Comments Add Comment

कोरोना खोप किन्‍न नेपालद्वारा ९३ करोड रूपैयाँ भुक्तानी

६ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको खोप खरिद गर्न सरकारले भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ ।

मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम दिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिएको बताए । सेरमले दुई हप्ताभित्र खोप पठाउने बताएको छ र उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

उनका अनुसार सेरम इन्ष्टिच्युटसँग प्रतिखोप ४ डलरका दरले सहुलियतमा खोप उपलब्ध गराउने सहमति भएको छ । खोप दुई चरणमा १०/१० लाख डोज उपलब्ध गराउने सेरम इन्ष्टिच्युट अफ इन्डियाको प्रतिबद्धता छ । नेपालको भण्डार क्षमता कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्री त्रिपाठीका अनुसार सहुलियत दरमा खोप दिन भारत तयार थिएन । सोही कारणले खरिदको विषय टुंगो लाग्न केही समय लागेको थियो । ‘विशेष सम्बन्ध र अनुरोधका कारण खोप सहुलियत दरमा आउन लागेको हो’ मन्त्री त्रिपाठीले भने, ‘खोप अभियान सुरु भएपछि निरन्तर चल्छ ।’

भारत सरकारले गत ८ माघमा १० लाख डोज खोप अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोप सेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप फेब्रुअरीको अन्तिमसम्ममा नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment