको उनले बताए ।

पछिल्लो ८ महिनामा नेप्से परिसूचक १ हजार १ सय ६४ दशमलव ५२ अंकले वृद्धि भएको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३६२.४ रहेको नेप्से परिसूचक माघ मसान्तमा २ हजार ५ सय २६ दशमलव ९२ अंकमा पुगेको छ ।

‘अहिले बजार हेर्दा बुल मार्केटको लगभग लास्ट स्टेजमा छ, यो हप्ता हप लागेर करेक्शन हुनसक्छ’ बस्यालले भने, ‘मार्च महिनामा एउटा र्याली लिएर ३/४ महिना साइडबेज करेक्शनमा जानसक्छ । टेक्निकल एनालाइसिस गर्दा बजार यो साता २६५० मा पुगेर करेक्शन आउला ।’

बैंकहरुको वित्तीय विवरणले पनि लगानीकर्ताहरुलाई उत्साहित नै बनाएको छ । बैंक तथा वित्तीय क्षेत्रहरुकै बजारमा बाहुल्यता रहेको र वित्तीय विवरण पनि राम्रै आएकाले लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था छैन ।

पछिल्लो तथ्यांक अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.७ प्रतिशत, होटेलकोहिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५.७ प्रतिशत रहेको छ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत ५ अर्ब ३५ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब २५ अर्ब ७९ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment