
१२ फागुन, काठमाडौं । इक्वेडरका विभिन्न तीन जेलमा भड्किएको हिंसामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । इक्वेडरको सरकारी निकायले मंगलबार दिएको जानकारीअनुसार मुलुकका विभिन्न तीन सहरमा रहेको जेलमा फरक फरक समूहको बीचमा झडप भएको हो ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कैदीहरुको मृत्यु गोली र चक्कु आक्रमणबाट भएको हो । अहिलेसम्म ६२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उक्त घटनामा दर्जनौं कैदीहरु घाइते भएका छन् । इक्वेडरले जेलमा भड्किएको हिंसापछि प्रशासनले जेलमा अतिरिक्त आठ सय प्रहरी खटाएको छ ।
इक्वेडरका प्रहरी प्रमुख पाट्रिसिओ क्यारिलोले यो हिंसामा उच्च सुरक्षामा रहेका कैदीहरु पनि संलग्न भधएको बताएका थिए । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आपराधिक समूहले मुलुकका विभिन्न जेलहरुमा एकैपटक हिंसात्मक आक्रमण गरेको उल्लेख गरेका छन् । उनले प्रहरीको सहयोगमा जेलको अवस्था नियन्त्रणको प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
इक्वेडरको जेलमा बेलाबेलामा यस किसिमका हिंसात्मक घटनाहरु हुँदै आएका छन् । गत डिसेम्बरमा इक्वेडरको जेलमा पाँच कैदीहरुको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4