Comments Add Comment

भारतको विरोधाभाष नीति : सार्कलाई पन्छाएर क्षेत्रीय सहकार्यको पहल

७ फागुन, काठमाडौं । विहीबार सार्कसहित १० छिमेकी मुलुकका उच्च स्वास्थ्य अधिकारीहरुको एक भर्जुअल कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही नयाँ क्षेत्रीय परियोजना प्रस्ताव गरे ।

मोदीले यी मुलुकका नर्स, डाक्टर सहितका स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । किनभने यस क्षेत्रमा कुनै पनि मुलुकमा स्वास्थ्य आपत्काल आइपरेमा स्थास्थ्यकर्मीहरुले विनाझन्झट छिटो यात्रा गर्न सकुन् ।

उनले क्षेत्रीय एम्बुलेन्स सेवा र आगामी दिनमा आपर्ने महामारीको सामना गर्न अहिलेदेखि नै संस्थागत तयारी गर्नुपर्ने समेत प्रस्ताव गरेका छन् । सारमा मोदीको सन्देश थियो– स्वास्थ्य लगायतका विषयमा यस क्षेत्रका मुलुकहरुको बिचमा एकता र सहकार्यको आवश्यकता छ । मोदीको प्रस्तावमा उच्च अधिकारीहरुको बिचमा सकारात्मक छलफल भएको थियो । तर यो प्रस्तावलाई कसले समन्वय गरेर अगाडि बढाउने ?

यी विषयहरुलाई कार्यान्वयन गर्न र अगाडि बढाउनको लागि कुनै ठोस निकायको आवश्यकता छ जुन पहिलादेखि नै अस्तित्वमा छ । क्षेत्रीय सहकार्य, साझा विकास र यस क्षेत्रका साझा समस्याहरु समाधान गर्ने उद्देश्यका साथ सन् १९८७ मा स्थापना भएको सार्क यतिबेला कोमामा छ । शिखर सम्मेलनको विषय क्षेत्रीय र द्विपक्षीय बैठकहरुमा समेत विषय उठ्न छाडेको छ ।

एकातिर क्षेत्रीय सहकार्यको विषय उठाउने तर त्यसलाई कार्यान्वयन गर्ने निकाय सार्कलाई सक्रिय बनाउन पहल नगर्ने विरोधाभाष नीति भारतले लिएको देखिन्छ

भारत र पाकिस्तान बिचको तनावका कारण सार्क सम्मेलन नभएको सात वर्ष भएको छ जुन सार्कको इतिहासमा नै सबैभन्दा लामो अवधी हो । सन् २०१४ मा काठमाडौंमा सार्कको १८ औं सम्मेलन भएको थियो, त्यसयता शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१६ मा १९ औं सम्मेलन प्रस्ताव गरिएको थियो जुन भारत र पाकिस्तान तनावका कारण हुन सकेन ।

विशेषत भारतले पाकिस्तानतर्फ इंगित गर्दै सार्क सम्मेलनका लागि क्षेत्रीय वातावरण अनुकूल नभएको बताउँदै आएको छ । विगत पाँच वर्षदेखि भारतले सार्क सम्मेलन गर्न अनिच्छा व्यक्त गरिरहेको छ ।

तर भारतले निरन्तर रुपमा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा क्षेत्रीय सहकार्य हुनुपर्ने कुरामा पनि जोड दिइरहेको छ । गत वर्ष कोरोना महामारी शुरु भएलगत्तै मार्च १५ मा मोदीले सार्क मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो सम्मेलन आयोजना गरेका थिए । सो सम्मेलन मार्फत कोभिडविरुद्ध लड्नका लागि सार्क आपत्कालीन कोष घोषणा गरिएको थियो ।

भारत पाकिस्तानलाई देखाएर सार्क सम्मेलन गर्न अनिच्छुक भए पनि क्षेत्रीय सहकार्यका कार्यक्रममा भारतले पाकिस्तानका प्रतिनिधिलाई पनि आमन्त्रण गरिरहेको छ । गत वर्षको भर्चुअल सम्मेलनमा पनि बोलाइएको थियो र विहीबारको सम्मेलनमा पनि पाकिस्तानका प्रतिनिधि थिए ।

यति मात्र होइन, विगत एक वर्षमा सार्कका स्वास्थ्य, शिक्षा, परराष्ट्रमन्त्रीहरुको बैठक बस्यो जहाँ पाकिस्तानका प्रतिनिधि पनि सहभागी भए तर सम्मेलन नै गर्न चाहिँ वातावरण उपयुक्त नभएको भारतले बताइरहेको छ । जसले गर्दा सार्कका गतिविधि छलफलमा नै सीमित छन् अर्थात् ठोस रुपमा अगाडि बढ्न सकेको छैन ।

यसले कतै भारतले सार्कप्रतिको दृष्टिकोण परिवर्तन गर्दै गएको त होइन भन्ने प्रश्न उत्पन्न भएको छ । यस अगाडि भारतले सार्कको विकल्पमा विमस्टेकलाई अगाडि बढाएको काफी चर्चा भएको थियो । भारतले क्षेत्रीय सहकार्यका लागि कतै नयाँ संगठनको सोच त अगाडि बढाइरहेको छैन ?

हिजो मोदीले सम्बोधन गरेको कार्यक्रममा सार्कका आठ सदस्यसहित इन्डियन ओसनका थप दुई मुलुकलाई पनि आमन्त्रण गरिएको थियो । मोदीले हिजोको कार्यक्रममा स्वास्थ्यसँग मात्रै सम्बन्धित चार परियोजना अगाडि सारेका छन् । अन्य दुवै क्षेत्रहरु छन् जसमा यस क्षेत्रका मुलुकहरुको विचमा सहकार्यको खाँचो छ । तर तीन दशकदेखि क्षेत्रीय सहकार्य प्रवर्द्धनका काम गरिरहेको सार्क भने यतिबेला पूरै निष्क्रिय अबस्थामा छ ।

एकातिर क्षेत्रीय सहकार्यको विषय उठाउने तर त्यसलाई कार्यान्वयन गर्ने निकाय सार्कलाई सक्रिय बनाउन पहल नगर्ने विरोधाभाष नीति भारतले लिएको देखिन्छ ।

सार्क सम्मेलन नहुनुमा कतिपयले गत वर्ष शुरु भएको कोरोना महामारीलाई पनि देखाएका छन् तर यस अवधिमा विश्वका धेरै क्षेत्रीय संगठनहरुको भर्चुअल बैठक नै भएको छ । जबसम्म सार्कले गति लिन सक्दैन, तबसम्म यस्ता परियोजनाहरु प्रस्तावमा नै सीमित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment