Comments Add Comment

सेयर ग्राफः मोटाएको कि सुन्निएको ?

७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो अंकले उकालो नै लाग्यो ।

गत बिहीबारमात्रै होइन गत साता नै समग्रमा बजार बढेको छ । नेप्से परिसूचकले नयाँ उचाइ लिएको छ । कोरोना नियनत्रण गर्न भन्दै सरकारले गरेको लकडाउनसँगै केही समय बन्द भएको बजार लकडाउन खुलेसँगै एक किसिमको बहादुर देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनयताको मात्रै तथ्यांक हेर्ने हो भने पनि नेपाली सेयर बजारमा नयाँ–नयाँ रेकर्ड कायम भएको छ । माघ महिनामा त झन् दिनदिनै बजारले नयाँ रेकर्ड कायम गर्यो । पछिल्लो ६ महिनाकै तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक दोब्बरले बढेको छ भने लगानीकर्ताको पुँजी पनि १६ खर्ब रुपैयाँले वृद्धि भएको छ ।

यता बजार बढिरहेको छ भने उता बजार सुधार हुन नसकेको भन्दै लगानीकर्ता आमरण अनसनमा नै बसे । अहिले बजार बढेकोप्रति लगानीकर्ता तथा विश्लेषकका आ–आफ्नै धारणा छन् । एकथरी भनिरहेका छन्– यो प्राकृतिक वृद्धि होइन, सजग रहौँ । अर्काथरी भनिरहेका छन्– केही समय अघिसम्म अस्वाभाविक घटिरहेको थियो, अहिले बढ्नु ठूलो कुरा होइन ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल अहिलेको बजारलाई स्वाभाविक मान्नु पर्ने बताउँछन् । पहिले बजार एकदमै घटेको र अहिले सही ट्रयाकमा आएको उनको निष्कर्ष छ । ‘पहिले बजार घट्नुपर्ने खास कारण नै थिएन, तर घट्यो,’ उनी भन्छन्, ‘बजार बढ्नु नै पर्ने थियो, अहिले बढ्यो यसमा खासै ठूलो कुरा केही छैन ।’

लगानीकर्ताको मुद्दा उठाएर पुँजी बजार सुधारको आन्दोलनमा सधैं अग्रपंक्तिमा देखिने लगानीकर्ता तिलक कोइराला सेयर बजार सुन्निने होइन, मोटाउनु आवश्यक रहेको बताउँछन् । तर अहिलेको वृद्धिलाई सुन्निएकै भनेर भन्न भने नसकिने उनले बताए । घट्ने र बढ्ने सामान्य प्रक्रिया भएको भन्दै उनी भन्छन्, ‘बजारमा घट्ने र बढ्ने त भइरहन्छ, अब अत्याउने गरी नै असर भने देखिनुहुन्न ।’ अब लगातार बढ्ने वा घट्ने भन्दा पनि बजारमा स्थिरता देखिए राम्रो हुने उनको बुझाइ छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पछिल्लो समय बजार बढ्नुप्रति नियामक निकायले नै आशंका गरेको बताउँछिन् । उनको बुझाइमा अहिले पनि सेयर बजारका केही खेलाडीहरुले राम्रै खेलिरहेका छन् । यस्तो बेलामा बुझेरमात्रै लगानी गर्नु पर्ने उनी बताउँछिन् । यद्यपि, बजार भने अब तल नझर्ने उनको अनुमान छ ।

सेयर लगानीकर्ताका अर्का नेता नयन बास्तोला बजार अहिलेको बजार सकारात्मक हिसाबले नै अघि बढिरहेको बताउँछन् । तर खेलाडीहरुले अझै गेम खेलिरहेको भन्नेमा उनी ढुक्क छन् । केही कम्पनीहरुको अस्वाभाविक वृद्धिले शंका उत्पन्न गराएको उनी बताउँछन् । तर समग्रमा बजार राम्रै भएको उनको बुझाइ छ । तर बजार सधैं बढिरहने वा सधैं घटिरहने भने हुन नहुने उनले बताए । ‘अहिले बजार लगातार बढिरहेको छ, बढेको बढ्यै वा घटेको घट्यै गर्नु राम्रो होइन,’ उनी भन्छन्, ‘एउटै दिशामा लगातार अघि बढ्दा गलिन्छ, थोरै थकाइ मानुपर्छ, अर्थात बजार करेक्शन हुँदै माथि गयो भने राम्रो हुन्छ ।’

बजारका विषयमा लगानीकर्ताका आ–आफ्नै धारणा छन् । सबैका आ–आफ्नै बुझाइ छन् । बजार चाहिँ मोटाएको कि सुन्निएको त ? यो भन्दा पहिले ६ महिनाको अवस्थामा विस्तृतमा चर्चा गरौँ ः

नेप्से परिसूचक

पछिल्लो समय सेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल नै आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेप्से परिसूचक ९ सय २४ अंक भन्दा धेरैले बढेको छ । २०७६ साउन मसान्तमा १ हजार २ सय २४ विन्दु रहेको नेप्से सूचकांक गत साउनमा १ हजार ३ सय ९१ दशमलव ५ अंकमा पुग्यो ।

यो सूचक एक महिनामा राम्रै बढ्दो छ । भदौ मसान्तमा आइपुग्दा परिसूचक १ हजार ५ सय ४१ दशमलव ४ पुगेको छ । असोज मसान्तमा १ हजार ५सय ६२ दशमलव ५ अंकमा पुगेको नेप्से परिसूचक कात्तिक मसान्तमा १ हजार ७ सय १८ दशमलव ५ अंकमा पुग्यो ।

नेप्से परिसूचक बढ्नेक्रम जारी नै रह्यो । मंसिर मसान्तमा त यसले ऐतिहासिक नयाँ उचाइ कायम गर्यो । नेप्से सूचकांक २०७७ मंसिर मसान्तमा २ हजार ६ सय १.४ पुगेर नयाँ रेकर्ड नै कायम भएको थियो । पुसमा पुन नयाँ रेकर्ड बस्यो । परिसूचक २ हजार २ सय ८६ दशमलव ६ अंक पुगेर नेपाली सेयर बजारको इतिहासमा नयाँ रेकर्ड कायम भएको थियो । आजको मितिमा हेर्ने हो भने नेप्से परिसूचक २ हजार ६ सय नाघिसकेको छ ।

बजार पुँजीकरणमा नाटकीय सुधार

नेपाली सेयर बजारको वर्तमान तथ्यांक हेर्ने हो भने कूल गाह्रस्थ उत्पादनकै हाराहारीमा पुँजीकरण पुगेको छ । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्बभन्दा धेरैले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा सेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

७ महिनाको अवधीमा बढेर माघ मसान्तसम्म सेयर बजारको पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ नाघेको छ । एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पुँजीकरण बढेको छ । गत पुस मसान्तमा सेयर बजार पँुजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सेयर बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीहरुको बजार मूल्य हो । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य बढ्दै जाँदा लगानीकर्ताहरुको पुँजीमा वृद्धि भएको हो ।

१ अर्बले बढ्यो चुक्ता मूल्य

नेप्से परिसूचकको कुरा गरिसकेपछि सेयरको चुक्ता मूल्यबारे पनि चर्चा गरौं । यो अवीधमा चुक्ता मूल्य पनि राम्रै वृद्धि भएको छ । ६ महिनाको अवधीमा सेयर बजारको चुक्ता मूल्य ५१ अर्ब ९१ करोड रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ७३ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । भदौमा यो बढेर भदौसम्ममा सूचीकृत ४ अर्ब ८७ करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ७७ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो भने असोजमा बढेर ४ अर्ब ८९ करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँ पुग्यो ।

कात्तिकमा चुक्ता मूल्य बढ्ने क्रममा ब्रेक लाग्यो । कात्तिकसम्ममा सूचीकृत ४ अर्ब ९४ करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ८४ अर्ब ८० करोडमा रह्यो । मंसिरसम्ममा बढेर सूचीकृत ५ अर्ब ६१ लाख संख्याको सेयर चुक्ता मूल्य ४ खर्ब ९१ अर्ब २४ करोड पुग्यो भने पुससम्ममा सूचीकृत ५ अर्ब ३५ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब २५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

सेयर सूचीकरण तथा नयाँ सेयर

यस अवधीमा सेयर सूचीकरण तथा नयाँ सेयर पनि राम्रै निष्काशन भएको छ । नेप्सेले उपलब्ध गराको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ को ६ महिनासम्ममा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

यो अवधीमा आईपीओमात्रै १३ अर्ब ८३ करोड बराबरको र बोनस सेयर ७ अर्ब २६ करोड बराबरको सूचीकृत भएको नेप्से जनाएको छ । यसैगरी ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको हकप्रद सेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ८१ अर्ब २५ करोड बराबरको थप सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

पहिलो महिना अर्थात असारमा २ अर्ब ९३ करोड रुपैयाँको बराबरको बोनस सेयर, २ अर्ब बराबरको डिबेन्चर र १ अर्ब २२ करोड बराबरको साधारण सेयर (आईपीओ) गरी कुल ६ अर्ब १५ करोड बराबरको थप सेयर सूचीकृत भएको थियो ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ४६ करोड बराबरको साधारण सेयर, ६ अर्ब ६४ करोड बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड बराबरको हकप्रद सेयर र १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कूल २० अर्ब ५६ करोड बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

असारमा मात्रै बोर्डले ६३ करोड ८६ लाख बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । दोस्रो महिनामा बोर्डले ९३ करोड ८६ लाख बराबरको साधारण सेयर र ३६ करोड ४० लाख बराबरको हकप्रद सेयर गरी कुल १ अर्ब ३० करोड बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको थियो ।

यसैगरी तेस्रो महिनामा बोर्डले १ अर्ब २० करोड बराबरको डिबेन्चर, ९३ करोड ८६ लाख बराबरको साधारण सेयर र ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर गरी कुल २ अर्ब ६७ करोड बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको थियो भने चौथो महिनामा ३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ९३ करोड ८६ लाख बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचअल फण्ड गरी कुल ५ अर्ब ४१ करोड बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको थियो ।

मंसिर महिनासम्म बोर्डले ५ अर्ब ४ करोड बराबरको डिबेन्चर, २ अर्ब २ करोड बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

नियामक निकाय भन्छ– नबुझी नकिन्नुस्

पछिल्लो समय बजार आक्रामक रुपमा बढेपछि केही समय अघि नियामक निकाय नेपाल धितोपत्र बोर्डले विज्ञप्ती जारी गर्दै सचेत रहन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो । बोर्डको त्यो विज्ञप्तिले कतै बजारमा चलखेल भइएको छ कि भन्ने आशंका समेत गरियो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरी बजारमा अहिले चलखेल भने नदेखिएको बताउँछन् । यसरी बजार बढिरहेको बेला सोझा लगानीकर्ता फस्लान् कि भनेर सचेत गराएको उनको भनाइ छ । ‘बजार बढेको राम्रो हो, तर बजार बढ्नका लागि कम्पनीका आधारभूत कुराहरु हुनुपर्छ,’ उनी भन्छन्, ‘बजार बढ्ने नै हो भनेर सस्तो मूल्यको वा अरुले किनिरहेको हेरेरमात्रै किन्दा जोखिम हुनसक्छ भनेर हामीले लगानीकर्ताहरुलाई सचेत गराएका हौं ।’ कुनै कम्पनीको सेयर मूल्य बढेको छ भने किन बढ्यो भनेर पनि हेर्नु पर्ने उनी बताउँछन् ।

मूल्य बढ्ने आधारभूत पक्षहरु भनेको उक्त कम्पनीले कति नाफा दिन्छ, विगतमा कति दिएको थियो ? रिजर्भ छ छैन भन्ने कुराले धेरै अर्थ राख्छ । ‘यसकारण कुनै कम्पनीको सेयर किन्दा आधारभूत पक्ष नहेरी हल्लाको भरमा किन्नु हुँदैन भनेर हामीले सचेत गराएका हौँ,’ कार्यकारी निर्देशक गिरी भन्छन् ।

बजारमा पावर प्लेइिङ (सीमित व्यक्तिहरुको चलखेल) समेत हुनसक्छ । यसबारे नबुझ्दा धेरै लगानीकर्ताहरु घाटामा जान्छन् । अहिले बजारमा त्यस्तो नदेखिएको उनले बताए । कुनै कम्पनीहरुको मूल्य बढ्नु पर्ने पर्याप्त कारण नहुँदा नहुँदै बढेको छ भने त्यसमा लगानी गर्दा अलि ध्यान दिनु पर्ने उनको सुझाव छ ।

चलखेल भएको शंका लागे बोर्ड र नेप्सेले अनुसन्धान गरी कारबाही गर्ने उनले बताए । अहिलेको बजार भने प्राकृतिक वा कृत्रिम भनेर नियामकीय हिसाबले भन्न नमिल्ने उनको भनाइ छ । ‘सेयर बजारमा जोखिम त हुन्छ नै, कुन किन्दा कति जोखिम छ भन्ने कुरा अध्ययन गर्नैपर्छ, हल्लाको भरमा लगानी गर्नु हुँदैन,’ बोर्डका प्रवक्ता समेत रहेका गिरी भन्छन्, ‘मुख्य कुरा लगानीकर्ता आफैंमा सचेत हुनुपर्छ, आफू सचेत भएर किन्ने हो भने समस्या हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment