+
+

नेपालीको नजरमा नर्वेको शिक्षा, स्वास्थ्य र समाज

सरला कट्टेल सरला कट्टेल
२०७७ फागुन ५ गते ८:४५

५ फागुन, नर्वे । मध्यरातमा पनि घाम लाग्ने देशका रुपमा चिनिन्छ नर्वे । तर, सधैं होइन समरमा । यो सिजनमा नर्वे स्वर्गकै टुक्राजस्तो देखिन्छ । जाडो सिजनमा दिनमा पनि थोरै समय मात्र उज्यालो हुन्छ । केही महिना त सूर्यको किरणसमेत देखिँदैन । हिउँले जमीन सेताम्म हुन्छ ।

गर्मी होस् या जाडो, नर्वेको जीवनशैली सहज छ । त्यसैले नर्वेका नागरिकको औसत आयु ८४ वर्ष छ । नर्वे हरेक वर्ष खुसीको मापनमा उत्कृष्ट पाँचभित्रै पर्छ ।

विकासको हिसाबमा पनि धेरै अगाडि छ । विकासको अधिकांश सूचांकमा नर्वे उत्कृष्ट पाँचभित्रै पर्दै आएको छ ।

नर्वेमा बसोबास गर्ने नेपालीको संख्या पनि बढिरहेको छ । खासगरी नर्वेमा अध्ययनका लागि आउने र सीपमूलक रोजगारी पाएपछि स्थायीरुपमा बसोबास गर्न सकिन्छ ।

नर्वेको स्थायी बसोबास गर्न आफूले पढेको विषयसँग सम्बन्धित जागिर पाउनुपर्छ । यसका अतिरिक्त नर्वेमा विभिन्न देशबाट युरोपियन पार्सपोर्ट बनाएर स्थायी बसोबास गर्न आउने नेपालीहरुको संख्या पनि बढ्दो छ ।

यहाँ बसोबास गर्दै आएका नेपालीहरु पनि बेखुस छैनन् । झन् नर्वेजियनहरु त बेखुस हुने कुरै भएन । नर्वेमा जो आउँछ, त्यसले नर्वेकै नागरिकको हैसियत पाउँछ । जुनै देशको नागरिक होस् वा भिन्न लिंग, वर्ग कुनै प्रकारको भेदभाव छैन ।

यहाँको शिक्षा, स्वास्थ्य, समाज संसारकै उत्कृष्ट मानिन्छ । खास कस्तो छ त नर्वेको स्वास्थ्य, शिक्षा, समाज र राजनीति ? आखिर के कारणले गर्दा यहाँका नागरिकहरु खुसी भएका होलान् ?

नर्वेमा बस्दै आएका र सोही क्षेत्रमा काम तथा अध्ययन गरिरहेका नेपालीसँग गरिएको कुराकानी-

नर्वेको शिक्षा निःशुल्क र अनिवार्य
प्रा. डा. विशाल सिटौला

नर्वेमा निःशुल्क शिक्षा छ, किन्डर गार्डेनदेखि डिग्रीसम्म । नर्वेको निःशुल्क शिक्षा जहाँका नागरिकले पनि सहजै लिन सक्छन् । विद्यार्थीको लगाव केमा छ, अध्ययन त्यसैमा केन्द्रित हुन्छ । जस्तो कि, किन्डरगार्डेन जाने बच्चाले स्पोर्टसमा ध्यान दिन्छ भने त्यसलाई खेल क्षेत्रमा फोकस गराइन्छ । र, उसले विद्यालय र विश्वविद्यालयमा सोही अनुसारको विषय अध्ययन गर्न सक्छ ।

म तीन दशकदेखि यहाँको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्समा इन्टरनेशनल इन्भाइरोइन्मेन्ट एण्ड डेभलपमेन्ट विषयमा अध्यापन गराउँदै आएको छु । यो क्रममा यहाँको शिक्षालाई नजिकबाट नियाल्दा यहाँको शिक्षा सिर्जनात्मकतामा बढी जोड दिने व्यहारिक तथा असल नागरिक हुन सहयोग पुर्‍याउने खालको रहेको पाएको छु ।

किन्डरगार्डेनदेखि नै असल नागरिक बन्न चाहिने विशेषतामा जोड दिइन्छ । किन्डरगार्डेन उमेरमै बालबालिकाहरुले नैतिक जिम्मेवारका विषयमा सिकिसकेका हुन्छन् ।

समय व्यवस्थापन पनि जीवनको महत्वपूर्ण कुरा हो । बच्चाहरुले सानैदेखि समय व्यवस्थापन गर्न सिकेका हुन्छन् । बच्चाहरुलाई स्कुलले घुमाउन लगिराख्छन् । बच्चालाई घुमाउन लैजाने योजना बनाएपछि स्कुलले विद्यार्थीको परिवारलाई जानकारी दिनुपर्छ । महिनाभरिको योजना किन्डरगार्डेन तथा स्कुलले अभिभावकलाई पठाउनुपर्छ । त्यसले अविभावकलाई पनि तयारी गर्न सजिलो हुन्छ । विद्यार्थी पनि सोहीअनुसार तयार हुन सहयोग पुग्छ ।

नर्वेमा सेकेन्डरी स्कुलसम्म अनिवार्य शिक्षा लागु छ । विशेष गरी १८ वर्षको उमेरसम्म राज्यले सबै जिम्मेवारी लिएको हुन्छ । किन्डरगार्डेनमा नर्वेजियन भाषामा पढ्नुपर्ने हुन्छ । स्कुलमा पुगेपछि मात्र उनीहरुलाई अंग्रेजी भाषा पनि पढाइन्छ । विद्यार्थीलाई शैक्षिक गतिविधिमा समान संलग्न गराइन्छ । नर्वेको अध्ययनमा सबैभन्दा बढी प्रयोग हुने ‘ग्रुप डिस्कसन’ हो ।

समग्रमा भन्दा नर्वेको शिक्षा प्रणाली असल नागरिक बनाउनमा केन्द्रित छ । गरी खाने शिक्षा नर्वेले दिइरहेको छ जस्तो लाग्छ । त्यो हिसाबमा नेपालले पनि यहाँको शिक्षा प्रणालीबाट सिक्नपर्ने कुरा धेरै छन् जस्तो लाग्छ, जुन नेपालको आर्थिक तथा सामाजिक अवस्थामा पनि अपनाउन सकिने र आवश्यक रहेको ठम्याइ मेरो छ ।

नर्वेको स्वाथ्यसेवा विश्वकै नमुना
प्रा डा. सुरज थापा, ओस्लो युनिभर्सिटी हस्पिटल/ युनिभर्सिटी अफ ओस्लो

नर्वेको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियालेको दुई दशक भैसकेको छ । नर्वेका विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै हाल म युनिभर्सिटी अफ ओस्लोमा प्रोफेसर एण्ड हेड अफ डिभिजन र ओस्लो युनिभर्सीटी हस्पिटलमा सिनिअर कन्सल्टेन्ट तथा रिसर्च हेडका रुपमा कार्यरत छु ।

नर्वेको स्वास्थ्य प्रणाली विश्वकै नमुनाको रुपमा मान्ने गरिन्छ । नर्वेमा सम्पूर्ण नागरिकको स्वाथ्य उपचारको जिम्मा सरकारले लिएको छ । नर्वेको स्वाथ्य सेवा सामाजिक वेयलफेयर भित्र पर्दछ मा चलेको छ । प्राइभेट स्वाथ्य संस्थाहरु खासै छैनन् । भएका थोरै प्राइभेट संस्थाहरुले पनि उपचार गराएवापत राज्यबाट सहयोग पाउँछन् ।

धेरैलाई लाग्न सक्छ सरकारले नागरिकको विनापैसा उपचार कसरी गर्न सक्छ त ? वा विमा गरेकाले विमाबाट उपचार हुन्छ कि ? त्यस्तो केही छैन नर्वेमा । नागरिकले तिरेको ट्याक्सबाटै राज्यले नागरिकको स्वाथ्य उपचार गर्छ ।

डाक्टरहरुले निजी क्लिनिक खोलेर बस्दैनन् । डाक्टरले सेवाको भावनाले काम गर्छन् । व्यक्तिगतरुपमा नर्वे फरक संसारजस्तो लाग्छ मलाई । काम गर्दा आनन्द आउँछ । राज्यले एउटा सिस्टम निर्माण गरेको छ । उक्त सिस्टममा बसेर काम गर्दा दायाँ-बाँया सोच्नुपर्ने अवस्था छैन । नागरिकलाई आवश्यक परे डाक्टर घरमै उपचार गर्न आउँछन् । सबै नागरिकको पहुँचमा स्वाथ्य सेवा छ ।

नर्वेमा अर्को राम्रो पक्ष विदेशी या स्वदेशी नागरिकलाई सबैको समान पहुँच हुन्छ । नर्वेको सिस्टमचाँहि अलि सुस्त छ । नेपालमा पैसा खर्चेर जुनसुकै डाक्टरलाई चाहेको समयमा भेटन सकिन्छ । नर्वेमा जोसुकै होस्, सिस्टम अनुसारबाटै जानुपर्छ । म आफैं अस्पतालमा कार्यरत छु, विरामी भएको खण्डमा मैले सिधै कुनै डाक्टरलाई भेट्न पाउदिनँ ।

नर्वेमा सोसल सेक्युरिटी नम्बर पाएपछि जनरल फिजिसियन (जीपी) तोकिन्छ । स्वास्थ्यमा समस्या आएमा मैले मात्रै होइन, यहाँ प्रधानमन्त्रीले समेत समय लिएर जीपीलाई भेटेर मात्रै स्वास्थ्य सेवा लिन सकिन्छ । र, आवश्यक थप उपचार परेमा जीपीले नै प्रक्रिया अगाडि बढाउँछ ।

सिटामोल, खोकीलगायतका केही औषधी बाहेक अरु डाक्टरको प्रेस्किप्सनविना किन्न पाइँदैन । प्रायः फार्मेसी निजीले सञ्चालन गर्छ । नर्वेमा धेसैजसो औषधी निशुल्क पाइन्छ । निशुल्क पाउने औषधी निजीमा पनि निशुल्कै उपलब्ध छ ।

नर्वेमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छैन । तर, नेपालमा उपचार नपाएर वा उपचार गर्न पैसा नपाएर ज्यान गएको समाचार धेरै सुनिन्छ । त्यस्तोबेला मन खुब पोल्ने गर्छ । नेपालमा पनि सरकारले जनताका लागि निशुल्क स्वास्थ्य व्यवस्था गरिदिए हुन्थ्योजस्तो लाग्छ । त्यसका लागि चाँहि सरकारले स्वास्थ्य क्षेत्रलाई सरकारीकरण गर्नपर्छजस्तो लाग्छ ।

नेपालको स्वास्थ्य क्षेत्र ७० प्रतिशत भन्दा बढी निजीले ओगटेको छ । जब निजी क्षेत्रको लगानी हुन्छ, त्यहाँ सेवाभन्दा फाइदा बढी खोजिन्छ । यही नै नेपालको समस्या देख्छु । अर्कोतिर, निजीले दिने स्वास्थ्य सेवा पनि शहरकेन्द्रित छ नेपालमा ।

स्वास्थ्य सेवा भन्नाले उपचार मात्रै सोच्नुहुन्न । रोगबाट जोगिनका लागि सजग रहने चेतनाको विकास गरिनुपर्छ । रोगको रोकथाममा केन्द्रित हुने कार्यक्रम गर्नुपर्छ । त्यसका लागि सरकार आफैं लागेर नीति नियम बनाएर स्वाथ्य सेवा सबैको पहुँचमा पुर्‍याउन सकेमात्रै राज्यको दायित्व पूरा हुन्छ जस्तो लाग्छ ।

नर्वेको समाज विभेदरहित छ
– तारणी पोखरेल

युनिभर्सिटी अफ साउथ इस्टर्न कलेज नर्वेमा मानव अधिकार तथा बहुसंस्कृतिवाद विषयमा शोध गरिररहँदा नर्वेको समाजलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएको छ । नर्वेले मानवअधिकारको क्षेत्रमा उलेख्य प्रयोग गरिरहेको देखिन्छ । राज्यबाट हरेक नागरिकको अधिकारको रक्षा गरिएको छ । यहाँ कुनै एउटा नागरिकले राज्य वा अन्य व्यक्तिको कारणले दुःखी हुनुपर्ने अवस्था छैन ।

नर्वेमा मैले देखेको महत्वपूर्ण पाटोचाँहि एकले अर्कोलाई गर्ने सम्मानपूर्ण व्यवहार हो । राज्यले जनतालाई समान व्यवहार गर्छ । जनता राज्यप्रति जवाफदेही हुन्छन् । न जनताले राज्यलाई तिर्नपर्ने ट्याक्स लगायतमा कन्जुस गर्छन्, न त सरकारले जनतालाई दिने सेवामै कटौती ।

सामाजिक धरातल पनि उदाहरणीय छ । नर्वेमा कुनै सामाजिक विभेद छैन, न त लैंगिक विभेद नै छ । यहाँ सबै नागरिक समान छन् । हरेक नागरिक स्वतन्त्र छन् । एकले अर्कोलाई गाली गलौज गरेको पाइँदैन । आफूलाई लागेको कुरा निर्धक्क राख्न सकिन्छ । क्रिचियन धर्म मान्ने देशमा केही समयअघि एन्टी मुस्लिम प्रदर्शनमा बाइवल च्यात्दासमेत नर्वेको सरकार तथा पार्टीहरुले लोकतन्त्रमा नागरिकले आफनो कुरा राख्न पाउने धारणा राखेका थिए ।

नर्वेमा धनी-गरीबमा खाडल खासै छैन । शिक्षा, स्वाथ्यमा सबैको समान पहुँच छ । सबै नागरिकले रोजगारी प्राप्त गरेका छन् । आफनो कमाइअनुसार नागरिकले सरकारलाई कर तिर्नुपर्छ । धेरै कमाउनेहरुले कर आधाभन्दा बढी पनि तिर्नपर्ने हुन्छ । कर जसले जति तिरे पनि पाउने सेवा भने सबैले उस्तै हो, चाहे विदेशी नागरिक नै किन नहोस् ।

यहाँ जुनसुकै कामलाई समानरुपमा लिइन्छ । एउटै कम्पनीमा काम गर्ने म्यानेजर र कार्यालय सहयोगीको अधिकार उस्तै हुन्छ । जिम्मेवारी आ-आफनै हुन्छ । सानो-ठूलो भनेर कुनै विभेद हुँदैन । यस्तै विशेषताले गर्दा नै नर्वेलाई आज संसारकै एक सभ्य, समृद्ध, शान्त, समानता र कल्याणकारी मुलुक मानिएको हुनुपर्छ ।

नर्वेका नागरिकहरु मान्छे भएर बाँच्छन्
विष्णुमाया विभु -साहित्यकार तथा पीएचडी रिसर्चर एवं अनेसास नर्वे अध्यक्ष)

अध्ययन र कामको सिलसिलामा एक दशक लामो नर्वे बसाइ र यहाँ रहेर समाजशास्त्रमा विद्यावारिधि गर्ने क्रममा नर्वेली समाजलाई नजिकबाट नियाल्ने मौका पाएँ ।

नर्वेको समाजलाई विशेष गरी लैङ्गकि दृष्टिकोणबाट हेर्दा महिलावादी छ । महिलावादीको अर्थ नेपालमा जस्तो पुरुषवादी समाज भएर पुरुष माथि भएझैँ नर्वेको महिलावादी समाज महिलाहरु माथि छन् भन्नेचाँहि होइन । यद्दपि प्रजनन् भूमिका र आमा दायित्व (जस्तै बच्चा जन्माउने, स्तनपान, शिशु-स्याहार आदि) का कारण बालबालिको जिम्मेवारीका सन्दर्भमा नर्वेको कानुनले व्यवहारिकरुपमा महिलालाई थोरै प्राथमिकता दिएको छ । तर, यो विभेदका दृष्टिले भने बिल्कुलै होइन, केवल आमा अर्थात शिशु अनुराग र जैविक निकटताका दृष्टिले मात्र ।

कानुनमा मात्र होइन, सामाजिक अभ्यासमै लैंगिक समानता छ । तसर्थ नर्वे लैंगिक समानताको मापनमा विश्वकै शिखरमा उभिन सफल छ । नेपाललगायत विश्वका कैयौं मुलुकमा अझै पनि महिलालाई कमजोर, असहाय तथा दोस्रो दर्जाको नागरिकको रुपमा लिइन्छ । तर, नर्वेमा पुरुष र महिलामा शारीरिक बनावट बाहेक कानुन र समाजले विभेद गरेको छैन ।

लैंगिक मात्रै नभएर समाजिक हिसाबमा पनि समानता कायम गर्न नर्वे सफल देखिन्छ । त्यसैले नर्वेमा कुनै लिंग, वर्ग वा जात भएर भन्दा पनि मान्छे भएर बाँच्ने हक छ भन्न सकिन्छ । यद्यपि, समाजशास्त्रीहरु भन्छन्, असमानता शून्य समाजको परिकल्पना असम्भव छ ।

नर्वे समानताको हिसावले यतिबेला जति माथि छ, त्यो प्रशंसायोग्य छ । विश्वका विकसित मुलुकहरु जस्तो कि, अमेरिका, फ्रान्स, बेलायतलगायतमै पनि सामाजिक तथा लैंगिक विभेदले निम्त्याएका विविध हिंसाका घटना भैरहेका समाचार सुनिन्छन् तर, नर्वेमा विगत एक दशकभन्दा बढी समय बिताइरहँदा त्यस्ता घटना सुन्न परेको छैन ।

समतामूलक समाजको निर्माण गर्न बच्चा जन्मेदेखि उसको सम्पर्कमा रहने समाजका हरेक क्षेत्रमा उसले सोहीबमोजिमको समाजिकीकरण र सामाजिक संयन्त्रभित्र हुर्किन, बढ्न र पढ्न पाउनुपर्छ । जुन, नर्वेली बालबालिकाले धेरै हदसम्म पाउँदै आएका छन् ।

शुरुवाती चरणमा जटिल देखिए पनि परिवार समाज, राज्य र कानुन साँच्चै तयार भएको खण्डमा यो कुनै गर्न नसकिने काम अवश्य पनि होइन । यसकारण नर्वेबाट नेपाल लगायतका संसारका बिभिन्न मुलुकहरुले सिक्नैपर्ने र सिक्न सक्ने धेरै कुरा छन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण कुराचाँहि समानता हो । राज्यले सबै नागरिकलाई बराबरी व्यवहार गर्यो भने समाज अगाडि बढ्छ ।

विकास र परिवर्तनका लागि सर्वप्रथम राज्यले सबैखालका सामाजिक तथा लैंगिक असमानता हटाउन लागि पर्नुपर्ने देखिन्छ । किनभने, शान्ति, समृद्धि र अमनचयनको मुहान नै समानता हो भने हिंसा, द्वन्द्व र अराजकताको ‘रिमोट’ नै विभेद हो ।

अधिकार र अवसरको असमान वितरण समाज विकासका बाधक हुन्, जसले परिवार र समाजमा हिंसा, द्वन्द्व र अराजकता निम्त्याउँछन् र जसले विश्वव्यापीकरणको होडमा होमिएको आजको युगमा छिमेकी मुलुक हुँदै सिंगो बिश्वलाई प्रभाव पार्न सक्छ ।

मान्छेका हिसाबले एक जात ‘मान्छे’ र शारीरिक बनावट अथवा प्रजनन् भूमिका र सृष्टि निरन्तरताका हिसाबले दुई जात -महिला र पुरुष) । भिन्नता बस् यति नै हो र यत्ति नै हुनुपर्छ । योभन्दा बढी वर्गीकरण त्यो समाजको उल्टो मति र उँधो गतिको ओरालो यात्रा शिवाय केही होइन जस्तो लाग्छ ।

नर्वेको जिम्मेवारपूर्ण राजनीति
नयन मल्ल, अध्यक्ष, एनआरएनए नर्वे

पेसाले म इन्जिनियर हुँ । राजनीतिमा खास रुचि राख्दिनँ । तैपनि थोर बहुत राजनीति बुझ्ने प्रयास भने गर्दछु । नर्वेमा तीन दशकदेखि बस्दै आएको छु । हाल एनआरएनए नर्वेको अध्यक्ष छु । नर्वेमा बसिरहँदा यहाँको राजनीति थोर बहुत बुझेको छु ।

नर्वे संसदीय व्यवस्था भएको प्रजातान्त्रिक मुलुक हो । नर्वेमा सेरेमोनियल राजसंस्था छ । देशको संरक्षकका रुपमा नर्वेमा राजा छन् । राजाले राजनीतिक गतिविधिमा कुनै संलग्नता गर्दैनन् ।

नर्वेमा ४ वर्षमा चुनाव हुन्छ । निर्वाचित संसदबाट प्रधानमन्त्री चयन गरिन्छ । राजनीतिक अभ्यास लगभग नेपालसँग मिल्दोजुल्दो छ ।
नर्वेको राजनीति एकदमै देश र जनताप्रति जिम्मेवार छ । नेताहरु चुनावताका कागजी एजेण्डा होइन, अध्ययन गरेर व्यवहारमा उतार्न सकिने र समाजमा आवश्यक रहेका

एजेण्डासहित नागरिकसँग प्रस्तुत हुन्छन् । राजनीतिक दलले एजेण्डा हेरेर भोट दिने जनतालाई धोका दिँदैनन् । चुनावका बेला टेलिभिजन बहस र एजेन्डा नै चुनावी प्रचारका आधार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?