Comments Add Comment

कोरोनाको मारमा लघु तथा घरेलु उद्योग, ठूला उद्योगको उत्पादन आधाले घट्यो

३ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनमा लघु तथा घरेलु उद्योगमा कोरोना भाइरस (कोभिड-१९)को असर उच्च पाइएको छ । कोरोना र यसबाट बच्नका लागि अबलम्बन गरिएको लकडाउन र निषेधाज्ञाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्णरूपमा बन्द अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ ।

सञ्चालनमा रहेकामध्ये पनि त्यस्ता उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतसम्मले घटेको प्रतिवेदनमा जनाइएको छ । बन्दाबन्दी र निशेधाज्ञपछि कूल ८९.१९ प्रतिशत उद्योग तथा व्यवसाय आंशिक सञ्चालनमा रहेको र १०.८१ प्रतिशत उद्योगहरु बन्दकै अवस्थामा रहेको पाइएको छ ।

यसमा लघु, घरेलु, मझौला र ठूला उद्योग सबै पर्ने मन्त्रालयले जनाएको छ । यस्तै सञ्चालनमा रहेका सबै प्रकारका उद्योगहरु मध्ये ५४ प्रतिशत उद्योगहरूको उत्पादन क्षमतामा ५० प्रतिशतसम्म गिरावट देखिएको छ । अध्ययनमा सहभागी मध्ये ३२.४३ प्रतिशत उद्योगको उत्पादनमा ७५ प्रतिशतसम्म गिरावट देखिएको छ भने २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतसम्म घटेको छ ।

मन्त्रालयको अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशतले उत्पादनमै असर परेको, ७६.४७ प्रतिशतले कच्चा पदार्थ पाउन कठिनाई भएको ८८.२४ प्रतिशतले उत्पादनको बजारीकरणमा समस्या भएको बताएका थिए भने ८७.५ प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको बताएका थिए । यस्तै ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको जनाएका थिए भने ८७.५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए ।

अध्ययनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलुविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरु सहभागी भएको मन्त्रालयले जनाएको छ । अध्ययनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योग नमूनाको रुपमा छनोट भएको थियो ।

८४  प्रतिशत उद्योगहरु घाटामा, रोजगारी गुमाउनेमा पुरुष धेरै

अध्ययन प्रतिवेदनअनुसार अधिकांस उद्योगहरु अहिले घाटामा सञ्चालनमा छन् । अध्ययनमा सहभागीमध्ये १६.२२ प्रतिशत उद्योग मात्रै नाफामा सञ्चालनमा रहेको अध्ययनमा देखिएको छ । नाफामा रहनेहरुमा ठूला उद्योग धेरै छन् । ‘कूल नाफामा रहेका उद्योगहरु मध्ये ६६.६७ प्रतिशत हिस्सा ठूला उद्योगको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै कोरोनाकै कारण रोजगारी गुमाउने दर पनि लघु उद्योगमा धेरै देखिएको छ । रोजगारी गुमाउने असर विस्तारै साना, मझौला र ठूला उद्योगमा रहेको पनि मन्त्रालयले जनाएको छ । कोभिड प्रभावित उद्योगबाट जागिर गुमाउनेमा धेरै पुरुषहरु रहेका छन् ।

उद्योगीले मागे सहुलियत

अध्ययनमा सहभागी उद्योगीहरुले पुरानै अवस्थामा उद्योग व्यवसाय फर्काउन पुर्नउत्थानको कार्य प्रभावकारी बनाउन सरकारसंग माग गरेका छन् । उद्योगीहरुले सरकारसंग ब्याजदर, कर, घरभाडामा छुट दिन तथा सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् ।

यस्तै उत्पादको आधारमा विद्युतको डिमाण्ड शुल्क तय गर्न, भ्याट फिर्ता गर्न र कर्जातिर्ने अवधि थप गर्न तथा पूर्नकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि उद्योगीले माग गरेका छन् । उद्योगीहरुले दुई वर्षसम्म श्रमिकको न्युनतम् ज्याला वृद्धि नगर्न र भ्याटको दरमा पुनर्मूल्यांकन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment