+
+

प्रजातन्त्र दिवस मनाइरहँदा मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् : उपराष्ट्रपति पुन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते ८:०३

७ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन् ।

पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उनको भनाइ छ ।

प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले सो धारणा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन् ।

विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको उनको भनाइ छ ।

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?