१६ फागुन, काठमाडौं । फ्रेन्चाइज लिग क्रिकेटका ‘ग्लोबल स्टार’को छवि बनाएका नेपाली लेग स्पीनर सन्दीप लामिछानेका पछिल्लो समय ‘कभी खुसी कभी गम’ भने भझै भयो ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं पुरै सिजन बेन्चमा बिताएका उनले अष्ट्रेलियन बिग बास लिगमा होबार्ट हुरिकेन्सबाट खेले ।
जुलाईमा इंग्ल्याण्डमा हुने ‘दी हन्ड्रेड’ क्रिकेटमा ओभल इन्भिन्सिभ्लसमा रिटेन हुनु उनका लागि सुखद रह्यो । तर पाकिस्तान सुपर लिग (पीएसएल) र आईपीएलको १४औं संस्करणको मिनि–अक्सनमा बोली नलाग्नु दुःखद रह्यो ।
आईसीसी विश्वकप त्रिकेट लिग–टू अन्तरगत ओमानमा हुने त्रिकोणात्मक सिरिज स्थगित भएकाले सन्दीपले तत्काल राष्ट्रिय टिमबाट खेल्ने सम्भावना टरेको थियो ।
तर समय सधैँ एकनाश हुँदैन । ड्राफ्टबाट छनोट हुन असफल भएपनि सन्दीपले अहिले पाकिस्तान सुपर लिगको छैटौं संस्करणमा खेल्ने अवसर पाएका छन् । लाहोर कलन्दर्सले उनलाई रिप्लेसमेन्ट प्लेअरका अनुबन्ध गरेको छ ।
उनले सन् २०१९ मा लाहोर कलन्दर्सबाटै पहिलो पटक पीएसएल खेलेका थिए । २०२० मा छनोट नभएका उनी अहिले अफगानिस्तानका रासिद खानको स्थानमा टिममा परेका हुन् । सुरुवाती दुई खेलेका रासिद अफगान टिमबाट खेल्न गएपछि सन्दीपले अवसर पाएका हुन् । त्यसका लागि उनी कराँची पुगेका छन् ।
सन्दीपले शनिबार रासिदको स्थानमा खेल्ने छन् र बाँकी सिजनभर उनी टिममा रहनेछन् ।
प्रतिक्रिया 4