
१४ फागुन, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडका एक सञ्चालकले राजीनामा दिएका छन् । प्राधिकरणका तर्फबाट कम्पनीमा प्रतिनिधित्व गर्ने उपकार्यकारी निर्देशक मनोज सिलवालले बुधबार राजीनामा दिएका हुन् । यो कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत संस्थापक सेयर छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दातृ निकाय एसियाली विकास बैकको सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन गर्ने आयोजना व्यवस्थापन निर्देशनालय (पीएमडी)बाट सिलवाललाई केही दिनअघि सरुवा गरेका थिए । सिलवालको इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा भएको छ ।
पीएमडीमा योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका रामजी भण्डारीलाई लगिएको छ । पीएमडीबाट स्वार्थ समूहको प्रभावमा सिलवाललाई हटाइएको दावी प्राधिकरणका स्रोतको छ ।
पीएमडीमा विद्युत प्रसारण र वितरणतर्फका धेरै आयोजनाहरु छन् । त्यहाँ हुने ठेक्कापट्टाको विषयलाई लिएर नेतृत्व स्वार्थ समूहको घेरामा परेको प्राधिकरणका एक सञ्चालक बताउँछन् । भूमिगत तार बिछ्याउनेदेखि स्मार्ट मिटरिङ र ग्रिडसम्मका परियोजना निर्देशनालय अन्तरगत सञ्चालनमा छन् ।
सिलवाल चिलिमे सम्बद्ध सान्जेन जलविद्युत कम्मनीका अध्यक्षसमेत हुन् । कम्पनीले रसुवामा ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
११ जना सञ्चालक
प्राधिकरणको सहायक कम्पनी चिलिमेले रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीमा ५१ प्रतिशत प्राधिकरणको संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर छ ।
२२.१ मेगावाटका आयोजना सञ्चालन गर्ने कम्पनीमा भने ११ जना सञ्चालक छन् । जसका कारण आयोजनाको प्रशासनिक खर्च बढ्दा लगानीकर्ताले कम्पनीबाट पाउने लाभांशमा प्रत्यक्ष प्रभाव परेको छ । प्राधिकरणाले आफ्नोतर्फबाट कम्पनीमा कति जना सञ्चालक पठाउने स्पष्ट मापदण्ड बनाउन सकेको छैन ।
‘विद्युत गृह सञ्चालनमा छ, यति धेरै सञ्चालक किन चाहियो ? कम्पनीले कानूनले तोको न्यूनतम सञ्चालक राखेर कम्पनी चलाउनुपर्नेमा ११ जना राखिएको छ, यसबाट कम्पनीलाई वित्तीय दायित्व थपिएको छ भने खर्च बण्डा लगानीकर्ताले पाउने प्रतिफल घट्ने अवस्था छ’, सर्वसाधारणकातर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकले भने ।
कम्पनीमा प्राधिकरणका तर्फका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, एनईए इन्जिनियरिङका प्रवन्ध-सञ्चालक माधव प्रसाद कोइराला र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल छन् । शाक्य कम्पनीका अध्यक्ष हुन् ।
७ तह हुँदा चिलिमेमा खटिएर १२ तह पुग्दासमेत त्यहीँ रहेका माधव कोइराला सञ्चालकको रुपमा पुनः गएका छन् । एनईए इन्जिनियरिङका प्रवन्ध-सञ्चालक रहेका कोइरालालाई चिलिमेको पनि सञ्चालक बनाइएकाले स्वार्थ बाझिने अवस्था छ ।
तुलसीराम ढकाल, रामप्रसाद रिमाल, भीमप्रसाद तिमिल्सिना र शान्तिलक्ष्मी शाक्य सर्वसाधरणका तर्फबाट चिलिमेको बोर्डमा छन् । रिमाल प्राधिकरणका बहालवाला कर्मचारी हुने भने शाक्य पूर्वकर्मचारी हुन् । विज्ञ सञ्चालकमा पूर्व ऊर्जा सचिव सुमनप्रसाद शर्मा र डा.जगतकुमार श्रेष्ठ छन् ।
सञ्चालकहरुलाई सञ्चालक समितिको प्रति बैठक प्रतिब्यक्ति भत्ता ७ हजार रुपैयाँ र सञ्चार तथा यातायात सुविधा वापत प्रति ब्यक्ति मासिक ५ हजार रुपैयाँ दिने गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4