Comments Add Comment

कोरोना खोपको दोस्रो मात्रा ८ हप्तामा दिइने

१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।

कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले  पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो ।

‘हामीले प्रस्तावलाई स्वीकार गरेका छौं, दोस्रो मात्रा लगाउने बेलामा सूचना जारी गर्छौं’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि  दोस्रो मात्रा दिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल कल्याण तथा खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको  थियो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।

खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘हामीले २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ भन्दा सेजले यस्तो निर्णय गरेको थिएन, पछिल्लो परिमार्जित निर्णय अनुसार हामीले मन्त्रालयलाई यस्तो सिफारिस गरेका हौं’ डा. उप्रेतीले भने ।

खोप विज्ञसमेत रहेका डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरी कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउनेसमेत उनले बताए । उनले भने,  ‘खोप लिइसकेका व्यक्तिलाई संक्रमण भएर गम्भीर असर नगरे पनि सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment