११ फागुन, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने आबद्ध रहेको ओभल इन्भिन्सिबल्स र म्यानचेष्टर ओरिजिनल्सबीच ‘दी हन्ड्रेड’को उद्घाटन खेल हुने भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको नयाँ फर्म्याटको यो क्रिकेट जुलाई २१ देखि इंग्ल्याण्डमा सुरु हुँदैछ । जसमा महिला र पुरुष दुवैको खेल हुनेछ ।
महिलातर्फ ओभल र म्यानचेष्टरबीच नै पहिलो खेल जुलाई २१ मा हुनेछ ।
जुलाई २२ मा पुरुषतर्फ सन्दीप आबद्ध रहेको ओभल र म्यानचेष्टरबीच खेल हुनेछ ।
पाकिस्तान सुपर लिग (पीएसएल) र इन्डियन प्रिमियर लिग (आइपीएल) मा छनोट हुन नसकेका सन्दीप हाल नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको क्लोज क्याम्पमा प्रशिक्षणरत छन् ।
अष्ट्रेलिया बिग बास लिग खेलेर आएका सन्दीपले दोस्रो चरणमा प्रशिक्षण सुरु गरेका हुन् । मार्चमा तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज पनि स्थगित भएपछि तत्काल नेपालको अन्तर्राष्ट्रिय खेल छैन ।
आईपीएलमा अनसोल्ड भएका सन्दीप दी हन्ड्रेड खेल्न उत्साहित छन् । आईपीएलको अक्सनअघि कुराकानीमा सन्दीपले दी हन्ड्रेडमा फरक अनुभव हुने बताएका थिए । जहाँ उनी करिब डेढ करोड नेपाली रकममा अनुबन्ध भएका छन् ।
इंगल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले सन् २०२० मा पहिलो पटक दी हन्ड्रेड क्रिकेट आयोजना गर्ने तयारी गरेपनि विश्वभर फैलिएको कोभिड१९ महामारीका कारण हुन सकेन । त्यसैले २०२१ मा यसको पहिलो पट दी हन्ड्रेड आयोजना हुँदैछ ।
नेपाली लेग स्पीनर सन्दीप लामिछानेले गत वर्ष ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो ।
यस पटक पनि ओभलले सन्दीपलाई रिटेन गरेको हो ।
सन्दीप आबद्ध टिम ओभलमा इंग्ल्याण्डका चर्तित खेलाडीहरु टम करन, साम करन, साम बिलिङ्स, रोरी बर्न्स, लाउरी इभान्स, ज्यासन रोए छन् । यस्तै एलेक्स ब्लेक, विल ज्यक, नाथन स्वोटर, रिस टोपले पनि ओभल टिममा छन् ।
यस प्रतियोगितामा एक टिमले तीन जना विदेशी खेलाडी राख्न पाउनेछ । जसमा ओभलले सन्दीपसँगै वेष्टइन्डिजका स्पीनर सुनिल नारिनलाई पनि अनुबन्ध गरिसकेको छ ।
दि हन्ड्रेडका लागि सोमबार इंगल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले ‘क्लोज डोर’ ड्राफ्ट आयोजना गरेको थियो । जसबाट सहभागी टिमले बाँकी रहेको कोटामा खेलाडी छनोट गरेका छन् । मंगलबार सबै टोलीको खेलाडीको नाम सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा ओभलसँगै ब्रिमिङहम फोएनिक्स, लण्डन स्प्रित, म्यानचेष्टर ओरिजिनल्स, नर्थन सुपरचार्ज्स, साउथर्न ब्रेभ, ट्रेनट रकेट्स र वेल्स फायरले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4