Comments Add Comment

खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

२०७६ मंसिर : १३ औं साग क्रिकेट
२०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज
२०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट
२०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट

२०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् ।

२०७६ मंसिरमा भएको १३ औं सागको क्रिकेट र माघमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल, ओमान र अमेरिकाको सिरिजमा नेपाल क्रिकेट संघ (क्यान)को भूमिका व्यवस्थापन मात्र हो । २०७७ माघमा भएको प्रधानमन्त्री कप क्रिकेट पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा भएको हो । यसमा पनि क्यानको भूमिका व्यवस्थापनमै सीमित भयो ।

अर्थात् १८ महिनामा क्यान आफैंले केही गरेन । यद्यपि क्यानका पदाधिकारीहरु निलम्बन पूर्ण रुपमा फुकुवा नभएको अवस्थामा पनि काम भइरहेको दाबी गर्छन् । कोरोना महामारीले पनि असहज बनाएको उनीहरुको भनाइ छ ।

०००

विशेष साधारणसभामार्फत चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ कमिटी निर्वाचित भएको एक सातापछि आईसीसीले २७ असोज २०७६ मा सशर्त निलम्बन फुकुवा गर्ने निर्णय गर्‍याे। पूरै निलम्बन पुकुवाका लागि भने केही शर्त राख्यो ।

त्यही शर्तअनुसार क्यानले हालै मात्र विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र मुख्य वित्त प्रबन्धकमा रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको छ । तर उनीहरुलाई अहिलेसम्म प्रष्ट भूमिका दिन सकेको छैन ।

अष्ट्रेलियन डेभ वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ, तर टिमसँग कुनै खेल छैन ।

मार्चमा ओमानमा हुने भनिएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका लागि प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुलाई राखेर प्रशिक्षक वाटमोरले प्रशिक्षक सुरु गरेका थिए । तर आईसीसीले यो सिरिज स्थगित गर्‍याे।

त्यसअघि फेब्रअरीमा नेपाल र कतारबीच हुने भनिएको टी-२० आई सिरिज स्थगित भएको थियो ।

अब एकैपटक आगामी साउनमा नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक सिरिज तय भएको छ । त्यसअघि नेपालको कुनै अन्तर्राष्ट्रिय खेल तय भएको छैन । यस्तो अवस्थामा नेपाली क्रिकेट कसरी अगाडि बढ्छ त ? क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘अहिले अन्यौलको अवस्था छ ।’

तत्काल नेपालमै विदशी टिम बोलाउन पनि सम्भव नभएको क्यान सचिव प्याकुरेल बताउँछन् । ‘आईसीसीले के गर्छ ठेगान छैन’ प्याकुरेलले भन्छन्, ‘आफ्नै पहलमा सिरिज गर्न पनि ट्राभल र लजिस्टिक मिलाउन गाह्रो छ ।’

उनीहरुका अनुसार ओमान टूरलाई लक्षित गर्दै नेपालमै विदेशी टिम बोलाएर सिरिज गराउने योजना बनेको थियो, तर कोभिडकै कारण सम्भव भएन ।

आलोचकहरु भने यो मान्न तयार छैनन् । क्यानले कोभिड–१९ लाई बहाना बनाउँदा राष्ट्रिय टिमले पर्याप्त एक्पोजर पाउन नसकेको उनीहरु बताउँछन् ।

घरेलु क्रिकेटको अवस्था पनि योभन्दा फरक छैन । क्यान आफैंले गर्ने भनिएको नेपाल प्रिमियर लिग (एनपीएल) कहिले हुने हो कुनै टुंगो छैन । एनपीएलको अधिकार भारतीय कम्पनीलाई बेच्ने प्रस्ताव विवादमा परेपछि क्यान मौन छ । उमेर समूहका प्रतियोगिता हुनै छाडेको छ । स्कुल र प्रदेश क्रिकेटदेखि टू डे र थ्री डे फर्म्याटका प्रतियोगिता खेलाउने योजना छैन ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा काठमाडौं मेयर्स कप चैतमा गर्ने भनिएको थियो । तर अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण फागुनमै सारिएको छ । यो प्रतियोगिता २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान र मूलपानीमा हुनेछ । ‘त्यसपछिको दुई महिना अन्तर्राष्ट्रिय खेल छैन’ प्याकुरेलले भने ।

महिला र यू–१९ सहित अन्य उमेर समूहका कुनै प्रतियोगिता अहिलेसम्म तय भएको छैन ।

जबकी, नेपालले महिला र उमेर समूह दुवैको विश्वकपका लागि छनोट चरण खेल्दैछ । महिला टिमले सन् २०२३ मा हुने टी-२० विश्वकपका लागि एसियन छनोट २०२१ सेप्टेम्बरमा खेल्दैछ । यसका लागि अब ६ महिना मात्र बाँकी छ ।

८ टिम सम्मिलित एसियाली छनोटबाट विजेता टिम मात्र ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

यस्तै यू-१९ टिमले पनि विश्वकपका लागि एसियाली छनोट खेल्ने तालिका छ । अर्को वर्ष वेष्टइन्डिजमा हुने यू-१९ विश्वकपका लागि एसियाली छनोटको मिति तय त भइसकेको छैन । यद्यपि यही वर्ष हुने सम्भावना बढी छ ।

क्यानले अपेक्षाअनुसारको काम गर्न नसकेको नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवाल बताउँछन् । ‘डेढ वर्ष भनेको धेरै समय हो, यो अवधिमा अपेक्षा अनुसार काम नभएकै हो’ उनले भने, ‘निलम्बन पूर्ण फुकुवा हुनु एउटा पाटो हो, तर क्रिकेट संरचना बनाउन ग्रासरुट केन्द्रित हुन सकिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment