Comments Add Comment

आधा भन्दा बढी क्यान्सर पीडित बालबालिका अस्पतालबाहिर

३, फागुन, चितवन । नेपालमा बर्षेनी औसत १५ सय बालबालिकालाई क्यान्सर रोग लाग्ने गरेको एक अध्ययनले देखाएको छ । तर, त्यसको आधामात्र बालबालिका उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन् ।

अस्पताल आउने त्यही आधा बिरामी मध्ये पनि आर्थिक अभाव, समयको कारणले बीचमा नै उपचार छाड्ने गरेको चिकित्सकहरु बताउँछन् ।

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपकार्यकारी निर्देशक एवम् बाल तथा युवा क्यान्सर रोग विभागका विभागीय प्रमुख डा. कृष्णसागर शर्माले क्यान्सर रोगबाट पीडित बनेका बालबालिकालाई अस्पताल तथा उपचारको पहुँचसम्म ल्याउनु नै मुख्य चुनौती भएको बताए ।

उनका अनुसार नेपालमा बर्षेनी ७ सयदेखि ८ सय बालबालिका उपचारका लागि अस्पताल जाने, कतिपय ढिला भएपछि मात्रै पुग्ने गरेका छन् । यसो हुँदा क्यान्सरका कारणले हुने मृत्युदर बढेको डा. शर्मा बताउँछन् । क्यान्सर सम्बन्धी लक्षणका बारेमा अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौंकी तथा अभिभावकहरु चनाखो बन्न सके बालबालिकाले समयमा नै विषेशज्ञ सेवा पाउने र निको हुने डा. शर्मा बताउँछन् । विश्व स्वास्थ्य संगठनले फेब्रुअरी १५ लाई अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका रुपमा विश्वभर मनाउँदै आएको छ ।

दिवसका अवसरमा भरतपुरस्थित क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रममा डा. शर्माले बालबालिकामा हुने क्यान्सर ६० देखि ८५ प्रतिशतसम्म निको हुने बताए । क्यान्सर पीडित बालबालिकाहरुलाई डा. शर्माले रोग लाग्दैमा आत्तिन नहुने र केही समयमा नै रोग निको हुने विश्वास दिलाए । डा. शर्माले बालबालिकाहरुको उपचारमा सबैले हातेमालो गर्न सके, थप उत्साह र हौसला अभिभावकहरुलाई मिल्ने बताए ।

चितवनमा बर्षेनी ४ सय बालबालिकाको उपचार 

भरतपुरको क्यान्सर अस्पतालमा बर्षेनी ४ सय जना नयाँ क्यान्सर पीडित बालबालिका उपचारका लागि आउने गरेको डा. शर्माले जानकारी दिए । बाँकी बालबालिका देशका अन्य अस्पतालमा जाने गरेका छन् ।

क्यान्सर अस्पतालमा अधिकांश बालबालिका रगतको क्यान्सरको समस्या भएर आउने गरेका छन् । डा. शर्माका अनुसार बच्चामा १२ प्रकारका क्यान्सर हुने गरेका छन् । तीमध्ये रगतको क्यान्सर भएका ३५ देखि ४० प्रतिशत, ग्रन्थीको क्यान्सर भएका १५ देखि २० प्रतिशत, ब्रेन ट्यूमर भएर २० प्रतिशत, सार्को ( हड्डी तथा नरम तन्तु) को क्यान्सर भएर १५ प्रतिशत बालबालिका आउने गरेका छन् ।

यस्तै, आँखाको रेटिना ब्लास्टोमा, कलेजको हेपाटो ब्लास्टोमा, अण्डासय र ओभरीमा हुने जमसेल ट्यूमर, मृगौलामा हुने नेफ्रो ब्लास्टोमा भनिन्छ । यो क्यान्सर ५ बर्षभन्दा कम उमेरका बालबालिकामा बढी हुने गरेको छ । सुरुको चरणमा थाहा पाउँदा यो रोग निको हुने डा. शर्माले बताए ।

उनका अनुसार जन्मेदेखि १९ बर्ष उमेर समूहमा हुने क्यान्सरलाई बालबालिकामा हुने क्यान्सर भन्छन् । रगतको क्यान्सरको उपचारमा लगातार तीन बर्षसम्म गरे निको हुने सम्भावना अधिक रहेको डा. शर्माले बताए ।

कसरी थाहा पाउने बालबालिकामा क्यान्सर ?

बालवालिकाहरुले आफ्ना कुराहरु खुलेर भन्न नसक्ने हुँदा उनीहरुमा देखिने लक्षणका आधारमा अभिभावक एवम् स्वास्थ्यकर्मी सचेत बन्नुपर्ने डा. शर्माको भनाइ छ । डा. शर्माका अनुसार रगतमा क्यान्सर भएको बालबालिकामा ज्वरो लगातार आउने, कमजोर हुँदै जाने, रगत घट्ने, पेट फुल्ने, विभिन्न ठाउँबाट रगत बग्ने हन्छ । यस्तै, ग्रन्थीमा हुने क्यान्सरमा रगतको क्यान्सरको लक्षणका साथसाथै पसिना आउने, ग्रन्थी सुन्निने हुन्छ ।

ब्रेन ट्यूमरमा छारे रोगजस्तो लक्षण देखिने, हात चलाउन नसक्ने, बेहोस हुने, विकास क्रम रोकिने, टाउको फुल्ने, पानी जम्ने समस्या देखिन्छ । ‘यी लक्षण देखिए कतै क्यान्सर त भएको छैन भनेर स्वास्थ्यकर्मी र अभिभावकले क्रिटिकल भएर सोचे मात्रै पनि रोग समयमा पत्ता लाग्ने र निको हुन्छ’ डा. शर्माले भने, ‘क्यान्सर नभएको भए ढुक्क हुन पाइयो, भएको भए समयमा नै उपचार पाउने अवस्था रहन्छ, त्यसैले चनाखो हुनुपर्छ ।’

उनले रगतको क्यान्सरबाहेक अन्य क्यान्सर ६ महिनामा निको हुने बताए । रगतको क्यान्सर ८० प्रतिशत, ग्लाण्डको क्यान्सर ८५ प्रतिशत निको हुने डा. शर्माले बताए । क्यान्सर अस्पतालमा रोग पत्ता लागेपछि बालबालिकाको उपचार निशुल्क रुपमा गरिने डा. शर्माले जानकारी दिए ।

‘धेरै जसो अभिभावक त उपचार खर्च हुने भो, पैसा छैन भनेर उपचार गर्न नै डराएको पनि पाइन्छ, सचेतना पनि नभएर होला’, डा. शर्माले अगाडि थपे, ‘क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको उपचारमा पैसा लाग्दैन भन्ने म्यासेज सबैतिर जाओस् ।’

के हो त उपचार विधि ?

बालबालिकामा हुने क्यान्सरको उपचार केमोथेरापी विधीबाट उपचार गर्ने गरिएको छ । सर्जरी, रेडियोथेरापी विधिबाट पनि क्यान्सरको उपचार हुने गरेको छ । क्यान्सर अस्पतालमा बच्चाको ठ्याक्कै सर्जरी गर्ने चिकित्सक नभए पनि ठूलो उमेरका बिरामीको अप्रेसन गर्ने चिकित्सकहरुले नै सर्जरी गर्दै आएका छन् ।

रोग बल्झिने, कडा खालका सर्ने क्यान्सर, औषधिले पनि निको नभएका क्यान्सरका पीडित बालबालिकाका लागि बोनम्यारो प्रत्यारोपण गर्ने विधी अवलम्बन गर्ने गरिएको छ । तर, क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको सुविधा भने छैन । अस्पतालले बोनम्यारो प्रत्यारोपण गराउने गरी काम अघि बढाएको अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment