Comments Add Comment

ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले जनाएको छ ।

दुर्घटना हुने बेला जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

तर प्रत्यक्षदर्शी मुकुन्द घिमिरेले भने ट्राफिक प्रहरीको लापरबाहीका कारण दुर्घटना हुन पुगेको बताउँछन् ।

लाइसेन्स चेकिङको लाइनमा बसेका घिमिरेले भने, ‘ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेको कारण अनियन्त्रित भएर लड्न पुग्दा महिलालाई बसले ठक्कर दिएको हो।’

‘बस स्ट्यान्ड नजिकै ट्राफिक चेकिङ भइरहेको रहेछ । म पनि अल्का अस्पतालतर्फबाट एकान्तकुनातर्फ जाँदै थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘कसैलाई रोकेर चेक गर्ने र कसैलाई चेक नगरी छाड्ने क्रम चलिरहेको थियो । सोही क्रममा ती महिला पनि अघि बढिन् । तर ट्राफिक प्रहरीले एक्कासी पछाडिबाट महिला सवार स्कुटरलाई तानेपछि अनियन्त्रित भएर सडकमा लड्न पुग्दा बसको पछाडिको चक्काले उनलाई कुल्चिन पुग्दा दुर्घटना भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment